Home » » हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो

हिमपहिरोमा ज्यान गुमाउनेको संख्या ४० पुग्यो

लमजुङ् : हिउँमा पुरिएर बेपत्ता भएकाको खोजी गर्न नेपाली सेनाको टोली परिचालन गरिएको छ। मनाङको फु र नारमा बेपत्ता भएकाको खोजी गर्न रामबाण गुल्मका सेनानी अमरसिंह थापाको नेतृत्वमा १५ जनाको टोली परिचालन भएको प्रमुख जिल्ला अधिकारी देवेन्द्र लामिछानेले जनाए।

'हिउँमा पुरिएर हराइरहेकाको खोजी गर्न सेनाको थप टोली परिचालन गरिएको छ', उनले भने, 'मृत भेटिएका तीन भारतीय नागरिकको शव झिकेर काठमाडौं पठाइसकेका छौं।' शव भेटिएका तीन भारतीय नागरिकबाहेक फु र नारमा आठजनाले हिउँले पुरिएर ज्यान गुमाएका छन्। बाक्लो हिउँले गर्दा उनीहरूको शव अझै झिक्न सकिएको छैन। शव झिकिएकामा भारतीय नागरिकमा सुनिल सेन, तोथा जना र देवासिं डे रहेका छन्।

फुको बीचमा गएको हिमपहिरोमा पुरिएर शव नभेटिएकामा चार क्यानेडियन ५५ वर्षीय जनेट रोक्स, ५४ वर्षीय सिल्भाई मारोइज, ५९ वर्षीय मोनेल डुराङ र ३३ वर्षीय जेनेभिन अडेट र नारमा नेपाली ४७ वर्षे फुर्वा लामा, ३० वर्षे छो ग्याल्चेन लामा, ३९ वर्षे सोनाम सापाङ घले र भारतीय ३० वर्षे राजा घोस्ट रहेका छन्।

उनीहरूलाई लक्षित गरेर स्थानीय प्रशासनले दुवै क्षेत्रमा हेलिकोप्टर र स्थलगत टोली पठाएर खोजी गरिरहेको छ। पर्वतीय उद्धारमा विज्ञ मानिएका चारजनाको टोलीले पनि उनीहरूको शव खोजी गरिरहेको छ। हिउँमा पुरिएर अहिलेसम्म मुस्ताङमा २४ जना, मनाङमा ११ जना र म्याग्दीमा पाँचजना गरी ४० जनाले ज्यान गुमाइसकेका छन्।

सोमबार बिहान थोराङ पास क्षेत्रमा थप एकजना इजरायली महिलाको शव भेटिएको छ। उनको पहिचान खुले पनि दूतावासको आग्रहमा गोप्य राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। थोराङ क्षेत्रमा उद्धारका लागि गएको नेपाली सेनाको टोलीले हेलिकोप्टरबाट हिउँमा पुरिएको अवस्थामा देखेपछि शव झिकेर सदरमुकाम जोमसोम ल्याइएको थियो।

डोल्पा र मुस्ताङको सीमा क्षेत्र साङटा बेसक्याम्पबाट आइतबार जोमसोम ल्याइएका नौजना नेपालीसहित १० जनाको शव काठमाडौं पठाइएको मुस्ताङका जिल्ला प्रहरीप्रमुख गोविन्दप्रसाद पाठकले बताए।

भारी हिमपातमा परी साङटा बेसक्याम्पमा लाप्पार्दोजे लामा, सोमे लोप्चन, होम्दी लोक्पा, लाङ टिम्बा, कामी स्याङवा, दावा स्याङवा, दावा सेदार स्याङबा, सानुकाजी र आइतराम लामा घिसिङको ज्यान गएको थियो। '१० जनाको शव नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं पठाइएको छ', पाठकले भने, 'थप खोजी कार्यलाई जारी राखेका छौं।'

बागलुङका विष्णुबहादुर बूढामगरबाहेक अन्य सबैको शव काठमाडौं पु:याइएको छ। नेपाली सेनाले थोराङ पास क्षेत्रबाट थप २० जनाको जीवितै उद्धार गरेको छ। उद्धार गरिएकामा तीनजना विदेशी र १७ जना नेपाली रहेका छन्। उनीहरूलाई जोमसोम ल्याइएको छ।

नियमित उद्धार नहुने 
अघिल्ला दिनजसो तीव्रताका साथ मंगलबारदेखि नियमित उद्धारकार्य नहुने मुस्ताङ प्रशासनले जनाएको छ। मुस्ताङबाट अहिलेसम्म एक सय ९० जनाको उद्धार भइसकेको छ। अलपत्र परेका र ज्यान गुमाएकाको बारेमा थप जानकारी नआएको भन्दै प्रशासनले नियमित उद्धारकार्य रोकेको हो।

'अब कतै पनि त्यस्ता अलपत्र र सम्पर्कविहीन अवस्थामा पर्यटक छैनन् भन्‍ने लागेको छ,' जिल्ला प्रशासन कार्यालयका खरिदार रमेश अधिकारीले भने, 'खबर आयो भने मात्र हेलिकोप्टरमार्फत उद्धार गर्नेछौं, नभए पहिलेको जस्तो दैनिक उद्धार हुँदैन।'

अन्‍नपूर्ण पदयात्राका क्रममा हिउँपहिरोमा पुरिएर कति पर्यटक बेपत्ता भएका छन् भनेर सरोकारलवाला कुनै निकायलाई जानकारी छैन। सबै निकायले दिने तथ्यांक फरकफरक छन्। कति पर्यटक अन्नपूर्ण पदयात्रामा थिए भन्नेबारेमा पनि कसैलाई जानकारी छैन।


पैसा मात्र हेरेको आरोप 
ट्रेकिङ एजेन्ट्स एसोसिएसन अफ नेपाल (टान) र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को खुलेरै विरोध गरे। उनीहरूले आफूहरूसँग पैसा मात्रै लिएको र त्यसअनुरूप सुविधा नदिएको पीडित विदेशी पर्यटकले आरोप लगाए।

'टान र एक्याप विदेशी भन्‍नेबित्तिकै पैसा मात्रै देख्छन्', आक्रोशित हुँदै फ्रान्सका पासकलले भने, 'पैसा तिरेअनुरूप पर्यटकले सुविधा पाएका छैनन्।' टानले पर्यटकीय सूचना व्यवस्था शुल्क भनेर प्रतिपर्यटक २० डलर र एक्यापले प्रवेशशुल्क भनेर २० डलर लिने गरेको उनले बताए।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf