
विश्व सम्पदा संरक्षण क्षेत्रको सूचीमा परेको नेपालको यो क्षेत्र पूर्वी पहाडको पर्यटकीय स्थल तथा लालीगुराँसको राजधानी भनेर चिनिन्छ । समुद्र सतहदेखि तीन हजार २०० फिट उचाइदेखि छ हजार ३०० फिट उचाइमा ५०० भन्दा बढी वर्गमिटर क्षेत्रफलभित्र पूर्वी नेपालको तीन जिल्ला सङ्खुवासभा, तेह्रथुम र ताप्लेजुङको भूमिलाई ओगटी फैलिएको गुराँसको राजधानी तिन्जुरे–मिल्के–जलजले (टिएमजे) संरक्षण क्षेत्रमा फागुन महिनादेखि असार महिनासम्म विश्वमा पाइने ३३ मध्ये २८ प्रजातिका गुराँस फुलेर ढकमक्क भई मन लोभ्याउने दृष्य देखिन्छ । जुन दृष्यको आनन्द अनुभव गर्न र क्यामेरामा सुरक्षित गर्न आन्तरिक तथा बाह्य पर्यटकको भिडै लाग्ने गर्दछ । तर आश्चर्य यसपटक भने गुराँस नफुल्दा गुराँसको राजधानी टिएमजे क्षेत्र सामान्य हरियो वनमा मात्र परिणत भएको छ ।
जलवायु परिवर्तनका कारण कुनै फूल ढिला फुलिरहेका छन् भने कुनै समयअगावै फुलिरहेका छन् । यी दुवै प्रवृत्ति स्वभाविक होइनन् । प्राकृतिले जुन मौसममा जुन चिज दिएको छ सोअनुसारको व्यवहार मात्र स्वभाविक हुन्छ र त्यसलाई नै प्रकृतिको नियम भनिन्छ । त्यसैले गुराँस फुल्ने मौसमको तीन महिना बित्न लाग्दा एउटा पनि गुराँसको बोटमा फूल नफुल्नु अर्थात् ढिलो फुल्नु भनेको अस्वभाविक कुरा हो । यसको कारण विश्वमा भइरहेको जलवायु परिवर्तन नै हो भन्ने स्थानीयको मात्र होइन विज्ञहरूको पनि ठम्याइ छ ।
फागुन महिनाको सुरुवातदेखि नै २८ थरीका गुराँस फुलेर ढकमक्क साथै रङ्गीविरङ्गी देखिने टिएमजे क्षेत्रमा यस वर्ष एउटा पनि गुराँसको बोटमा गुराँस नफुल्दा गुराँस फुलेको हेर्न र गुराँसको फोटो आफ्नो क्यामेरामा समेट्न टिएमजे क्षेत्र पुगेका आन्तरिक तथा बाह्य पर्यटक निरास भएर फर्कनु परेको छ भने कतिपयले त गुराँसको राजधानी भनेको यही हो र ? भनी शङ्का व्यक्त गर्ने गरेको पाइन्छ ।
नयाँ वर्ष मनाउन वैशाखको सुरुमा गुराँसको राजधानी पुगेका पर्यटक गुराँस देख्न नपाउँदा निरास भएर फर्किन बाध्य भए । गुराँसको राजधानीमा एउटा पनि गुराँस फुलेको देख्न नपाउँदा अचम्मित भएको धरानबाट गुराँसको फोटो खिच्न आएका सोनम राईको भनाइ छ ।
आफू जन्मेदेखि नै यो मौसममा गुराँस ढकमक्क फुलेको देख्दै आएका देउराली गाविसका ४५ वर्षीय छिरिङ भोटिया यसपालि भने आफू अचम्मै परेको बताउनु हुन्छ ।
नर्या वर्षमा साथीभाइहरू अन्यत्रै घुम्न जानेभन्दा आफ्नै करले १२ जना साथीलाई टिएमजे क्षेत्रमा ल्याएका धनकुटा सल्लेरीका अजय श्रेष्ठ कतै गुराँस देख्न नपाउँदा लज्जित र दुःखित भएको गुनासो गर्दछन् ।
टिएमजे क्षेत्रमा गुराँस फुल्ने समय फागुनको अन्त्यदेखि असारसम्म सङ्खुवासभाका साथै देशका सुनसरी, झापा, इलाम, पाँचथर, भोजपुर, मोरङलगायत जिल्लाका आन्तरिक पर्यटकको घुइँचो लाग्ने गर्दथ्यो ।
