Home » » युरोपमा चम्किंदै बाबुछोरी

युरोपमा चम्किंदै बाबुछोरी

"ज्ञान भनेको ज्योति हो,ज्ञानको ज्योति बाँडेर,दिएर सकिन्न बरु फैलिदै र प्रज्वलित हुदै जान्छ । त्यो ज्ञान आर्जन गर्न मान्छेले कडा मिहेनेत गरेर अध्ययन अनुसन्धान गर्नुपर्छ ।" झन्डै ५५ बर्ष अघि अर्घाखाचीको दुर्गम खाचिकोटको एक सामान्य ब्राह्मण परिवारमा जन्मे हुर्केका प्रोफेसर डा.गणेश आचार्यलाइ आफ्ना बुबाबाट पाएको यहि प्रेरणा र सनातन संस्कृति बाल मष्तिस्कमा मज्जाले गड्यो । धार्मिक स्वभावका उनै बनारसी पण्डित स्व. होमकान्त आचार्यको आदर्शलाई कान्छा छोरा डा. गणेशले हरेक धर्मको मूल लक्ष्य आखिर मानवकल्याण नै हो भन्ने उदार र व्यापक विश्वदृष्टिले बुझे ।
बीस बर्षअघि हुँदा छँदाको पाटन अस्पतालको जागिरबाट राजिनामा दिएर बिशेषज्ञताका हासिल गर्न नाबालक २ छोरीहरु र श्रीमतीका साथ बेलायत हानिएका यिनै डाक्टर यति बेला  युरोपमै स्त्री तथा प्रसुति रोगका प्रतिष्ठित प्रोफेसर र विशेषज्ञ कहलाएका छन् । आफ्ना धार्मिक स्वर्गीय बाबाआमाको बिंडो थाम्न आफ्नो पेशाबाटै सक्रिय यिनकै पहलमा एक नर्वेली विशेषज्ञले अल्ट्रासाउण्ड मसिन सहित धरानको बि पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा ३ महिना निशुल्क सेवा दिएर केहि महिना अघि मात्र फर्किन् । त्यसो त उनको पहलमा नर्वे र नेपाल बीच केहि बर्ष यता चिकित्सक र प्रबिधि आदान-प्रदान भएको यो पहिलो पटक भने होइन । नेपालका बिशेषज्ञ झिकाई उनले  कैयौ पटक आफ़्नै घरमा समेत राखेर उच्च ज्ञान र प्रबिधि अबलोकन , प्रशिक्षण र छात्रवृतिको अवसर जुराई  दिने गरेका छन् ।
उतरी नर्वेको ट्रोम्सो बिश्वबिध्यालय शिक्षण अस्पतालमा प्रसुति तथा स्त्रीरोग विभागीय प्रमुख रहेका उनकै सक्रियतामा केहि बर्ष अघि सो क्षेत्रीय अस्पतालमा भ्रुणको उपचार केन्द्र (मेटरनल फेटल मेडिसिन) स्थापना भएपछि उत्तरी नर्वेमा यिनको लोकप्रियता चुलिएको छ । युरोपमा नाम र प्रतिष्ठा कमाएका उनी आफै मियो बनेर नर्डिक नेपाल मेडिकल सोसाइटीको स्थापना गरे । नर्वे ,स्वीडेन,डेनमार्क,फिनल्याण्ड र आइसल्याण्डमा कार्यरत नेपाली डाक्टरहरु बीच ब्यबसायिक सहयोग आदानप्रदान गर्ने र नेपालको स्वास्थ्य क्षेत्रमा ज्ञान र प्रबिधिले मद्दत पुर्याउने सो सोसाईटिको उद्देश्य रहेको छ । बेलायतस्थित प्रतिष्ठित अन्तर्राष्ट्रिय स्त्री तथा प्रसुति सम्बन्धि जर्नल (ब्योग) का बैज्ञानिक सम्पादक रहेका उनी फिनल्याण्डको ओउलो शिक्षण अस्पतालका परिक्षण शोध विशेषज्ञ तथा करोलिन्स्का इन्स्टिच्युट स्वीडेनमा भिजिटिंग प्रोफेसरका रुपमा समेत कार्यरत छन् ।
"नर्वेसंग साधन,श्रोतको अतिरिक्त नविनतम ज्ञान र प्रबिधि छ । त्यसैले नेपाली चिकित्सक र प्राबिधिकहरुलाई नर्वे झिकाएर ज्ञान र सिप बाढौ ।" नर्वे रहेर नेपालमा नयाँ  चिकित्सकीय ज्ञान र प्राबिधिक सहायता उपलब्ध गराउने अभियानका प्रमुख अभियन्ता प्रोफेसर डा. आचार्यले एउटा ब्यबसायिक नर्बेली म्यागेजिनमा छापिएको आफ्नो अन्तरवार्ता थमाउदै भने "नेपालमा अन्तराष्ट्रिय स्तरको चिकित्सक प्रशस्त उत्पादन भैरहेका छन् अब एकाडेमिक चिन्तनको बिकास गर्नुपर्छ ।" छात्रवृतिमा युक्रेनी युनिभर्सिटी एल भोव स्टेट मेडिकल कलेजबाट १९८६ मा उत्कृष्ट पुरस्कार सहित एमडी गरेका उनले भने "विश्वब्यापीकरणको यो जमानामा प्रकारान्तरले राष्ट्रियताको परिभाषा फेरिए पनि जन्मे हुर्केको ठाउको सम्झना अनि कर्तव्यबोधले एक किसिमको हुटहुटी र छटपटी भई नै रहन्छ ।"
