गायक हेमन्त रानाले गाएको एउटा गीतले यो साता युट्युबमा तहल्का मच्चाइरहेको छ । माघ २८ गते युट्युबमा अपलोड गरिएको ‘साइँली...’ गीत सार्वजनिक भएको पहिलो २४ घण्टामा पाँच लाख पटक हेरिएको छ भने दोस्रो दिन उक्त संख्या बढेर १२ लाख पुगेको थियो। आज फागुन ७ गतेसम्म आइपुग्दा भिडियो हेर्नेको संख्या ३४ लाख भन्दा बढी पुगेको छ । कुनै पनि नेपाली गीतले कम समयमै युट्युबमा यति धेरै दर्शक पाएको यो पहिलो अवसर हो । यसअघि नेपाली चलचित्रका गीतले अत्यधिक दर्शक पाउँदै आएकोमा यसपटक सुगम संगीतमा आधारित एउटा गीतले दर्शकको मन जितेको छ ।
गीतको लोकप्रियतासँगै गायक हेमन्त राना फेरि एकपटक चर्चामा आएका छन् । यसअघि गायक रानाको ‘लैजा रे...’ गीत पनि श्रोताले मन पराएका थिए । केही समय सक्रिय सांगीतिक जीवनबाट ओझेल भएका गायक रानाले ‘साइँली...’ बाट गायनमा पुनरागमन गरेका छन् भन्दा फरक पर्दैन ।
यो गीतको लिरिकल भर्सनले पनि श्रोताहरूको मन जितेको थियो । दुई साताअघि अडियो मात्र समावेश भर्सन नै हालसम्म झन्डै १६ लाख पटक सुनिएको छ ।
साइँली भिडियो सार्वजनिक भएलगत्तै यसले नेपालको युट्युब ट्रेन्डिङमा पहिलो स्थान हासिल गरेको छ । विश्वव्यापी ट्रेन्डिङमा भने १६ औं स्थानमा छ । यो गीतमा चर्चित संगीतकार कालीप्रसाद बास्कोटाको संगीत निर्देशन छ । मर्मस्पर्शी शब्दका कारण समेत दर्शकको रोजाइमा परेको यो गीतका रचनाकार कालीप्रसाद बास्कोटा तथा हिमाल साउद हुन् । यो गीतमा वैदेशिक रोजगारीमा गएका नेपाली युवाले आफ्नी श्रीमतीलाई ४० वर्ष कटेपछि विदेशबाट स्वदेश फर्किएर रमाउने प्रसंग समावेश छ । अभिनेता गौरव पहारी तथा अभिनेत्री मेनुका प्रधानद्वारा अभिनीत भिडियोले पनि गीतका शब्दहरूप्रति न्याय गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश पुगेका नेपाली युवाहरूको वास्तविक जीवनसँग मेल खाने यो गीतको म्युजिक भिडियोलाई गायक हेमन्त रानाले नै निर्देशन गरेका हुन् ।
‘म असाध्यै खुसी छु,’ साप्ताहिकसँग कुराकानी गर्दै गायक राना भन्छन्— ‘हामीले इमान्दारीपूर्वक एउटा राम्रो गीत बनाउने प्रयास गरेका थियौं, आज लाखौं श्रोताबाट आएको प्रतिक्रियाले हाम्रो प्रयास सफल भएको अनुभव गर्दैछौं ।’ गायक रानाका अनुसार एक महिनाअघि रेकर्ड गरिएको यो गीतले श्रोताहरूको मन जित्ने कुरामा उनी ढुक्क थिए, तर यति कम समयमै यति लोकप्रिय होला भन्ने उनले सोचेका थिएनन् । गायक रानाले यो गीतलाई आफैंले निर्देशन गर्नु मिठो संयोगमात्र भएको बताए । ‘हामी सबै कलाकारितामै छौं, राना भन्छन्— ‘सबैको सामूहिक प्रयासले भिडियो राम्रो बनेको हो ।’ गायक रानाले अभिनेता पहारी तथा अभिनेत्री प्रधानको अभिनयको प्रशंसा गर्दै टिमवर्कका कारण भिडियोले लोकप्रियता पाएको बताउँछन् ।
काठमाडौंमा एक दिन तथा दुबईमा तीन लगाएर छायांकन गरिएको यो भिडियोमा गौरवले वैदेशिक रोजगारीमा जाने नेपाली युवाहरूको प्रतिनिधित्व गरेका छन् भने मेनुकाले ती युवाकी श्रीमतीको भूमिकालाई सहजतापूर्वक निर्वाह गरेकी छिन् । ‘भिडियोमा समावेश कथा तथा कलाकारहरूको अभिनय वास्तविकतासँग नजिक रहेकाले पनि वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइले यो गीत तथा भिडियो अत्यन्त मन पराएको गायक रानाको भनाइ छ । गौरव तथा हेमन्तसहित ६ जनाको समूहले दुई साताअघि स्थापना गरेको ‘जिएच ईन्टरटेन्मेन्ट’ च्यानलबाट अपलोड गरिएको भिडियोका कारण यो च्यानलले मात्र २० हजारभन्दा बढि ग्राहक पाइसकेको छ ।