Home
»
नेपाल भित्र
»
आर्थिक चलखेलबीच गृहमा व्यापक फेरबदल ४४ जनाको सरुवा तथा पदस्थापना
काठमाडौं, भदौ २८– गृहमन्त्रालयले गरेको सरुवा तथा पदस्थापनामा व्यापक आर्थिक चलखेल भएको खुलासा भएको छ । गृहले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी, गृहमन्त्रालय, कारागार विभाग, क्षेत्रीय प्रशासन तथा अध्यागमन विभागमा गरी ४४ जना अधिकारीको व्यापक हेरफेर गरेको थियो ।(सरुवाको विवरण हेर्नुहोस् ) सो सरुवा तथा पदस्थापनामा कांगेसका एकजना बाहेक सबै एमालेकै निकटकै अधिकृतहरु रहेको बताइएको छ । गृहमन्त्रीले सरुवा तथा पुनस्थापनामा व्यापक हस्पक्षेत्र गरेको भन्दै गृहका अधिकारीहरु असन्तुष्ट बनेका छन् भने गहृमन्त्रीकै पार्टीमा पनि असन्तुष्टि बढेको एक उच्च स्रोतले रातोपाटीलाई बतायो । कतिपय अधिकारीलाई त आफ्नै पार्टीका भएपनि वरिष्ठ नेता माधव नेपाल गुटको भएको भन्दै पूर्वग्राही भएर सरुवा गरेको स्रोतको दाबी छ । उदाहारणको लागि माधव नेपाल गुटका भनेर चिनिने धादिङका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललाई गृहमन्त्रालयमा सरुवा गरिएको छ भने उनको स्थानमा बासुदेब घिमिरे गएका छन् । पार्टीभित्र माधव नेपाल प्रभावित क्षेत्र भनेर चिनिने धादिङमा उनी पक्षकै सिडियो हुँदा आफ्नो गुट थप कमजोर बन्ने भयले उनले आफू पक्षधर घिमिरेलाई पठाएको स्रोत बताउँछ । यसबाहेक सरुवा तथा पदस्थापनामा प्रचलित मापदण्डलाई समेत उलंघन गरिएको गृह निकट एक सहसचिवले बताए । यसो हुनुको मुख्य कारण आर्थिक चलखेल भएको स्रोतको दाबी छ । अधिकृतहरुलाई आफू जान चाहेको स्थानमा सरुवा तथा पदस्थापनाका लागि आर्थिक चलखेल भएको हो । उच्च स्रोतका अनुसार सरुवामा ५ देखि १५ लाख सम्मको आर्थिक चलखेल भएको र सो रकम गृहमन्त्रीको विस्वासपात्र मानिएका सह–सचिव एकनारायण अर्यालले उठाएका हुन् । सरुवा तथा पदस्थापनामा यत्रो चलखेल र मापदण्डको उलंघन हुँदा पनि गृह सचिव सूर्य प्रसाद सिलवाल भने चुपचाप रहेका छन्। स्रोत भन्छ– ‘गृह सचिवज्यूको त अहिले केहि लाग्दैन, गहहमन्त्रीको विस्वासपात्र बन्न सफल भएपछि त सह–सचिव अर्याल पो हर्ताकर्ता बनेका छन् ।’ गृह मन्त्रालयले भने गत भदौ २६ गतेको निर्णय अनुसार अधिकृतहरुको सरुवा तथा पदस्थापना गरिएको उल्लेख गरेको छ ।