 भौतिक रुपले आफु झन्डै ७ हजार किलो मिटर टाढा कर्म क्षेत्रमा रहेपनि उनको प्रज्ञादृष्टि भने नेपालमा चिकित्सकीय एकाडेमिक चिन्तनको बिकास र एउटा मातृ भ्रुण उपचार केन्द्र (मेटरनल फेटल मेडिसिन) को स्थापना गर्ने रहेको छ । उनले आफ्नो पेशाको सुरूआती दिनहरु सम्झदै लामो सुस्केरा सहित भने " नेपाली बिकट गाउका महिलाहरुलाइ प्रसुतिका बेला सालनाल झिकेर फ्याल्न र रग्त श्राव रोक्न सके मात्र पनि धेरै महिलाको ज्यान बच्ने थियो ।"नेपालको शिक्षण अस्पताल ,प्रशुती गृहमा समेत काम गरि सकेका ,युरोपेली र अमेरिकी अनुभवले खारिएका यिनले यदाकदा भेटेको बेला नेपाली अधिकारिहरुलाई सुझाव दिने गरेका छन्  नेपाली मेडिकल कलेजहरुलाई जिम्मेवार बनाउनु पर्यो ,एउटा भौगोलिक क्षेत्रको जिम्मा दिनु र सूचांकको कडाइका साथ् अनुगमन गर्नुपर्यो ।" उनका कुरा सुन्ने धैर्यतासम्म भएकाहरु प्रति आशाबादी हुदै उनी भन्छन " ती नेपाली अधिकारिहरुले यसबारे गहिरिएर चिन्तन पनि गरिदिए त लाख ।"
यिनै नेपाली प्रोफेसर डा. आचार्यका जेठी छोरी अमृता यति बेला खासगरी पश्चिमी दुनियाका नया पुस्ताका लागि सेलिब्रिटी भएकी छिन् । लन्डन स्थित एकाडेमी अफ लाइव एण्ड रेकर्डेड आर्ट्स बाट नाटक अभिनय कलामा स्नातक उनी यतिबेला पश्चिमेली अभिनय संसारमा छाएकी छिन् । विश्व प्रख्यात अमेरिकी टेलिभिजन(एचबिओ) शृंखला " गेम अफ थ्रोन" बाट ब्यबसायिक अभिनय यात्रा प्रारम्भ गरेकी अमृताको पछिल्लो नर्वेली फिल्म याई आर दिन् ( म तिम्रो हो ) नर्वे बाट गत बर्ष ओस्कारको लागि मनोनयनमा परेको थियो । नाटक विधाकि तेजस्वी तिनै ग्लामरस नेपाली युवती  हाल ४-५ वटा फिल्म अभिनयबाट हलिउडमा स्थापित नायिकाका बन्न संघर्षरत छिन् ।
 युक्रेनी मुलकी बरिष्ट आर्किटेक्चर आमा लारिसा आचार्यको कोखबाट २६ बर्ष अघि जन्मिएकी अमृताले आफ्नो बाल्यकाल काठमाण्डौमा बिताएकी थिइन् । काठमाण्डौमा आफन्त र परिवारको साथ् बिताएको बाल्यकालको सम्झनाले अझै उत्साहित हुन्छु । आफ्नो बाल्यकालका दिनहरु सम्झदै उनले भनिन् " त्यो बेला नेपाली गीत,संगीत र फिल्महरु मेरा दिन चर्या थिए तर अहिले भने बिभिन्न अन्तराष्ट्रिय फिल्म फेस्टिबलमा उपलब्ध नेपाली फिल्महरु रुचिपूर्वक हेर्ने गरेको छु  ।" गेम अफ थ्रॊनमा अमृताले अभिनय गरेकी महारानीकी सुसारे इर्रि को दुखद अवसान संगै उनको भूमिका अन्त्य भएको छ । तर बास्तविक जीवनमा भने अभिनयको त्यो दुखद घटनापछि अमृता भने अझ चम्किदै गएकी छिन् । पर्दा र स्टेज दुवै बाट आफ्नो अभिनय कलाको जादुले दर्शकको मन जित्न सफल अमृताको इर्रि भूमिकाको सो अन्तिम दृश्य यु ट्युबमा ३० लाख भन्दा बढी दर्शकले हेरी सकेका छन् ।
प्रसिद्ध अनलाइन म्यागाजिन आस्कमेनले गरेको एक सर्वेक्षण अनुसार, सन् २०१३ मा विश्वको ९९ जना सबैभन्दा बढी रुचाइएकि महिलाको सुचिमा पर्न अमृता सफल भएकी छिन् । सम्भवत ; उक्त सुचिमा पर्ने अमृता पहिली नेपाली महिला हुन् । सानी छँदा राम्रो नेपाली बोल्न सिकेकी थिएँ ,केहि समय नेपाल बस्न पाए बोल्न गाह्रो पक्कै हुन्न "  अभिनयकै सिलसिला नर्वे ,बेलायत र अमेरिकामा उत्तिकै समय बिताइरहेकी अमृताले भनिन् " राम्रो प्रोजेक्ट पाए बलिउड र कलिउड बारे पनि सोच्न सक्छु ।"

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf