बैशाख१८– मुलुकभर १२५औँ अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइरहँदा कतिपय मजदुरहरु भने बेखबर रहेका छन् । मजदुरहरुले गरेका श्रमको मूल्य पाउन, आफ्ना हक अधिकार सुनिश्चित गर्न यो दिवस अन्तर्राष्ट्रिय रुपमा नै प्रत्येक वर्षको मे एक तारिखका दिन मनाउने गरिन्छ । आफ्ना रोजीरोटीका लागि जीविकोर्पाजन गर्न दिनरात मेहनत गर्ने मजदुरलाई भने दिवसका बारेमा केही जानकारी भएको पाइँदैन । आफनो हक अधिकारको बारेमा चेतनाबोध नभएका ती मजदुर आजको दिनमा पनि काममा व्यस्त देखिन्छन् । बुङ्मती गाविसस्थित बुङ्मती इँटा उद्योगमा बिहीबार इँटा बोक्दै गरेकी ६८ वर्षीया मीनाकला केसीलाई मजदुर दिवसका बारेमा केही थाहा छैन् । उनले भनिन “बुढेसकालमा एक्लो भएकी छु, आफ्नो पेट पाल्नका लागि पनि इँटा बोक्ने काम गर्दै आएकी छु ।” मजदुरको नाममा राजनीति गर्ने सङ्गठनले हाम्रो लागि केही गर्न नसकेको केसीको भनाइ रहेको छ । रोल्पा जिल्ला घर्तीगाउँ गाविस– ५ बस्ने जयराम खत्रीले आफ्नो परिवारको जीवीका चलाउनका लागि टाढाबाट यहाँसम्म काम गर्न आएको बताए । परिवारमा चार सदस्य रहेको खत्रीले एउटा सिजनमा करिब रु ५० देखि ६० हजार आम्दानी हुने र त्यहीबाट परिवारको गुजारा चलाउँदै आएको बताए । भारत, विहारको दरवङगा घर भएकी सुनीतादेवी पासवानले आफ्नो जीविकोपार्जनका निमित इँटा उद्योगमा मजदुरी गर्न आएकी बताइन् । एक प्रसङ्गमा मजदुर दिवसबारे सोध्दा उनको जवाफ थियो, “दिवसबारे आफूलाई केही थाहा नभएको र परिवारका लागि बाध्यताले काम गर्ने गरेको बताइन् ।”
प्रत्येक वर्षमा मुश्किलले ६ महिनामात्र काम हुने भएकाले यसैको आम्दानीबाट घर व्यवहार चलाउन परेको पासवानले सुनाइन् । यस्तै रोल्पा घर्तीगाउँ वडा नं ५ बस्ने नवीन केसी र विहार घर भएका विनय यादवले भने, “मजदुर दिवसबारे थाहा भए पनि बाध्यताका कारण काम गर्नुपरेको जानकारी दिएँ ।” उक्त इँटा उद्योगमा करिब ५०० हाराहारीको मजदुरले काम गर्ने गरेको सञ्चालक राजेश महर्जनले बताउनुभयो । उद्योगमा काम गर्न आउने मजदुरमध्ये राजधानी बाहिरबाट ७५ प्रतिशत र बाँकी यस क्षेत्रको रहेको महर्जनको भनाइ छ । मजदुर दिवसको दिनमा मजदुरहरु आफू खुुसीले काम गरेको र कसैलाई पनि जबर्जस्ती नगरेको उहाँको दाबी थियो । आजभन्दा १२५ वर्षअघि अमेरिकाको सिकागो सहरमा आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनले सफलता पाएको स्मरणमा यो दिवस मनाउने गरिएको छ ।
-