
राति पेट दुखेर असहज भएपछि चिकित्सकले उनलाई पुन: शल्यक्रिया गर्नुपर्ने बताएका थिए। आफन्त रगत लिन गएको समयमा दोस्रो शल्यक्रिया नगर्दै कोपिलाको मृत्यु भएको उनका आफन्त जीवनसागर अधिकारीले बताए।
स्वास्थ्य जाँच गराउन आइतबार दिउँसो मनिपाल पुगेकी कोपिलाको पेटमा बच्चा ठाडो बसेकाले शल्यक्रिया गरेर निकाल्नुपर्छ भनी चिकित्सकले बताएका थिए। त्यसपछि उनलाई त्यहीं भर्ना गरिएको थियो। शल्यक्रिया गरी बच्चा जन्माइसकेपछि उनको पेट दुख्न थालेको थियो। शल्यक्रिया गरेको ठाउँमा रक्तश्राव भएकाले पुन: शल्यक्रिया गर्नुपर्ने सुझाउ चिकित्सकले दिएको आफन्तले बताएका छन्।
चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै मंगलबार बिहान कोपिलाका आफन्त विरोधमा उत्रेका थिए। उनीहरूले कलेजको मुख्य ढोकामा तोडफोडसमेत गरे। अस्पतालमा असहज अवस्था भएपछि जिल्ला प्रशासन कार्यालयमा वार्ता भएको छ। चिकित्सकले पटकपटक भनाइ फेरेको र सत्य कुरा नबताएको आरोप आफन्तको छ। अस्पतालका निर्देशक पीके चक्रवर्तीले रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएकाले चिकित्सकको दोष नभएको दाबी गरेका छन्।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतको अध्यक्षतामा अस्पताल प्रशासन र मृतकका आफन्त सहभागी बैठकमा घटनाको छानबिन गरी एक साताभित्र तथ्य बाहिर ल्याउने सहमति भएको छ। सहमतिपछि शल्यपरीक्षण गरेर आफन्तले कोपिलाको शव बुझेका छन्। कोपिलाले जन्माएको शिशु सकुशल रहेको आफन्तले बताए।