Home » » चितवनमा पनि सरकारी स्कुलको विजोग

चितवनमा पनि सरकारी स्कुलको विजोग


चितवनको कविलास १ भार्लाङ स्थित राष्ट्रिय प्राथमिक बिद्यालयमा कोठाको अभावमा कक्षा ४ र ५ विद्यार्थीहरु एउटै कक्षा कोठामा बसेर पढ्दै ।




छोरी भर्ना गर्न आएकी आशकुमारी गुरुङ शुल्क तिर्नुपरेको गुनासो गर्दै ।

तीर्थ नेपाल
चितवन, १८ वैशाख (ओएनएस) : सरकारले शिक्षामा प्रशस्त बजेट छुट्याएपनि दुर्गम पहाडी भेगमा रहेका सरकारी विद्यालयहरुको स्थिति दयनीय पाइएको छ । 
शिक्षक र विद्यार्थी दुवैको अनियमित उपस्थिति, कक्षा कोठाको अभाव, आर्थिक अभाव, अभिभावकको विपन्नता लगायतका समस्या देखिएका छन् । चितवनको कविलास गाउं विकास समिति–१ भार्लाङमा रहेको राष्ट्रिय प्राथमिक विद्यालय यी सबैखाले समस्याले अस्तव्यस्त बनेको एउटा प्रतिनिधि विद्यालय हो । 
उक्त विद्यालयमा कोठाको अभावमा कक्षा ४ र ५ का विद्यार्थीलाई एउटै कोठामा राखेर पढाउने गरिएको छ । चितवनको पहाडी भेगमा रहेको यो विद्यालयमा दुईवटा कक्षाका विद्यार्थीलाई पालैपालो पढ्छन् । 
बिद्यालयमा रहेको सात वटा कोठा मध्य स्टोर, कार्यालय र शिशु कक्षा गरी तीनवटा प्रयोग गरी बाँकीमा अन्य कक्षा सञ्चालन गरिएको छ । विद्यालयका शिक्षक सन्तोष श्रेष्ठले  बिषय पनि धेरै मिल्ने भएकाले एउटैमा राखेर पढाइएको बताए । ‘बिषय पनि मिल्ने र कोठा पनि अभाव छन् त्यसैले एकैठाउँमा पढाउनु परेको हो’ श्रेष्ठले भने । 
विद्यालयमा जम्मा ७० जना  विद्यार्थी छन् । दिनमा मुस्किलले ५० प्रतिशत विद्यार्थी उपस्थित हुने गरेको शिक्षक श्रेष्ठले बताए । पढाईमा नियमितता छैन । बुधवार दिउँसो विद्यालयका सात मध्ये प्रधानाध्यापकसहित ५ शिक्षक अनुपस्थित थिए । 
विद्यार्थी कक्षा कोठामा टहलिएर, निदाएर बसेका देखिन्थे । बिहान अभिभावक मेलापात गर्न निस्कने हुनाले कतिपय विद्यार्थी भोकभोकै विद्यालय आउने गरेका छन् ।
विद्यालयले आर्थिक अभाव भन्दै ती बिपन्न अभिभावकहरुसँग पनि भर्ना शुल्क उठाएको छ । शिशु कक्षामा एकसय रुपैयाँ, कक्षा एकमा  १ सय ५०, कक्षा २ मा २ सय ५०, ३ मा तीनसय ५०, ४ मा ४ सय ५० र कक्षा ५ मा ५ सय ५० रुपैयाँ भर्ना शुल्क उठाउने गरिएको शिक्षक श्रेष्ठले जानकारी दिए । भर्ना शुल्कको रकम बापत बिद्यार्थीहरुलाई कपी दिइने गरेको उनले बताए । 
कक्षा चारमा अध्ययनरत छोरीको भर्ना गर्न विद्यालय आईपुगेकी स्थानीय आशकुमारी गुरुङले शुल्क तिर्नुपरेकोमा गुनासो गरिन् । ‘बिहान के खाउ बेलुका के खाउ छ, यत्रो चारसय पचास रुपैयाँ जोहो गर्न कति गाह्रो भयो ’ उनले भनिन् । निःशुल्क पढाउन पाइने कुरा सुनेपनि रकम तिर्नुमा आफुहरुको बाध्यता रहेको उनले बताइन् । अधिकांश अभिभावकको अवस्था आशकुमारीको जस्तै छ । 
विद्यालयमा निजी स्रोतका दुईजना शिक्षक कार्यरत छन् । उनीहरुलाई वर्ष दिन अघिदेखिको तलब दिन नसकिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चित्रबहादुर गुरुङले बताए ।
‘हटाउन पनि नसकिने तलब दिन पनि नसकिने अवस्था छ, विद्यालय कम्पाउण्डिङको लागि आएको पैसा जोगाएर शिक्षकलाई तलब दिन लागेका छौ’ उनले भने । विद्यालयमा कम्पाउण्डिङका लागि २ लाख ५० हजार रुपैयाँ सरकारले दिएको उनले जानकारी दिए । निजी स्रोतका शिक्षकको तलब मासिक छ हजार रुपैयाँ रहेको गुरुङले बताए ।  
Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf