लमजुङ्। काठमाडौंका प्रहरी प्रमुख रमेश खरेलको आइतबार बयान सकिएको छ ।
एआइजी बढुवाका लागि पैसाको चलखेल भएको भनी अभिव्यक्ति दिएपछि विवादमा तानिएका खरेललाई प्रहरी प्रधान कार्यालय बयान लिएको हो । उनले आफूले दिएको अभिव्यक्ति सत्य भएको बयान समेत मुख्यालयलाई दिएका छन् ।
‘मैले झुटो बोलेकै हैन । झुटो साबित भए कारबाही भोग्न तयार छु,’ खरेलले प्रहरी मुख्यालयमा आइतबार दिएको बयानलाई उद्धृत गर्दै स्रोतले भन्यो । गृहमन्त्रीको दबाबमा संगठनले आफ्नो चरित्र बदनाम गर्न खोजेको भन्दै खरेलले ‘जो जसले पैसा बुझाएका छन्, उनैलाई सोध्नुस्’ भन्दै आक्रोस व्यक्त गरेका थिए।
विवादास्पद अभिव्यक्ति दिएको भन्दै प्रहरी मुख्यालयले उनलाई बयानका लागि आइतबार बोलाएको थियो। एक साता अघि सार्वजनिक कार्यक्रममा खरेलले ‘एआईजीमा बढुवा हुन डिआईजीहरू ब्रिफकेस लिएर नेता र मन्त्रीकोमा धाइरहेको’ अभिव्यक्ति दिएका दिए । उनको यही अभिव्यक्तिलाई लिएर प्रहरी मुख्यालयले छानबिन गर्न गठित कार्यदलले आइतबार खरेलसँग बयान लिएको थियो ।
बयानका क्रममा खरेलले आफू झुटो नभएको दाबी गर्दै मुख्यालयले समेत यसमा आन्तरिक छानबिन गरी पत्ता लगाउनुपर्ने माग गरेका थिए । खरेलले आफूले जायज कुरा गर्दा संगठनले कारबाही गर्न खोजेको भन्दै छानबिन समितिसँग असन्तुष्टी पोखेका थिए ।
खरेल अभिव्यक्तिमाथि छानबिन गर्न प्रहरी मुख्यालयले डिआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिले प्रतिवेदन महानिरीक्षक अर्याललाई बुझाउने तयारी गरेको छ । प्रतिवेदन बुझाउन आइतबारसम्मको म्याद दिएको थियो ।
समितिका संयोजक विज्ञानराज शर्माले खरेलसँग बयान सकिए पनि अन्य काम बाँकी रहेकोले सोमबार मात्रै प्रतिवेदन बुझाउने सम्भावना रहेको बताए । प्रहरी मुख्यालयले खरेलको जिम्मेवारी तत्काललाई एसपी नारायणसिंह खड्कालाई दिएको छ ।