
राष्ट्रिय सम्मेलन नै बहिष्कार गरेर काठमाडौं र्फकनुभयो, कारण के हो ?
बहिष्कार गरेको होइन । म पहिलेदेखि नै तय गरिएको चीन भ्रमणको प्राविधिक तयारीका काम बाँकी रहेकाले आएको हुँ । हाम्रो सम्मेलन करिब-करिब सकिइसकेको थियो । एकहिसाबले म सकेरै हतार-हतार आएको हो ।
तपाईं पक्षधर नेताहरू नयाँ केन्द्रीय समितिमा नरहने भन्नुभएको छ । के यसलाई बहिष्कार भन्न मिल्दैन ?
केन्द्रीय समितिमा मलगायत केही साथीहरू बसेनौं । किनकि, यो सम्मेलनमा हामीले केही गम्भीर वैचारिक, राजनीतिक प्रश्नहरू उठाएका छौं । हाम्रो पार्टी जनयुद्धको ढाँचामा, अति केन्द्रीकृत नोकरशाही ढाँचामा बनेको छ । यसलाई बढी जनवादीकरण गरेर लानुपर्छ । यी विषयमा सम्मेलनबाट बहस सुरु भएको छ, टुंगिसकेको छैन । अहिले सुरु गरेर आगामी वर्ष विशेष महाधिवेशनसम्म जाने भन्ने निर्णय भएको छ । तर, त्यही क्रममा बनेको कमिटी हामीले भनेजस्तो ढाँचामा आएन । उही पुरानै एकमनावादी ढाँचाको प्रस्ताव आएकाले त्यहाँ बसेरभन्दा तल बसेरै आफ्ना कुरा राख्दा बढी प्रभावकारी हुन्छ भनेर केन्द्रीय जिम्मेवारीमा नबसेको हो ।
संख्यात्मक हिसाबले तपाईंको विचार समूहका मान्छेको प्रतिनिधित्व कम भएकाले नबस्नुभएको होइन ?
व्यक्तिको कुरा होइन । ढाँचा नै एउटै खालको चिन्तन, सोच राख्नुपर्छ भन्ने किसिमको प्रवृत्तिलाई प्रश्रय दिने र फरक सोच राख्नेलाई निषेध गर्ने खालको भयो । फरक प्रश्नसहित उपस्थित हुनेलाई सम्मानपूर्वक स्थान दिएर राख्नुपथ्र्यो । त्यसो नगरी जो अलि आलोचक हुन्छ, नेतृत्वबारे प्रश्न गर्छ त्यसलाई घेराबन्दी गर्ने, निषेध गर्ने पुरानै परिपाटी दोहोर्याइयो । यसरी नयाँ पार्टी बन्दैन ।
एउटा समूहको केन्द्रीय समिति बन्ने, तपाईंहरू बाहिर बस्ने भनेपछि त पार्टी फुटको दिशातिर गएन ?
त्यसरी जाँदैन । यसलाई हामीले नयाँ परीक्षण पनि भनेका छौं । किनभने, कुनै पनि पार्टीभित्र विभिन्न विचार, प्रवृत्तिको द्वन्द्व त निरन्तर चलिरहन्छ । एउटा पार्टीमा एउटैमात्र विचार मान्ने, 'यसम्यान' मात्रै जम्मा पार्ने भयो भने कार्यकर्ताको आलोचनात्मक चेत बढ्दैन र नेतृत्व पनि मनोगत हुन्छ । उसमा अहंकार बढ्दै जाने, स्वेच्छाचारी बन्दै जाने स्थिति आउँछ ।
अध्यक्ष पुष्पकमल दाहालमा त्यस्तो स्वेच्छाचारिता आयो भन्न खोज्नुभएको
हो ?
