दक्षिण अफ्रिकाको एक अदालतले सुडानका राष्ट्रपति ओमार अल बशीरले दक्षिण अफ्रिका छोड्न नपाउने गरी दिएको आदेशको समय बिस्तार गरेको छ।
उनी विरुद्धको सुनुवाइ सोमबार फेरी चल्नेछ।
अदालतले जारी गरेको अन्तरिम आदेशमा बशीरलाई हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालत आइसीसीलाई हस्तान्तरण गर्न पर्ने हो वा होइन भन्ने बारेको याचिकामाथि सुनुवाइ जारी रहेसम्म देश छाड्नबाट प्रतिबन्ध लगाइएको जनाइएको छ।
बशीर अफ्रिकी युनियनको सम्मेलनमा भाग लिन जोहानेसबर्ग पुगेका हुन्।
डार्फर द्वन्द्वका सन्दर्भमा उनीमाथि युद्ध अपराध तथा आम नरसंहारका आरोपहरु लगाइएका छन्।
आइसीसीले दक्षिण अफ्रिकालाई उनलाई पक्राउ गर्न अनुरोध गरेको छ।
तर आइतबार उनी जोहानेसबर्ग आइपुग्दा दक्षिण अफ्रिकी अधिकारीहरुले उनको स्वागत गरेका थिए।
तनाव
आइसीसी र अफ्रिकी युनियनबीच तनाव छ। अफ्रिकी महादेशका कतिपय आइसीसीले पक्षपात गरी अफ्रिकीहरुलाई निशानामा पारेको भन्दै रुष्ट छन्।
यसअघि अफ्रिकी युनियनले सत्तासीन नेताहरु विरुद्धका कारवाही रोक्न भनेको थियो।
बशीरले आफु विरुद्ध लगाइएका आरोपहरुको खण्डन गरेका छन्।
उनी विरुद्ध जारी गरिएका वारेन्टहरुका कारण उनको विदेश भ्रमण निक्कै सीमित भएको छ।
तर उनले अफ्रिका तथा मध्यपूर्वका मित्रराष्ट्रहरुको भ्रमण भने गर्ने गरेका छन्।
आइसीसीको आफ्नै कुनै प्रहरी बल छैन। सदस्य राष्ट्रहरुले पक्राउ गर्नेमा ऊ भर पर्छ।
आइसीसीको स्थापना गर्ने सन्धीको एक हस्ताक्षरकर्ताको नाताले दक्षिण अफ्रिका राष्ट्रपति बशीरलाई पक्राउ गर्न प्रतिबद्ध छ।
तर सम्वाददाताहरु भन्छन् यथार्थमा त्यसो हुन सक्ने सम्भावना कमै छ।
माग
मानव अधिकारवादी संगठनहरु तथा दक्षिण अफ्रिकाका प्रमुख विपक्षी दलले पनि बशीरलाई गिरफ्तार गर्न माग गरेका छन्।
डार्फरमा सन् २००३ देखि द्वन्द्व भएको थियो जतिबेला विद्रोहीहरुले सरकारविरुद्ध हतियार उठाए।
संयुक्त राष्ट्र संघका अनुसार त्यहाँ तीन लाखभन्दा धेरै मानिसहरु मारिए। ती मध्ये धेरै त रोगका कारण मरेका थिए।
हाल जोहानेसवर्गमा भएको सम्मेलनको अफ्रिकी युनियनका वर्तमान अध्यक्ष जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेले अध्यक्षता गरिरहेका छन्।
यस पटकको सम्मेलनको मूल नारा महिला सशक्तिकरण र विकास भन्ने छ।
तर बुरुण्डीको राजनीतिक अस्थीरता दक्षिण सुडानको संकट तथा दक्षिण अफ्रिकामा हालै विदेशीहरु विरुद्ध भएका आक्रमण जस्ता मुद्दाहरुमाथि पनि युनियनको सम्मेलनमा छलफल हुने ठानिएको छ।