
निवर्तमान अखिलका सचिव लामा २२ औं महाधिवेशनमा पनि खुल्ला तर्फका सचिव उम्मेदवार छन्
देशकै ठूलो र गतिशील विद्यार्थी संगठन अनेरास्ववियुको २२ औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ । लाखौँ युवा विद्यार्थीहरुको आस्थाको केन्द्र भएकाले स्वभाविक रुपमा यो महाधिवेशनले विशेष महत्व राख्दछ । महाधिवेशन यस्तो थलो हो जहाँबाट लिने निर्णय र बनाइने नयाँ नेतृत्वले संगठनको भावी आन्तरिक र बाह्य जीवनको डिजाइन गर्दछ । संगठनलाई जीवन्त राख्न आवश्यक सिद्धान्त, विचार, नीति, रणनीति, कार्यनीति, तथा संगठनलाई सुदृढ गर्न महाधिवेशनको महत्वपूर्ण भूमिका हुन्छ ।
देश यतिबेला अत्यन्तै जटिलमोडबाट अगाडि बढिरहेको छ । आठ बर्षे लामो सकसपूर्ण अवस्था पार गर्दै सात प्रदेशका संघीय संरचना सहितको नयाँ संविधान जारी भएको सेलिब्रेसनसम्म गर्न नपाउँदै मधेश आन्दोलन र भारतले लगाएका अघोषित नाकाबन्दीका कारण वास्तवमै देश सकसपूर्ण अवस्थामा गुज्रिरहेको छ । एकातिर दैनिक उपभोग्य वस्तुको अभाव छ भने अर्कातिर कालोबजारीको ताण्डव चलिरहेको छ । यस्तो अवस्थामा पनि सरकार मुकदर्शक छ । यो चार महिनाको अवधिमा सरकारले न कालो बजारी नै नियन्त्रण गर्यो न त नाकाबन्दी खोलाउने ठोस प्रयत्न नै भयो । उल्टो चीनसँगको नाका खोलाउने चर्चा समेत सेलाएको देखिन्छ ।
देशको यस्तो विषम परिस्थितिका बीच आफ्नो २२ औँ महाधिवेशन सम्पन्न गर्न अनेरास्ववियुलाई कम चुनौतीपूर्ण छैन । तर संगठनको प्राणवायुका रुपमा हुने महाधिवेशन गर्नै पर्नेछ । यसका लागि देशभरका लाखौं देशभक्त विद्यार्थी साथीहरु काठमाण्डौँ आईसक्नु भएको छ । अनेरास्ववियुले राम्ररी बुझेको छ सहज परिस्थितिमा होइन विषम परिस्थितिमा नेता र संगठनको आवश्यकता खड्किन्छ ।
लाखौँ विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै नाकाबन्दी, जनजीविका, राष्ट्रिय स्वधिनता, शैक्षिक मुद्दा, सदभाव तथा सहिष्णुता जस्ता कैयन मुद्दाहरु उठान गर्नु आफ्नो कर्तव्य हुन आउँछ ।
इतिहासको हरेक कठिन क्षणहरुमा निर्णायक भूमिका निर्वाह गर्दै आएको अनेरास्ववियु सामु पुनः एउटा परीक्षा खडा भएको छ । असहज परिस्थितिका बाबजुद सफलता पूर्वक महाधिवेशन सम्पन्न गरी सबल, सक्षम नेतृत्व निर्माण गर्दै भूकम्प र नाकाबन्दीले थिलथिलो देशलाई सहजता तर्फ डोर्याउन । अनेरास्ववियु युवा विद्यार्थीहरुको संगठन हो । लाखौँ विद्यार्थीहरुको प्रतिनिधित्व गर्दै नाकाबन्दी, जनजीविका, राष्ट्रिय स्वधिनता, शैक्षिक मुद्दा, सदभाव तथा सहिष्णुता जस्ता कैयन मुद्दाहरु उठान गर्नु आफ्नो कर्तव्य हुन आउँछ । अर्को महत्वपूर्ण विषय नेकपा एमालेको नवाैं महाधिवेशनपछि पहिलो पटक जनवर्गीय संगठनको महाधिवेशन हुँदैछ ।
