.jpg)
प्रहरी सहायक निरीक्षक रामजी चौधरीको नेतृत्वमा खटिएको गस्ती टोलीले आरोपित ३५ वर्षीय राजदेव यादव र ५५ वर्षीय इशरीलाल यादवलाई मगंलबार गिरफ्तार गरेको प्रहरी निरीक्षक खेमनारायण चौधरीले जानकारी दिए ।
बालिकालाई फलामको रड, खुकुरीलगायतको हतियारले प्रहार गरी ज्यान मार्न खोजेको आरोपमा जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालले गत फागुन १२ गते आरोपितविरुद्ध म्यादी पुर्जी जारी गरेका छन् ।
अन्य आरोपित सोही ठाउँका ३७ वर्षीय भोगिलाल यादव, ३२ वर्षीय भगवती यादव, ४५ वर्षीय रामलखन यादव हालसम्म फरार रहेका छन् । जिल्ला न्यायाधीश नवराज दाहालको आदेशले आरोपित ५० वर्षीय धनराज यादव भने गत फागुन १४ गते रु ३५ हजार धरौटीमा रिहा भएका थिए ।
आरोपितले फलामको रड, खुकुरीलगायतका हतियारले गत माघ ६ गते राति प्रहार गर्दा गम्भीर घाइते भएकी बालिकाको टाउकोमा धरान र विराटनगरमा शल्यक्रिया गरिएको थियो ।
पीडितका बुबा भगवतीप्रसाद यादवले दिएको उजुरीका आधारमा जिल्ला प्रहरी कार्यालयले माघ २३ गते अङ्गभङ्ग मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाएको थियो । जिल्ला सरकारी वकिल कार्यालयले बालिकाको हत्या प्रयास गरेको भन्दै जिल्ला अदालतमा फागुन १३ गते ज्यान मार्ने उद्योग मुद्दा दर्ता गरेको थियो ।