
अब गंगामायालाई यो खबर कसरी सुनाउने भन्नेतिर सोच्न थाल्यौं। परिस्थिति जे भए पनि आखिर सहनैपर्छ भन्दै नन्दप्रसादको मृत शरीर गंगामायालाई देखायौं। त्यसपछि उहाँ डाँको छोडेर रुँदै भन्न थाल्नुभयो, 'मार्यो सरकारले मेरो पतिलाई मार्यो, अब मेरो यो संसारमा कोही पनि छैन' त्यसपछि नन्दप्रसादको मृत शरीर आईसमा राख्न शिक्षण अस्पताल पठाइयो। यो खबर उहाँका आफन्तलगायत सबैलाई जानकारी गरायौं।
यो घटना हो गत असोज ६ गते साँझको ५ बजे वीर अस्पतालमा अनशनरत ५३ वर्षीय नन्दप्रसादको ३३२ औं दिनमा मृत्यु भएपछिको। उहाँ आफ्ना कान्छा छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै पत्नी गंगामायासहित गत कात्तिक ७ गतेदेखि दोस्रोपटक आमरण अनशनमा बस्नुभएको थियो।
नन्दप्रसादको मृत्यु भएको दोस्रो दिन बिहान वीर अस्पतालको पुरानो आईसीयू कोठामा जाँदा गंगामायाले मसँग दुई हात जोडेर भन्नुभयो, 'नानी, मलाई अन्तिमपटक बाको मुख देखाइदेऊ।' मानवताको नाताले उहाँको त्यो वेदनालाई सहन नसकेर वीर अस्पतालका निर्देशक डा. स्वयंप्रकाश पण्डितसहितको चिकित्सक टोलीसँग अनुमति लिन गएँ, 'डाक्टर सा'ब, गंगामायाले आफ्ना पति नन्दप्रसादको मुख हेर्न खोज्नुभएको छ, सम्भव छ?' चिकित्सकले भने, 'हुन्छ। उहाँको इच्छा छ भने हामी व्यवस्था मिलाइदिउँला।' म फेरि आईसीयूमा गएर गंगामायालाई सोधें, 'आमा, बुबाको मुख हेर्न जाने हो?' मैले यसरी सोध्दा गंगामायाले रुँदै भन्नुभयो, 'नानी, यदि मलाई पनि बुबाको लाससँगै जलाउने हो भने लैजाऊ, होइन भने म पनि यहीं मर्छु।'
नन्दप्रसादको जीवन सकियो। अब जीवनमरणको दोसाँधमा हुनुहुन्छ नन्दप्रसादकी पत्नी गंगामाया। मानवताका आधारमा गंगामायाको जीवन बचाउनुपर्छ।गंगामायाले यो वाक्य भन्नुभएपछि मैले थप कदम चालिनँ, बरु सम्झाउन थालें, तर गंगामायाको बिलौना आजको मितिसम्म यथावत् छन् र पीडामाथि पीडा थपिएको छ। शिक्षण अस्पतालमा नन्दप्रसादको शव छ भने वीर अस्पतालमा गंगामाया जीवनमरणको दोसाँधमा हुनुहुन्छ। यो दर्दनाक चित्र हेर्दा सबैका आँखा रसाउँछन्। यो घटना नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा दु:खद हुन गयो।
न्यायका लागि अनशनमा बसेका सर्वसाधारण नागरिकको मृत्यु भयो, जुन देशको इज्जत र राज्यको गरिमासँग जोडिएको छ। अधिकारी दम्पतीको आन्तरिक विवाद जेजस्तो रहे पनि उनीहरूको माग जायज हो। किनकि उनको छोरा मारिएकै हुन् र मार्ने माओवादी नै हो। मेरो छोराको हत्यारालाई कारबाही गर भनेर उहाँहरूले राज्यसँग माग राख्नु गल्ती छ? अधिकारी दम्पतीले हिम्मत गरेर युद्धरत दुवै पक्षसँग लडाइँ गरे भने राज्यले उहाँहरूको न्यायका लागि पहल गर्नुपर्ने दायित्व हो। सर्वसाधारण नागरिकले राज्यसँग न्याय माग्ने कि नमाग्ने?
मानवअधिकारको विश्वव्यापी घोषणपत्रमा पक्षराष्ट्र बनेर हाम्रा राष्ट्रप्रमुखहरू अनुमोदन गरेर आउनुहुन्छ तर आफ्ना नागरिक अन्यायमा परेको बेलामा किन पन्छिने गर्छन्? सशस्त्र द्वन्द्वकालमा युद्धरत पक्ष जो १५ हजार नेपाली मारेर सत्तामा पुगेको थियो। त्यही १५ हजारमा अहिले एकजना थपिनुभयो नन्दप्रसाद।
नन्दप्रसादको जीवन सकियो। अब जीवनमरणको दोसाँधमा हुनुहुन्छ नन्दप्रसादकी पत्नी गंगामाया। उनलाई कसरी बचाउने भन्नेतिर सबैको ध्यान जानुपर्छ। कहाँसम्म भने राज्यले उहाँको जीवनरक्षा र न्याय प्रदान गर्नका लागि तत्काल आवश्यक कदम चाल्न जरुरी छ। मानवताका आधारमा गंगामायाको जीवन बचाउनुपर्छ। यो दायित्व राज्य, नागरिक समाज, सर्वसाधारण र सम्बन्धित पक्षको हो।