पार्टीको नवौँ महाधिवेशले केही महत्वपूर्ण फैसला गरेका छन् । त्यसलाई समेत आत्मसात् गर्दै अखिल कस्तो बनाउने ? अखिल चरित्र कस्तो हुने ? अबको कार्यदिशा ? विद्यार्थी आन्दोलनको औचित्य के ? बजारहल्ला जस्तै विद्यार्थी आन्दोलन भ्रष्ट्रिकृत हुँदै आएको हो त ? यी र यस्ता विद्यार्थी आन्दोलनसँग जोडिएका कैयन विषयहरुमा गम्भिर बहस हुन आवश्यक छ ।
गुट, उपगुट र व्यक्तिगत स्वार्थले घेरिएका समूहहरु भन्दामाथि उठेर सबै प्रतिनिधिले विवेक प्रयोग गर्न आवश्यक छ ।
वास्तवमै नेपाली विद्यार्थी आन्दोलन एक जटिल मोडमा आइपुगेको छ । विगतको गौरवमय इतिहासको बिस्कुन फिजाँएर बस्नु बाहेक हातमा केही नभएको अवस्था छ । यही गतिले निरन्तरता पाए निश्चित छ एक दिन विद्यार्थी आन्दोलन विघटनको संघारमा पुग्नेछ । अनेरास्ववियु नेता विद्यार्थी संगठन भएका नाताले यतिबेला आफूलाई कठोर समीक्षा गर्नै पर्छ । समय सापेक्ष विद्यार्थी आन्दोलन पुनःजागरणका निम्ति महाधिवेशनदेखि महाधिवेशनसम्मका लागि होइन यतिबेला वास्तवमै नीति मूल्य र संगठनलाई सही दिशा प्रदान गर्न सक्ने नेतृत्व आवश्यक छ । त्यसका निम्ति गुट, उपगुट र व्यक्तिगत स्वार्थले घेरिएका समूहहरु भन्दामाथि उठेर सबै प्रतिनिधिले विवेक प्रयोग गर्न आवश्यक छ । त्यसैले यो चूनौतीपूर्ण घडीमा जारी २२ औँ महाधिवेशनको सन्दर्भमा केही महत्वपूर्ण विषयहरु यहाँ उठान गरेकी छु ।
१) वैचारिक पक्ष
वैचारिक अस्पटताका कारण नेपाली विद्यार्थी आन्दोलन दिशाविहिन बन्दै गइरहेको छ । गौरवमय इतिहास मात्र होइन देशको हरेक राजनीतिक परिवर्तनमा निर्णायक भूमिका खेल्दै आएको विद्यार्थी आन्दोलन ०६२–६३ पछि ख्याउटे बन्दै गइरहेको तीतो यथार्थ स्विकार्नै पर्छ । विश्वव्यापीकरणका कारण आज विश्व एउटा गाउँमा रुपान्तरण भएको छ । पूँजिवादी फैलँदो हावाले आज विश्वलाई छोपेको छ ।
हाम्रो मन, मस्तिष्क, र चेतना पनि उसरी नै परिवर्तन हुँदै गएका छन् । हाम्रो प्रत्येक पाइलामा पुँजिवादको छायाँ छ । नेकपा एमालेको नवाैं महाधिवेशनले नेपाली समाज पनि मूलभूत रुपमा पुँजिवादमा प्रवेश गरिसकेको निष्कर्ष निकालेको छ । बदलिँदो परिस्थिति अनुरुप विद्यार्थी आन्दोलनलाई अगाडि बढाउन त्यही अनुरुपको विचार निर्माण अहिलेको आवश्यक्ता हो । वर्तमान समाजको चरित्रलाई आत्मसाथ गर्दै अगाडि बढे मात्र समाजवादी गन्तव्य पुग्न सहज हुन्छ । अन्यथा वैचारिक अस्पष्टताका कारण हाम्रो आन्दोलन, हाम्रो यात्रा ‘कुहिरोका काग’ झैँ हुनेछ ।

२) शैक्षिक एजेण्डा
