
काठमाडौं, २८ वैशाख (ओएनएस) : सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले विभिन्न देशको पर्मानेन्छ रेसिडेन्स (पीआर) र ग्रिनकार्ड लिने निजामति कर्मचारीहरुलाई कुनै हालतमा कारबाही गरेर छाड्ने दृढता व्यक्त गरेका छन् ।
संविधानसभा भवन नयाँ वानेश्वरमा आइतबार बसेको राज्य व्यवस्था समितिको बैठकमा मन्त्री पण्डितले कारवाही नगर्न भन्दै थुप्रै दवाव आएपनि आफूले कुनै हालतमा कारबाही गर्ने बताए । ‘दवावहरु आएका छन्’ मन्त्री पण्डितले भने, ‘मेरो प्राण रहुन्जेल लाग्छु, जसरी पनि कारवाही गरेर देखाउँछु ।’
हाल सरकार निजामति सेवा ऐन २०४९ को चौँथो संसोधन गरी कारवाहीबारे व्यवस्था गर्ने तयारीमा छ । बैठकमा विभिन्न सभासदहरुले त्यस्ता निजामति कर्मचारीहरुमाथि हुने कारवाहीबारे जिज्ञासा राखेका थिए ।
सो अवसरमा मन्त्री पण्डितले एउटै व्यक्तिले नाम परिवर्तन गरी भिन्नभिन्न देशको पीआर लिएको तथ्यसमेत आफूले फेला पारेको बताए ।