
काठमाडौं, २४ साउन । नेकपा एमालेकी नेत रामकुमारी झाँक्रीले दिनेश अधिकारी ‘चरी’ प्रहरी कारबाहीमा मारिएको विषयमा एमालेका केही नेताले गरेका क्रियाकलापबाट आफू लज्जित भएको टिप्पणी गर्नुभएको छ ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उहाँले आफूले एमाले भएकामा गर्व गरे पनि चरी प्रकरणमा नेताहरुले देखाएको क्रियाकलापले लज्जित हुनुपर्दा पीडा महसुुस गरेको बताउनुभयो ।
पार्टीलाई बदनामीबाट जोगाउन आफूले धादिङका नेताहरु राजेन्द्र पाण्डे र गंगालाल तुलाधरलाई उत्तेजनामा नआउन अनुरोध गरे पनि ‘के नागरिक मार्न पाइन्छ ?’ भन्ने जवाफ पाएको उहाँले बताउनुभएको छ ।
‘सिद्धान्त, इमान र नैतिकता झुकेको बेला सायद यस्तै हुन्छ होला । किनकी चुनाव यस्तै मसलाले मात्र जितिन्छ भन्ने भ्रम भएपछि ।,’ रामकुमारीले लेख्नुभएको छ, ‘मैले माननीय राजेन्द्र पाण्डे र मा गंगालाल तुलाधरलाई उत्तेजनामा नआउन अनुरोध गरेथेंँ । ताकि पार्टी बदनामीबाट बचोस भनेर । जवाफ पनि पाएँ- के नागरीक मार्न पाइन्छ भनेर ?’
झाँक्रीले आफ्ना अरु धेरै पश्नको जवाफ खोज्न पार्टीभित्रै लड्ने उदघोष समेत गर्नुभएको छ । ‘मेरा अरू धेरै प्रश्नको जवाफ पार्टी भित्रै खोज्न लड्नेछु यो प्रवृतिको बिरुद्द बस् यति।’