
भुवन क्षेत्री
काठमाडौं, २९ वैशाख (ओएनएस) : गृहमन्त्रालयले विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ)को सरुवा गर्ने तयारी गरेको छ । यसअघि काजमा पठाइएका र खाली रहेका जिल्लामा प्रमुख जिल्ला अधिकारीको सरुवा गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
पाँचवटा क्षेत्रीय प्रशासन कार्यालय, ‘क’ श्रेणीका जिल्लामा सहसचिव र बाँकी ठाउँमा उपसचिवलाई पठाउने गरी मन्त्रालयले तयारी गरेको छ । स्रोतका अनुसार जेठको १० गते भित्र सरुवा गर्ने तयारी छ ।
विभिन्न मन्त्रालयबाट केही दिन अगाडि मात्रै गृह मन्त्रालयमा सरुवा भएका १० सहसचिवलाई सिडिओ बनाएर पठाइने तयारी गरिएको छ । त्यस्तै केही जिल्लामा अहिले काम गरिरहेका सिडिओ पनि सरुवामा पर्ने छन् ।
सिडिओ बन्नकै लागि अन्य मन्त्रालयबाट गृहमा आएका सहसचिवहरुको चाहना र प्रभाव अहिलेको सरुवामा पर्ने गृहका एक अधिकारी बताउँछन् ।
‘सेटिङ’ मन्त्रालय बाहिरै
सिडिओ सरुवाको बारेमा तयारी गर्ने जिम्मेवारी लिएका कर्मचारी प्रशासन महाशाखाका प्रमुख एकनारायण अर्याल भेट्न सिंहदरवार भित्र रहेका देखि विभिन्न जिल्लामा रहेका सिडिओ रहेका सहसचिवहरु दैनिक जस्तो गृह मन्त्रालय पुग्ने गरेका छन् ।
तर उनीहरुले केही दिन देखिनै सहसचिव अर्याललाई भेट्न त के मन्त्रालयमा देख्न पनि पाएका छैनन् । गृहमा सरुवा भए पनि बस्ने कोठानै नपाएका एक सहसचिवले भने, ‘मन्त्रालयमा होइन बाहिरै बसेर सरुवाको सेटिङ भइरहेको जानकारी पाएका छौँ ।’
गृह स्रोतका अनुसार कर्मचारी महाशाखा प्रमुख अर्याल सहित उपसचिव प्रेमलाल लामिछाने र शाखा अधिकृत जयराज भण्डारी सिडिओ सरुवाको लिष्ट बनाउन मन्त्रालय बाहिरै बसेका छन् । उपसचिव लामिछाने गृहमन्त्री वामदेव गौतमका स्वकीय सचिव हुन् भने भण्डारी पनि मन्त्रीको सचिवालयमा कार्यरत छन् ।
ती अधिकारीका अनुसार मन्त्रालयमा सहसचिवको भीड लागेपछि मन्त्रालय बाहिरै बसेर सरुवाको लिष्ट तयार भइरहेको हो । गृहमन्त्री वामदेव गौतमलाई अन्तिम ‘रुजु’ गर्नेगरी सरुवाको लिष्ट तयार भइरहेको छ ।
प्रशासन महाशाखाका प्रमुख अर्यालले १० जना सहसचिवको व्यवस्थापन गर्नुपर्ने भएकाले सिडिओको सरुवा गर्ने तयारी भएरहेको ओएनएस न्युजलाई बताए । तर, उनले मन्त्रालय बाहिर सरुवाको ‘सेटिङ’ भइरहेको भन्ने अस्वीकार गरे ।
‘पाँचवटा क्षेत्र र पाँच जिल्लामा खाली छन्, हामी व्यवस्थापनमा लागेका छौ, केही समयमा मन्त्रालयले सिडिओका रुपमा सहसचिवलाई सरुवा गर्छ होला’ सहसचिव अर्यालले भने, ‘मन्त्रालय बाहिर सरुवाको लिष्ट बन्दैछ भन्ने कुरा गलत हो ।’