होइन, हाम्रो समग्र पार्टीमै त्यही छ । अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा स्टालिनको पालादेखि नै सबै कम्युनिस्ट पार्टीहरू त्यस ढाँचामा बने । पुँजीवादी, संसदीय पार्टीको त कुरै छाडौं, उनीहरूको त व्यक्तिका आधारमा पार्टी बनेको हुन्छ ।
तर विचार, राजनीतिलाई केन्द्रमा राखेर बन्ने कम्युनिस्ट पार्टीको ढाँचा स्टालिनको पालादेखि नै एकमनावादी, नोकरशाही, केन्द्रीयतावादी भयो । अब नयाँ ढाँचामा नबदल्ने हो भने हामीले एक्काइसौं शताब्दीमा नयाँ ढंगले क्रान्ति अगाडि बढाउन सक्दैनौं ।
नेतृत्व छनोट निर्वाचन प्रक्रियाबाट गरेको भए हुन्थेन ?
निर्वाचनको अभ्यास त हामीले गर्यौं । गाउँ, जिल्लामा गर्यौं । केन्द्रमा पनि गर्न नसकिने थिएन । तर निर्वाचन भनेको एउटा विधिमात्र हो । वैचारिक रूपमै कस्तो पार्टी बनाउने भन्ने प्रस्ट नभएसम्म चुनाव मात्र गर्दा उही पुँजीवादी, संसद्वादीको जस्तो चुनाव हुन्छ । पैसाको चलखेल, टाठोबाठो र सम्पन्नले जित्ने खालको चुनाव भयो भने त पार्टी खत्तम भएर जान्छ । त्यसैले चुनाव मात्र सबै कुरा होइन । रूपान्तरणसहितको पार्टी बनाउने विचारसहितको निर्वाचनको प्रक्रियाचाहिँ अपनाउन सकिन्छ ।
तर निर्वाचनमा जाने कुरामै तपाईंको असहमति रह्यो भन्ने छ नि ?
होइन, होइन । म आफैं निर्वाचित हुनुपर्छ भन्ने प्रस्ताव राख्ने मान्छे । त्यसमा विवाद होइन ।
त्यसो भए किन भएन निर्वाचन ?
सहमतिले बनाउने भन्ने भएपछि त्यो ठाउँमा जान आवश्यक ठानिएन भनौं वा त्यहाँ नै पुगिएन ।
अबको केन्द्रीय समिति वैधानिकताबारे तपाईंको भनाइ के छ ? स्वीकार्नु हुन्छ कि हुन्न ?
पुरानै ढाँचामा बन्यो भन्ने मेरो भनाइ हो । तर सम्मेलन भएको हुनाले त्यसलाई मान्नै पर्यो ।
नयाँ ढाँचा भनेको कस्तो हो ?
विभिन्न प्रवृत्तिहरूलाई समेट्ने हुनुपर्छ । नेपाल जातीय, क्षेत्रीय, लैंगिक दृष्टिले विविधतापूर्ण छ । तिनीहरूको पनि प्रतिनिधित्व गराउनुपर्यो । पुराना, नयाँको पनि समुचित प्रतिनिधित्व हुनुपर्छ । त्यसका लागि एउटा विधि विकास गर्नुपर्छ भनेको, सकेनांै । अहिले परम्परावादी तरिकाले पुरानै मान्छे टिपटाप पारेर बनाउने, नेतृत्वले प्रस्तुत गर्ने र हाउसले ताली पिटेर अनुमोदन गर्ने काम भयो । नयाँपन आएन । यसरी पार्टी रूपान्तरण हुँदैन भनेर असहमति राखेको हो ।
अब कसरी अगाडि बढ्नुहुन्छ ?
बहस, छलफल गर्दै जान्छौं । पार्टीभित्रै रहेर, एकता कायम राख्दै, छलफल चलाउँदै विशेष महाधिवेशन सम्म जान्छौं।
यो राष्ट्रिय सम्मेलन जुन उद्देश्यसाथ गर्न खोजिएको थियो, तपाईंको कुराअनुसार त यो औचित्यहीन भएन र ?
पूरै औचित्यहीन त भन्दिनँ । बहसको सुरुवात त भयो । तर जति सार्थक हुनुपथ्र्यो, त्यति हुन सकेन ।
पार्टीमा तपाईं र प्रचण्ड (दाहाल) को जुन व्यक्तित्व विकास भएको छ । यो दीर्घकालसम्म व्यवस्थापन हुन सक्छ ?