शिक्षाको मूलभूत लक्ष्य समृद्ध, न्यायपूर्ण र समतामूलक समाजमा स्थापना गर्ने भएकाले सबैको पहुँच र अनिवार्य सहभागिता सुनिश्चित गर्नुपर्छ । अहिले दुई किसिमको शिक्षा नीति विद्यमान छ । सरकारी र नीजि क्षेत्रका नाममा जबसम्म दुई खाले शिक्षा नीति कायम रहन्छ तबसम्म एउटै देशमा दुई किसिमका नागरिक कायमै रहन्छन् । सरकारी विद्यालयमा नियमित पढाइ हुँदैन ।
नीजि विद्यालयहरु गुणात्मक शिक्षा भन्दा बढी व्यापारमुखी देखिन्छन् । पाठ्यक्रम र वातावरण केहीमा पनि एकरुपता छैन । जबसम्म शिक्षामा भएको विभेदकारी नीतिको खारेज गरिँदैन विभेदको खाडल पुरिनुको साटो झन बढेर जानेछ । यस सन्दर्भमा ‘श्रम र प्रकृतिको संयोजन बिना कुनै पनि वस्तुको निर्माण हुन सक्दैन’ भन्ने माक्र्सको भनाई सान्दर्भिक छ । नेपालको सन्दर्भमा पाठ्यक्रम न श्रमसँग जोडिएको छ न प्रकृतिसँग नै, जसको परिणामस्वरुप विश्वविद्यालयहरु बेरोजगार उत्पादन गर्ने थलोका रुपमा स्थापित बन्दै गएका छन् ।
नेपाली समाज सुहाउँदो नीति अख्तियार गरी शैक्षिक क्षेत्रलाई उत्पादनमुखी बनाइनु आवश्यक छ । उच्चमाध्यमिक तहसम्मको शिक्षा अनिवार्य तथा निःशुल्क गरिनु पर्छ । पाठ्यक्रममा ग्रामीण तथा स्थानीय तहमा रोजगारी सिर्जना गर्न सक्ने विषयवस्तु समेटिनुपर्र्छ । पाठ्यक्रम तथा पाठ्यपुस्तक र शिक्षण सिकाइ प्रक्रियामा सामाजिक तथा साँस्कृतिक भिन्नताको सम्मान गर्ने विषयवस्तुहरु समावेश गरी स्थानीय विषय, परिवेश र क्रियाकलापलाई स्थान दिई शिक्षण सिकाइको क्रममा यस्ता भिन्नताको कदर गरिनुपर्छ । त्यस्तै उच्च तहमा नेपालमा रहेको अथाह प्राकृतिक सम्पदालार्ई सदुपयोग गर्ने वैज्ञानिक र व्यवहारिक शिक्षा, सबै क्षेत्र र वर्गलाई समेट्न सक्ने सहज सुलभ र गुणस्तरीय शिक्षा, यसका लागि सुविधा सम्पन्न भौतिक संरचना, पाठ्यक्रममा एकरुपता र वैज्ञानिक परीक्षा प्रणाली अवलम्बन गर्नुका साथै शैक्षिक व्यवस्थापनमा निखारता ल्याउन आवश्यक छ ।
३) सांगठनिक स्वरुप
हाम्रो तागत भनेकै संगठन हो । संगठन चुस्तदुरुस्त बनाउनु पर्छ । परिभाषित जिम्मेवारी बोकेका कमिटीहरु निर्माण गरिनु पर्छ । सात प्रदेश सहितको नयाँ संविधान जारी भइसकेको अवस्थामा हाम्रो सांगठनिक संरचनाहरु पनि सो अनुरुप निर्माण गरिनु पर्दछ । अहिले देखिएका सम्मेलनबाट सम्मेलनसम्म, कमिटीदेखि कमिटीसम्म जस्ता विकृतिलाई निरुत्साहित गर्दै कामकाजी कमिटीहरु निर्माण गरिनुपर्छ । सूचना प्रविधिको उच्चतम विकास र प्रयोग भएको यो समयमा यसको भरपुर उपयोग गर्दै केन्द्रीय सूचना केन्द्रको स्थापना गरिनुपर्छ । अनेरास्ववियुका हरेक महत्वपूर्ण अभिलेखहरुलाई ‘डिजिटलाइज’ गरिनुपर्छ ।
