
लमजुङ्, १७ बैशाख- अर्घाखाँचीको नरपानी ५, जगतमा आज दिउसो बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा रुपेन्देही छमी श्रीष, जुकेना ५, अर्घाखाँचीका तिलकला बेलवासे, वाङला-२ अर्घाखाँचीका जनार्दन आचार्य, बुटवल नगरपालिकाका कृष्णप्रसाद श्रेष्ठ, ढाकावाङ अर्घाखाँचीका वसन्ती खनाल केसी, ठाडा-७ अर्घाखाँचीका अनिता बेलबासे, धारापनी अर्घाखाँचीका नरेन्द्र बन्जाडे, प्यूठान दधेरीका जनक खनाल र तीन जना भारतीय नागरिको मृत्यु भएको खुलेको छ । सन्धीखर्कबाट बुटवलका लागि छुटेको लु. १ ख ६२३१ नम्बरको बस बुटवलबाट आउँदै गरेको ट्रकसँग ठोक्किएपछि दुर्घटना भएको हो । दुर्घटनामा झन्डै ४५ जना यात्रुहरू घाइते भएकोमा २७ जनाको अवस्था चिन्ताजनक रहेको छ । २४ जना गम्भीर घाइतेहरूलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत् काठमाडौं लगिएको छ । अरू घाइतेहरूको जिल्ला अस्पताल सन्धीखर्क, र बुटवलमा उपचार भइरहेको छ ।