
बिहीबार बिहान कलंकीमा रहेका प्रहरीलाई स्थानीयवासीले खवर गरेपछि बाल्टिन नियन्त्रणमा लिएर स्विफ्ट कार्गो काठमाडौंलाई जिम्मा लगाएको कालिमाटी वृत्तका प्रहरी निरीक्षक दक्षकुमार बस्नेतले बताउनुभयो । बाल्टिन बन्द अवस्थामानै फेला परेको बताउँदै उहाँले के कसरी त्यहाँ पुगेको हो सो विषयमा अनुसन्धान भइरहेको उल्लेख गर्नुुभयो ।
हराएको बाल्टिनभित्र विकिरण रहेको र मानव स्वास्थ्यका लागि खतरनाक भएको भन्ने समाचार बाहिर आएपछि बाल्टिन राखेका व्यक्तिले स्थानीयलाई खबर गरी प्रहरीलाई जानकारी गराएको प्रहरी निरीक्षक बस्नेतले बताउनुभयो ।
भरतपुरस्थित विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले वैशाख ८ गते नारायणगढको इयरफ्लाइट एक्सप्रेस कुरियरबाट काठमाडौं पठाएको सो रेडियोधर्मी पदार्थ राखिएको बाल्टिन बाटैबाट हराएपछि अस्पतालले खोजिदिन जिल्ला प्रशासन कार्यालय चितवनमा हिजो पत्राचार गरेको थियो ।
क्यान्सर अस्पतालले उपयोगपछि निस्क्रिय पार्न बेल्जियम पठाउन काठमाडौं पठाएको सो रेडियोधर्मी पदार्थबाट उत्पन्न हुने विकिरण घातक हुने विशेषज्ञले बताएका छन् ।
अस्पतालले सन् २००२ देखि रेडियोधर्मी विकिरण प्रयोग गर्न थालेको जनाएको छ । हरेक चार महिनामा नयाँ इरेडियम ल्याउने र पुरानो पठाउने गरेको बताउँदै अस्पतालका मेडिकल अधिकृत प्रद्युम्नप्रसाद चौरसियाले यो ३३ औं पटक पठाएको बताउनुभयो ।
मानव स्वास्थ्यमा गम्भीर असर पर्ने यस्ता सम्बेदनशील वस्तु कुरियरबाट पठाउन नहुने भन्दै अस्पताल प्रशासनको चर्को आलोचना भएको छ ।