प्रारम्भिक तहदेखि विद्यावारिधिसम्म स्तर अनुसार गतिविधिहरु सञ्चालन निर्देशिका तयार गरिनुपर्छ । कमिटिहरु निर्माण गर्दा समावेशी सिद्धान्तलाई अवलम्बन गर्दै लैङ्गिक, जातीय, क्षेत्रीय, वर्ग, भाषा आदिलाई समानुपातिक हिसाबले समेटिनु पर्छ ।
नेतृत्व भनेको संगठनको प्रतिविम्व र गहना हो । एउटा अरबी कहावत छ ‘सय ओटा बाघलाई एउटा भेडाले नेतृत्व गरेको भन्दा एउटा बाघले सय ओटा भेडालाई गरेको नेतृत्व सफल हुन्छ ।’ अनेरास्ववियुका नेतृत्व भेडा जस्तो होइन बाघ जस्तो हुनु पर्छ ।
कार्यालय व्यवस्थापनमा विशेष ध्यान दिन आवश्यक छ । प्रशिक्षणलाई प्राथमिकता दिनुपर्छ । कस्तो नेता कार्यकर्ता उत्पादन भइरहेका छन भन्ने कुरा संगठनले सञ्चालन गर्ने प्रशिक्षण कार्यक्रमहरुले निर्धारण गर्दछ । संगठनको सञ्चालन परिचालनमा आर्थिक एक महत्वपूर्ण पाटो हो । संगठनमा कोष निर्माण र सञ्चालनमा विशेष ध्यान पुर्याउनुपर्छ । संगठनमा कोष निर्माण र परिचालन व्यवस्थित नहुँदा कतिपय नेता कार्यकर्ताहरु भ्रष्ट हुँदै गएको पाइएकोछ । संगठनभित्र यस्तो प्रवृत्ति मौलाउँदै गए संगठन कहाँ पुग्ला ? उत्तर प्रष्ट छ । तत्काल आर्थिक विनियम बनाइ यस्ता गतिविधिहरुलाई व्यवस्थित गरिनु पर्छ ।
४) नेतृत्व
संगठनमा नीति कि नेतृत्व प्रधान भन्ने विषयमा निक्कै बहस हुने गर्दछ । वास्तवमा नीति र नेता अन्योन्याश्रित, अविभाज्य तत्वहरु हुन् । यसमध्ये एकको अभावमा संगठन अपूर्ण हुन्छ । जुनसुकै अवस्थामा संगठनलाई सफल बनाउन प्रभावकारी नेतृत्व चाहिन्छ ।
नेतृत्व भनेको संगठनको प्रतिविम्व र गहना हो । एउटा अरबी कहावत छ ‘सय ओटा बाघलाई एउटा भेडाले नेतृत्व गरेको भन्दा एउटा बाघले सय ओटा भेडालाई गरेको नेतृत्व सफल हुन्छ ।’ अनेरास्ववियुका नेतृत्व भेडा जस्तो होइन बाघ जस्तो हुनु पर्छ । नेता भनेको ड्राइभर हो । लाखौँ विद्यार्थीका भविष्य त्यो ड्राइभरको हातमा हुन्छ । संगठन र देशको भविष्य कतातिर मोड्ने भन्ने ताकत समेत नेतृत्वमा हुने भएकाले अनेरास्ववियुको नेतृत्व अनुकरणीय, उदाहारणीय, विद्यार्थीहरुलाई उत्प्रेरित गर्ने, दूरदर्शी, क्षमतावान, संगठनको लक्ष्य, उद्देश्यप्रति सचेत र चूनौतीसँग पौठेजोरी खेल्न सक्ने हुनुपर्दछ ।
५) अखिल स्कुलको स्थापना
विद्यार्थी आन्दोलनमा पुनःजागरण ल्याउन, भुत्ते बन्दै गएको अखिललाई साँध लगाउन र वैचारिक स्खलन रोक्न अखिल स्कुलको स्थापना गरिनु पर्दछ । अखिल स्कुलले (कअजयय िया तजयगनज ) को अवधारणलाई अनुसरण गर्दछ । वैचारिक रुपमा धारिलो, ज्ञानसीपयुक्त र विद्यार्थी आन्दोलनको औचित्य पुष्टि गर्नका लागि यस्तो स्कुलको स्थापना अनिवार्य बन्दै गएको छ । अनेरास्व्वियुका सदस्यता लिइसकेपछि हरेक विद्यार्थीले यो कोर्ष गर्नै पर्ने हुन्छ । छोटो समयको चुस्त पाठ्यक्रम निर्माण गरी यस्तो स्कुल विभिन्न तहमा सञ्चालन गर्न सकिन्छ । यसले भ्रष्ट्रिकृत बन्दै गएको विद्यार्थी आन्दोलनलाई सही मार्गमा डो¥याउन मद्दत गर्नेछ ।
