Home » » हिमपातमा परी मनाङ र मुस्ताङमा २४ जनाको मृत्यु (भिडियो) सहित्

हिमपातमा परी मनाङ र मुस्ताङमा २४ जनाको मृत्यु (भिडियो) सहित्



पोखरा/म्याग्दी : अविरल वर्षासँगै भएको भारी हिमपात र हिमपहिरोमा पुरिएर मुस्ताङ र मनाङमा मात्रै २४ जना पर्यटकले ज्यान गुमाएका छन्। बुधबार साँझसम्म मुस्ताङमा १६ जना र मनाङमा आठजनाको शव भेटिएको छ। दर्जनौं पदयात्री सम्पर्कमा आउन सकेका छैनन्।
बेपत्ता भएका पदयात्रीको संख्या अझै एकिन हुन सकेको छैन। हराएका पर्यटकको खोजी तथा उद्धार कार्य स्थगित गरिएको छ। बिहीबार बिहानदेखि उद्धार कार्य जारी राखिने जानकारी सुरक्षा निकायले दिएका छन्।

मनाङबाट थोराङ ला पास हुँदै मुस्ताङ प्रवेश गरेका १६ र मनाङको काम्लाङ र फु गाविसको बीचमा पाँचजना र नारमा ३ जना गरी २४ जना पदयात्रीले ज्यान गुमाएका छन्।
मुस्ताङमा ९ नेपाली, ३ इजरायल, ३ पोल्याण्ड र ३ भियतनामी नागरिकको शव फेला पारिएको मुस्ताङका प्रमुख जिल्ला अधिकारी बाबुराम भण्डारीले जानकारी दिए। उनका अनुसार, डमक्याम्प देखि थोराङ ला पास क्षेत्रमा खोजी कार्य गर्दा यी शवहरु भेटिएका हुन्।



मृतकहरूको पहिचान हुन नसकेको जानकारी प्रहरीले दिएको छ। मृतक मध्ये २ पोल्याण्ड, १ इजरायली र १ नेपालीको शब हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ। डमक्याम्पबाट १९ जनाको जिवितै उद्धार गरिएको छ।
उद्धारका लागि नेपाली सेना तथा सिम्रिक एयरलाइन्सलगायतका हेलिकोप्टर प्रयोग गरिएका थिए। सेना प्रहरीसहितको विशेष टोली दिनभर बेपत्ता पदयात्रीको खोजी तथा उद्धारमा जुटेको थियो।


उद्धार गरिएका एक जनाको जिल्ला अस्पताल मुस्ताङ र १४ जनालाई थप उपचारका लागि काठमाडौ ल्याइएको छ। प्रहरी नायब उपरिक्षक गोविन्द प्रसाद पाठकका अनुसार, असोज २६ गते मनाङबाट मुस्ताङ तर्फ हिडेका तीनसय ४६ जना मध्ये मुस्ताङको मुक्तिनाथमा दुईसय ४४ जना सकुशल आइपुगेका छन् भने ७० जना भन्दा बढी सम्र्पकमा आएका छैनन्।
डमक्याम्प क्षेत्रमा बुधबार साँझदेखि फेरि हिउँ पर्न थालेपछि उद्धार कार्य स्थगित गरिएको छ। 'फेरि हिउँ पर्न सुरु गरेपछि प्रतिकुल मौसमका कारण उद्धार कार्य स्थगित गरेका छौ। मौसम खुल्ने बित्तिकै फेरि सुरु गर्नेछौ' प्रजिअ भण्डारीले भने, 'आसपासको क्षेत्रमा अझै पनि शवहरु  रहेको आशंका गरेका छौ।'


भारी हिमपात हुँदा ५ हजार मिटर सम्म झरिसकेका ति पदयात्रीको कठङग्रिएर, लडेर त कोही हिउ पहिरोमा परेर ज्यान गएको उद्धारमा खटिएका सुरक्षाकर्मीले जनाएका छन्।
सोमबार राति देखि परेको बर्षाका कारण मुस्ताङका अधिकांश भुभागमा हिउँ परेको छ। मंगलबार जानकारी प्राप्त हुने वित्तिकै प्रमुख सेनानी अर्जुन बस्नेत र सहसेनानी मुरारी सापकोटाको नेतृत्वमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो। प्रतिकुल मौसम र सञ्चार सम्पर्क नहुँदा उद्धारमा समस्या भएको प्रजिअ भण्डारीको भनाइ छ।   


Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf