
काठमाडौं । काठमाडौंका प्रहरी प्रमुख रमेश खरेललाई प्रहरी प्रधान कार्यालयले सरुवा गरेको छ ।
विवादास्पद अभिव्यक्तिका कारण चर्चामा छानबिनको घेरामा रहेका खरेललाई प्रहरी प्रधान कार्यालयले तत्कालका लागि जगेडामा राखेको हो । जगेडामा राख्ने प्रधान कार्यालयको प्रस्तावलाई गृह मन्त्रालयले सोमबार स्वीकृति दिएको थियो ।
खरेलले नेपाल प्रहरीको एआइजी बढुवामा पैसाको चलखेल भएको खुलासा गरेका थिए ।
काठमाडौंमा शनिबार भएको कार्यक्रममा खरेलले ‘डीआइजीहरु पैसाको ब्रिफकेस बोकेर नेताको दैलोमा जाने गरेको’ अभिव्यक्ति दिएपछि उनीमाथि प्रधान कार्यालयले कारबाही अगाडि बढाएको छ । उनीमाथि छानबिन गर्न आइतबार एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ । विवादास्पद रहेकाले अनुसन्धान अवधिभर जगेडामा राख्न लागिएको प्रधान कार्यालय स्रोतले जनाएको छ ।
‘अनुसन्धानमा रहेको व्यक्तिलाई काममा लगाउनु न्यायोचित देखिएन, त्यसैले हेडक्वार्टरमा तानिएको हो ।’– स्रोतले भन्यो ।
उनको स्थानमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)का निमित्त प्रमुख एसएसपी उत्तमकुमार कार्कीलाई ल्याइने दाबी प्रहरी स्रोतले गरेको छ।