बागमती नदीको पानी सफा बनाइराख्न वर्षायाममा मुहानमा पानी भण्डारण गरेर हिउँदमा बगाइने भएको छ। अधिकार सम्पन्न बागमती स यता एकीकृत विकास समितिले मुहानमा ११ करोड लिटर पानी संकलन गरेर हिउँदमा बगाउने योजना बनाएको हो।
समितिका प्रवक्ता भरत केसीले भने, 'बागमतीको मुहानस्थित जलाधार क्षेत्रमा १९ मिटर अग्लो बाँध बाँधिनेछ। त्यसमा १० करोड ८० लाख ८४ हजार ६ सय लिटर पानी संकलन गर्ने लक्ष्य छ।'
बागमती सुधारसम्बन्धी आयोजना सम्पन्न भएपछि बागमतीमा हिउँदको समयमा पानी कम हुने अवस्था नआउने उनले बताए। उनले भने, 'आयोजना सम्पन्न भएपछि बागमतीमा सधैं कम्तीमा घुँडाघुँडा पानी हुनेछ।' एसियाली विकास ब्यांकको सहयोगमा आयोजनाको काम सुरु भइसकेको छ।
समितिले पानीको गुणस्तरसमेत नियमित परीक्षण गरिने जनाएको छ। त्यस्तै बागमती मुहानमा बाढीपहिरोलगायत प्राकृतिक प्रकोपबारे पूर्वजानकारी दिने उपकरण राख्ने तयारी समितिको छ।
बागमती सुधार आयोजनाले गोकर्णदेखि सिनामंगल पुलसम्म दायाँबायाँ करिब १६ किलोमिटर क्षेत्रमा हरियाली कायम गर्नेछ। समितिका इन्जिनियर रवीन्द्र रायका अनुसार अन्य देशमा जस्तै बागमतीमा पनि 'रिभर ब्युटिफिकेसन' मा जोड दिइनेछ। नदीको दायाँबायाँ करिडोर र बगैंचा बनाउने, आवश्यकताअनुसार पर्खाल लगाउने, साइकल लेन बनाउने, फाउन्टेन पार्क निर्माण गर्ने, दुबो, फूल र रूख रोप्ने, नदीभित्र विभिन्न ११ स्थानमा 'चेक ड्याम' बनाउनेजस्ता काम पनि गरिने जानकारी उनले दिए।
आयोजनाका लागि तीन अर्ब ६० करोड रुपैयाँ खर्च लाग्ने समितिले जनाएको छ। रायका अनुसार आयोजनामार्फत गरिने तीनवटै कामको अवधारणा ढाँचा अन्तिम तयारीमा छ। उनले भने, 'लागतमध्ये ६० करोड रुपैयाँ सरकारले खर्च गर्नेछ भने तीन अर्बमध्ये ४५ करोड रुपैयाँ एसियाली विकास ब्यांकको अनुदान हुनेछ।' सबै कामका लागि तीन महिनाभित्र बोलपत्र आह्वान गर्ने तयारी छ। आयोजना पाँच वर्षमा पूरा गर्ने लक्ष्य छ। अहिले सरकारी र जनस्तरबाट बगमती सफाइ अभियान जारी छ।