व्यवस्थापन गर्न सकिन्छ नै भन्ने लाग्छ । किनकि, प्रचण्ड र मेरो सोच्ने तरिकामा धेरै समानता छ । नयाँ ढंगले जानुपर्छ भन्नेमा असहमति छैन ।
व्यक्तित्वको टकराव उत्तिकै छ नि ?
टकराव किन छ भने हामीले जुन विरासतमा प्राप्त गरेको पार्टी छ, यो बाबुराम वा प्रचण्डले मात्र बनाएको होइन । यो तेस्रो अन्तर्राष्ट्रियदेखि नै विरासतको रूपमा कम्युनिस्टहरूले प्राप्त गरेको ढाँचा हो । विश्वभरि यही ढाँचाका कम्युनिस्ट पार्टीहरू छन् । यसको प्रमुख हुनुका नाताले उहाँ
(प्रचण्ड) ले त्यसको संरक्षण गर्ने, त्यही परम्पराअनुसार जानुपर्ने सीमा र बाध्यता छन् । तर म मुख्य नेतृत्वमा नभएका कारणले त्यसबाट अलि स्वतन्त्र छु । त्यसैले त्यसमा प्रश्न उठाउने, अलि नयाँ ढंगले जाउँ भन्ने मेरो जोड हुन्छ । त्यसमा पूरै असहमति कमरेड प्रचण्डको पनि हुँदैन । त्यसैले यसलाई रूपान्तरण गरौं भन्ने त छ तर हाम्रो भूमिका फरक-फरक भएकाले जोड र कोणमा अलिकता अन्तर देखापर्छ ।
तपाईंले बेला-बेलामा नयाँ राजनीतिक शक्ति चाहिन्छ भन्नुहुन्छ । त्यसले नयाँ पार्टी गठनको पनि संकेत गर्छ । जसरी पार्टीभित्रको विवाद उत्कर्षतिर पुगिरहेको छ, कतै तपाईंले नयाँ शक्ति बनाउनेतिर सोच्नुभएको त होइन ?
मैले त यही पार्टीलाई नयाँमा रूपान्तरण गर्नुपर्छ भनेको हो । बदलिएको परिवेशमा एमाओवादीले आफूलाई रूपान्तरण गरेर नयाँ ढंगले लान सकेन भने ऊ पनि फेरि पुरानै पार्टी प्रजापरिषद्, कांग्रेस, एमालेजस्तै बन्न पुग्छ । मैले नयाँ शक्ति निर्माण गरौं भनेको यही पार्टीलाई नै रूपान्तरण गरांै भनेको हो । साथसाथै बाहिर छरिएका शक्ति छन्, विभिन्न पार्टीभित्र रहेका नयाँ सोच राख्नेहरूलाई समेटौं, २०६२/६३ को आन्दोलनपछि पनि नयाँ पुस्ता आएको छ, तिनलाई पनि समेटेर नयाँ शक्तिको विकास गरौं । त्यसमा हाम्रो पार्टीले नै पहल गरोस् भन्ने मेरो भनाइ हो ।
तपाईं पदमा पनि बस्दिनँ भनिरहनुभएको छ । अनुसन्धान आयोग बनाएर त्यसको जिम्मेवारी पनि खोजिरहनुभएको छ । तपाईंले गर्न खोजेको के ? सक्रिय राजनीतिमै रहनुहुन्छ कि हुँदैन ?
म सक्रिय राजनीतिमै रहन्छु । मूल नेतृत्वले अलि बढी वैचारिक काममै जोड दिनुपर्छ । दैनन्दिन कामबाट अलि मुक्त हुन सांगठनिक र सत्ताका काममा नयाँ साथीहरूलाई अगाडि सार्नुपर्छ । त्यो ढंगले कार्यविभाजन गरौं भन्ने हो । वैचारिक, राजनीतिक काममै केन्दि्रत हुने मेरो रुचि हो । मलाई त्यतापट्टकिो जिम्मेवारी दिन उचित हुन्छ भन्ने हो ।
तपाईं पटक-पटक वैचारिक केन्द्रीयताको कुरा गर्नुहुन्छ । सम्मेलनको हलले नै केन्द्रीय नेतृत्वमा चयन गरेपछि बस्दिनँ भन्न मिल्छ ?