एक–आपसमा गोरुको जुरोजस्तै आकृतिमा रहेका तीनवटा अग्ला पहाडका चुचुरालाई तिन्जुरे भनिन्छ । यहाँ पुग्न सजिलो छैन । जोसुकैको मन लोभ्याउने यस मनोरम स्थानमा पहिलोपटक गुराँस नफुल्दा यी डाडाँहरू दाउरा घाँस काट्ने जङ्गल जस्तो मात्र देखिको छ ।
गुराँसको राजधानीमा समेत गुराँस किन फुलेन त भन्ने जिज्ञासामा वनस्पतिविज्ञ तीर्थबहादुर श्रेष्ठ भन्नुहुन्छ “विश्वमा भइरहेको जलवायु परिवर्तनको असर गुराँसमा पनि देखिएको र जलवायु परिवर्तनसँगै गुराँस फुल्ने समयमा पनि परिवर्तन आएको हुनसक्छ ।”
यसपटक गुराँस यतिका समयसम्म पनि नफुल्दा मानिसमा कौतुहलता जाग्नु सामान्य नै हो तर सम्बन्धित पक्षहरूले भने यसबारे चासो नदेखाउँदा कतै गुराँसको वन पनि सामुदायिक वनमा परिणत भई दाउरा घाँसको लागि प्रयोग हुने त हैन भन्ने आशङ्का गर्नुहुन्छ मुढेशनिश्चरेका एक सरोकारवाला गोविन्द थापा ।
औषधिको रूपमा पनि प्रयोग हुने भएकाले गुराँसको महत्व यस क्षेत्रका बासिन्दाले राम्ररी बुझेका छन् । माछा खाँदा काँडा अड्किएमा गुराँसको फूल खाएमा काँडा निक्लने विश्वास यहाँका मानिसमा रहेको छ भने गुराँसको फूलबाट विभिन्न प्रकारका जुस तथा रक्सीसमेत बनाउने गरिएको छ ।
यसपटक गुराँस नफुल्नुमा झुसिलकिराको बिगबिगी मुख्य कारण रहेको स्थानीय वृद्धवृद्धाको कथन छ । यसपटक टिएमजे क्षेत्रमा अत्यधिक झुसिलकिरा भएका कारण झुसिलकिराले फुल्न लागेका गुराँसको रस चुसिदिनाले गुराँस फुल्न नसकेको बताउनुहुन्छ एक वृद्ध प्रेमबहादुर पौडेल । तर अरू फूल फुलेका देखिएकाले गुराँस मात्र नफुल्नुमा झुसिलकिरा नै मुख्य कारण हो भनेर ठोकुवा गर्न नसकिने तर्क पनि यहाँ पाइन्छ ।
आइयुसिएनका कार्यक्रम संयोजक राजेन्द्र खनालका अनुसार विश्वका २०० गुराँस संरक्षित क्षेत्रमध्ये नेपालको टिएमजे संरक्षण क्षेत्र पहिलो स्थानमा रहेको छ ।
यस संरक्षण क्षेत्रका संयोजक लक्ष्मण तिवारी भने विश्वमा आएको जलवायु परिवर्तनसँगै टिएमजे क्षेत्रमा पनि गुराँस फुल्ने समयमा केही वर्षयता परिवर्तन आएको भन्दै यसको निराकरण, संरक्षण र प्रवद्र्धनका लागि सरोकारवाला पक्षहरूले बेलैमा सोच्न जरुरी रहेको बताउनुहुन्छ ।
गुराँस नेपालकै सुन्दर प्राकृतिक सम्पदा र राष्ट्रिय पहिचान बोकेको फूल समेत भएकाले यस विषयलाई नेपाल सरकारले गम्भीरतापूर्वक लिन जरुरी छ । विश्वकै टाउको दुखाइको विषय बनिरहेको जलवायु परिवर्तन नेपालको मात्र बसको कुरा नभएपनि यस्ता नकारात्मक परिवर्तनलाई रोकथाम गर्ने यथासम्भव प्रयास नेपालले पनि गर्नुपर्दछ । अन्यथा भोलिका दिनमा ‘गुराँसको राजधानी’ एकादेशको कथा मात्र नबन्ला भन्न सकिन्न ।