यस्तो स्कुलबाट उत्पादन भएका जनशक्तिले प्रत्येक कक्षाकोठामा छलफल, बहस र पैरवी गर्नेछन् । निरस बन्दै गएका विश्वविद्यालयहरुमा विद्यार्थीको आकर्षण थपिनेछ । पार्र्टी मूख्यालय, माउ नेता र पार्टी प्यालेसतिर सरेका विद्यार्थी नेताहरु र सांगठनिक गतिविधि पुनःकक्षा कोठाहरुमा फर्किनेछन् । अनि पुष्टि हुनेछ, विद्यार्थीको वास्तविक आस्थाका धरोहर विद्यालय, विश्वविद्यालहरु हुन् ।
६) सिर्जनात्मक गतिविधि
कुनै बेला यस्तो थियो, अनेरास्ववियु भन्ने बित्तिकै प्रतिभावान विद्यार्थीहरुको समूह हो । प्रतिभा प्रस्फुटन गराउन मञ्च निर्माण गर्ने संगठन हो । कक्षा कोठाहरु टनाटन भरिएका हुन्थे जहाँ, कविता, गीत गजल निबन्धहरु वाचन हुन्थे । हाजिरी जवाफ र वक्तृत्वकला प्रतियोगिता हुन्थे । खेल मैदान भरिएका हुन्थे । ठूला–ठूला हलहरुमा साङ्गीतिक कार्यक्रमहरु हुन्थे ।
सिर्जनात्मक कामका बारेमा विद्यार्थीहरु जमेर छलफल गर्थे । यसले विद्यार्थीको व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेलेको थियो । संगठनमा विद्यार्थीको यस्तो आकर्षण हुन्थ्यो । त्यो कुरा गर्दा अहिले दन्त्य कथा झैँ लाग्छ । संगठनभित्र मौलाएको गुट–उपगुटको अराजक संस्कृतिले स्कुल, क्याम्पस, विश्वविद्यालय र विद्यार्थीहरुलाई अलग्याएर संगठनको गतिविधि पार्टी प्यालेस र होटलको सभाहलतिर सरेको छ । अहिले मैदानमा न अखिलकप हुन्छ न कक्षाकोठा तीर कविता प्रतियोगिता ।
यस्तो प्रवृत्तिले निरन्तरता पाइरहे विद्यार्थी आन्दोलन इतिहासमा सिमित हुने निश्चित छ । त्यसैले देशभरबाट महाधिवेशनका लागि काठमाण्डौ आइ पुगेका क्रान्तिकारी विद्यार्थी साथीहरुलाई हार्दिक आह्वान गर्न चाहान्छु । होटल र पार्टी प्यालेसमा अनाथ भएका विद्यार्थी आन्दोलनलाई स्कुल, क्याम्पस र विश्वविद्यालय फर्काउन सक्ने ताकत भएका नेतृत्व चयन गरौँ । विद्यार्थी आन्दोलनको पुनर्गठन र पुनर्जागरण गराऔँ ।
७) अन्तराष्ट्रिय सम्बन्ध विस्तार
सूचनाको उच्च राजमार्गले स्थापना भएको सूचना समाजका कारण विश्व एउटा गाउँमा रुपान्तरण भएको छ । प्रविधिको तीव्र विकासका कारण आज पृथ्वीको एउटा गोलाद्र्धमा भएको कुनै घटना मात्र होइन अन्तरीक्षमा भएको घटनाहरुको सूचना समेत क्षणभरमै हामी पाउन सक्छौँ । समाज विश्वव्यापी बन्दै गएको छ । विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्तिको उत्पादन आजको आवश्यक्ता हो ।
