
पेरिस, भदौ २८ – इबोला विषाणु (भाइरस) ले मृत्यु तथा आतङ्क फैलाएको भन्ने समाचार सुन्नमा आएको लगभग चार दशक भइसकेको छ तर पनि यो रोग निवारणको औषधि उत्पादन गर्ने कुरामा पैसा नै सबैभन्दा प्रमुख बाधा रहेको विशेषज्ञहरूले बताएका छन् । यस रोगको नराम्रो नाम भए पनि यो रोग गरिब अफ्रिकी मुलुकमा छोटो समयका लागि अकस्मात देखिने घटना भएको छ । सानो क्षेत्र तथा गरिब बजार भएकाले ठूला औषधि उत्पादकका लागि यो रोगको औषधि उत्पादन आफैँमा कम प्राथमिकतामा परेको छ । त्यसै पनि यस्तो रोग उपचारका लागि औषधि वा खोप तयार गर्न दशौँ लाख अमेरिकी डलर लाग्ने गर्छ । वर्षौँसम्म न्यून प्रगति भए पनि हाल अमेरिकी प्रतिरक्षा मन्त्रालय पेन्टागन प्रमुख कोष प्रदायक भएकाले इबोलाविरुद्धको खोपको खोजीले उच्च गति प्राप्त गरेको छ र नाफाको उद्देश्य हालका लागि पछि परेको छ । लन्डन स्कूल अफ हाइजिन तथा ट्रपिकल मेडिसिनका निर्देशक प्राध्यापक पिटर पियटले हालसम्म पश्चिम अफ्रिकी महामारीको रूपमा रहेको इबोलालाई सार्वजनिक स्वास्थ्यको समस्याको रूपमा नलिइएको र कमै देखिने रोगको रूपमा लिइने गरिएको बताए । उनले सन् १९७६ मा इबोला विषाणु पत्ता लगाएका थिए । उनले एएफपीलाई पठाउनु भएको एक इमेलमा यस रोगका विषयमा औषधि उत्पादक संस्थामा मात्र होइन सबैतिर कम अभिरुचि देखिएको उल्लेख गरेका छन् । उनले हाल अवस्थामा परिवर्तन भएको र दुई प्रमुख कम्पनी ग्लाक्सोस्मिथक्लाइन तथा जोनसन एन्ड जनसन सब्सिडियरीले यस क्षेत्रमा लगानी गरिरहेको बताए । अफ्रिकाका पश्चिमी भागका चार मुलुक गिनी, लाइबेरिया, नाइजेरिया तथा सियरा लोनमा यो रोग महामारीको रूपमा फैलिएकाले यो रोग समाचार बनेको छ । यसले हालसम्म दुई हजार चारसय व्यक्तिको मृत्यु गराइसकेको छ र तीमध्ये आधाको पुष्टि भएको छ । यस रोगका कारण सामाजिक विस्थापन तथा आर्थिक अवरोध सिर्जना भएको छ । यसैगरि यो रोग छिमेकी मुलुक तथा युरोपमा पनि फैलनसक्ने आशङ्का गर्न थालिएको छ । दुई बिरामीको उपचार तथा दुई खोपको विकासपछि पनि यस रोगविरुद्धको उपचार अझै पनि आरम्भको परीक्षणको अवस्थामा रहेको देखिएको छ । यस अवधिमा यी उपचारले काम गर्नसक्छ वा सक्दैन वा यी सुरक्षित छन् वा छैनन भन्ने विषयमा अध्ययन भइरहेको छ । अगस्त १२ का दिन संयुक्त राष्ट्र सङ्घको विश्व स्वास्थ्य सङ्गठनले परीक्षणमा रहेका यी औषधिलाई उपयोग गर्न अनुमति दिएको थियो । इबोला सङ्कटको समयमा तथा हालसम्म कुनै पनि उपचार तथा खोप नभएको अवस्थामा यी औषधिलाई उपयोग गर्नदिनु नीतिगत हुुने दाबी यस संस्थाले गरेको छ । यस औषधिलाई तीन चरणमा पशुमा प्रयोग गरेपछि मानवमा परीक्षण गर्ने कुरामा पनि निकै वर्ष लाग्नसक्छ र यसमा निकै सावधानी लिनुपर्छ । सेप्टेम्बर ५ मा डब्लुएचओले यो खोप नोभेम्बरमा अग्रपङ्क्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरूका लागि उपलब्ध हुनसक्ने आशा व्यक्त गरेको थियो । यदि हालको द्रुत परीक्षण प्रक्रियाले नतिजा निकाले पनि अर्को प्रश्न उभिएको छ – कसले यो औषधि उत्पादन गर्ने र वितरण गर्ने ?