नेतृत्व भनेको आन्दोलन र पार्टीको आवश्यकता, व्यक्तिको रुचि र क्षमतालाई ध्यानमा राखेर चयन गर्नुपर्छ भन्ने माक्र्सवादी सिद्धान्त हो । साथीहरूले बस्न आग्रह त गर्नुभयो । तर मैले सैद्धान्तिक रूपमा नै यो पुरानो ढाँचाको पार्टीले अहिलेको एक्काइसौं शताब्दीको क्रान्तिको आवश्यकता पूर्ति गर्न सक्दैन भन्ने वैचारिक रिजर्भेसन राखेको छु । दोस्रो, व्यावहारिक ढंगले वैचारिक, राजनीतिक काम, सैद्धान्तिक कुराको अनुसन्धान गर्ने कामको जिम्मेवारीमा मेरो रुचि भएकाले केन्द्रमै बस्नु पर्दैन, एउटा निकाय बनाएर गर्न सकिन्छ भन्ने प्रस्ताव हो ।
त्यसमा अध्यक्ष र अरुको धारणा ?
सबैको सल्लाह गर्दै जाउँ भन्ने छ ।
कार्यकारी पदहरूमा बस्नु हुँदैन अब ?
सधैंलाई बस्दिनँ भनेको छैन । कार्यविभाजन नयाँ ढंगले गरौं भन्ने मात्र मेरो भनाइ हो । आवश्यकताअनुसार जिम्मेवारी लिन म तयार छु ।
प्रचण्डले फुटेर नेकपा-माओवादी गठन गर्नुभएका मोहन वैद्य किरणसँग एकीकरणको प्रयास बढाएकामा पनि तपाईंको असन्तुष्टि हो भनिन्छ नि ?
होइन, होइन । विचार फरक हुँदाहुँदै पनि व्यक्तिगत रूपमा मेरो किरणजीसँग बढी सम्मान र सम्बन्ध छ । किनकि, हामी दुवैको बुझाइ के हो भने हाम्री दुवैको लाइन स्पष्ट छ । त्यस अर्थमा एकअर्काप्रति विश्वास छ, सौहार्द सम्बन्ध छ । मेरो विचारसँग असहमत रहँदारहँदै पनि किरणजीले मेरो भनाइलाई बढी विश्वास गर्नुहुन्छ । 'म सहमत हुन सक्दिनँ तर तपाईंले भनेको कुरा स्पष्ट छ' भन्नुहुन्छ । म सहमत हुन नसके पनि उहाँको भनाइ पनि स्पष्ट छ । हामी दुईको सम्बन्धमा कटुता छैन । अहिले पनि उहाँहरूसँग एकताबद्ध भएर जानुपर्छ भन्ने नै हो । तर कार्यदिशा प्रस्ट पारेर एकता गर्नुपर्छ । उहाँहरू विद्रोह भन्ने, हामी संविधान तथा शान्तिपूर्ण बाटो भन्ने । यो दुईवटा विपरीत दिशामा एकता गर्दा त झन् गतिरोध हुन्छ । त्यसैले किरणजी, एमालेभित्रका र अरू वामपन्थीसँग पनि एकता हुनुपर्छ तर विचारमा प्रस्ट भएर गर्नुपर्छ भन्ने मेरो भनाइ हो ।
अब कुन सर्तमा केन्द्रीय समितिमा र्फकनु हुन्छ त ?
पहिले त हामीले भनेजस्तै सांगठनिक ढाँचा हुनुपर्यो । पुरानै अति केन्द्रीयतावादी ढाँचा अहिले नै समग्र रूपमा परिवर्तन हुन नसक्ला तर परिवर्तनतिर गयो भन्ने संकेत आयो भने राम्रो हुन्छ ।
नेतृत्व चाहिँ प्रचण्डकै हुन सक्छ ?
उहाँको नेतृत्व तत्कालका लागि ठीकै छ । तर आजीवन बस्नु हुँदैन, त्यो सैद्धान्तिक रूपमा बेठीक हुन्छ भन्ने मेरो भनाइ हो । उहाँ पनि प्रक्रिया मिलाएर अर्को महाधिवेशनपछि छाडिदिने भन्नेमा सहमत नै हुनुहुन्छ । त्यसमा पनि विमति रहेन ।