सूचना प्रविधिले दिएको यो अनुपम अवसरलाई उपयोग गर्दै विश्वव्यापी सम्बन्ध विस्तार गरी त्यसको फाइदा लिनु पर्छ । सार्कको बडा पत्रमा राज्य तहमा मात्र होइन विभिन्न तहमा पनि नागरिक सम्बन्ध बढाउने उल्लेख छ । तर त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । त्यसको वकालत र नेतृत्व गर्नु अनेरास्ववियुको कर्तव्य हुन आउँछ । सँगसँगै इन्टरनेशनल स्टुडेन्ट एसोसिएसन, चाइनिज स्टुडेन्ड एसोसिएसन जस्ता अन्य थुप्रै संगठनहरुसँग भातृत्व कायम गरी विश्वव्यापी रुपमा उपस्थिति विद्यार्थी, प्रतिनिधित्व र विद्यार्थी आन्दोलनका समसामयिक विश्व सन्दर्भ तथा उपलब्धीहरु बारे अनुभव आदान प्रदान गर्न सके नेपाली विद्यार्थी आन्दोलनलाई थप उचाइ प्रदान गर्न सकिन्छ ।
८) साक्षरता स्वयम्सेवक अभियान
बर्षेनी शिक्षा क्षेत्रमा अर्बौँ रुपैंयाँ रकम विनियोजन भए पनि ‘बालुवामा पानी खनाए झैँ’ भएको छ । विश्व बैँकले सन् २००५ मा गरेको अध्ययनअनुसार विद्यालय सुधार कार्यक्रम अन्तर्गत शिक्षकको तलवमा मात्र दुई अर्ब खर्च हुने उल्लेख गरेको थियो । शिक्षा क्षेत्रमा यति विकृत्ति र अनियमितता छ त्यसको जरै उखेलेर नफालेसम्म केही हुनेवाला छैन । जनगणना २०६८ अनुसार ३४ दशमलव १ प्रतिशत जनता निरक्षर छन् । अक्षरसम्म पहिचान गर्न नसक्ने यति ठूलो जनसङ्ख्या हुनु देशकै लज्जाको विषय हो ।
राज्यले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्दा यस्तो दुर्गति व्यहोर्नु परेको छ । अनेरास्ववियु पुर्पुरोमा हात राखेर राज्यलाई मात्र टुलुटुलु हेर्ने पक्षमा छैन । आफ्नो औकातले भ्याएसम्म देशभर सारक्षरता अभियान सञ्चालन गर्नेछ । अनेरास्ववियुका भूगोल र सो सरहका ८२ ओटा कमिटी छन् । प्रत्येक कमिटिबाट एक पटकमा ६ सय जना स्वयमसेवक परिचालन गर्दा ५० हजार हाराहारी हुन आउँछ ।
यति सङ्ख्याले साक्षरता अभियान सञ्चालन गर्ने हो भने विद्यमान निरक्षर रहेको ४५ प्रतिशत जनतालाई साक्षर बनाउन सकिन्छ । यसरी हेर्दा चरणबद्ध तीनदेखि बढीमा चार पटक यस्तो अभियान सञ्चालन गर्ने हो भने देशका सतप्रतिशत जनता साक्षर हुने देखिन्छ ।
क्यूवा, बोलिभिया जस्ता देशहरुले सञ्चालन गरेको साक्षरता अभियान र छोटो समयमै पाएको उपलब्धि यो अभियानका लागि उत्प्रेरणका स्रोत हुन सक्छन् । अन्तराष्ट्रिय नाकाबन्दीका बाबजुद सय प्रतिशत जनता साक्षर बनाउन क्यूवालाई त्यति सजिलो थिएन तर पनि सफल भए । क्यूवाका तुलनामा हामी हरेक दृष्टिले अनुकूल छौँ । इतिहासले अनेरास्ववियुलाई सुम्पिएका यो महान् अभियान सञ्चालन गर्नै पर्छ ।