भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा आएको आँधीको प्रभावका कारण नेपालमा भएको वर्षासँगै उपल्लो मुस्ताङको लोमान्थाङ क्षेत्रमा हिउँ परेको हो । सोमबार रातिदेखि आज बिहान १० बजेसम्म पनि निरन्तर हिउँ परिरहेको लोमान्थाङबाट स्थानीयवासी पेमा लामाले जानकारी दिनुभयो । बिहानसम्म आधा फिट बाक्लो हिउँ जमेको लामाले बताए । उपल्लो मुस्ताङमा फापरलगायतका अन्नबाली भित्र्याउने सिजन सुरु भएकाले हिउँ पर्दा कृषक चिन्तित भएका छन् ।
तल्लो मुस्ताङको जोमसोम र आसपासका क्षेत्रमा पनि भारी वर्षा भइरहेको स्थानीय सञ्चारकर्मी सुशीला पुर्जाले बताए । वर्षाका कारण मुक्तिनाथ तीर्थयात्रामा आएका तीर्थयात्री र भ्रमणमा आएका पर्यटक समस्यामा परेका छन् । वर्षासँगै चिसो पनि बढेको छ । यसैगरी म्याग्दीमा पनि वर्षाका कारण पर्यटन व्यवसाय र कृषि क्षेत्रमा असर परेको छ । घोरेपानी, पुनहिल, भुरुङ तातोपानी, राउण्ड धौलागिरि, अन्नपूर्ण बेसक्याम्पलगायतका पर्यटकीय क्षेत्रको भ्रमणमा आएका पर्यटक वर्षाका कारण पदयात्रा स्थगित गर्न बाध्य भएका छन् ।
सूर्योदय, हिमशृङ्खला र प्राकृतिक सौन्दर्यतामा रमाउन आएका पर्यटकलाई एक्काली मौसममा खराबी आएपछि निराश बनाएको घोरेपानी होटल व्यवसायी सङ्घका सचिव टेकसर बुद्धुजा पुनले बताए । यसैगरी म्याग्दीको माथिल्लो क्षेत्रमा भित्र्याउनका लागि धान काटेर खेतमा सुकाएका कृषक भारी मात्रामा वर्षा भएपछि निराश बनेका छन् । ताकम, बेग, देविस्थान, मुनालगायत गाविसमा भित्र्याउन तयारी गरिएको धानबाली खेतमै भिजेको कृषकले बताएका छन् ।
बेग गाविसमा लगाइएको ७५ प्रतिशत धानबाली काटेर खेतमा सुकाएको अवस्थामै भिजेको स्थानीय कृषक याम तिलीजाले बताउनुभयो । उहाँका अनुसार मुख्य खाद्यबाली धान र पराल भित्र्याउन नपाउँदै खेतमै भिजेकाले कृषक चिन्तित भएका हुन् ।