Home
»
स्वास्थ्य
»
जाजरकोटमा रुघाखोकी र स्वाइन फ्लु, जनजीवन नै ठप्प
जाजरकोट, वैशाख ५ - महामारीकै रूप लिएको मौसमी रुघाखोकी र स्वाइन फ्लुबाट थप चार बिरामीको मृत्यु हुनुका साथै प्रभावित गाउँहरूमा जनजीवन नै ठप्प भएको छ ।
अर्छानी-२ का ५० वर्षीय वादी टमटा भन्ने बले नेपाली र पजारु-५ की २७ दिनकी शिशु अमृता अधिकारीको शुक्रबार मृत्यु भएको छ । अर्छनी-७ का ५८ वर्षीय हंसबहादुर शाही र पजारु-४ की २६ दिने शिशु रीतु टमटाको बिहीबार मृत्यु भएको थियो । यीसहित रुघाखोकी र स्वाइन फ्लुको संक्रमणले मृत्यु भएकाको संख्या २१ पुगेको छ ।टालेगाउँ, अर्छानी र पजारुमा संक्रमण फैलने क्रम तीव्र छ । 'पुराना ठीक हुने र नयाँ बिरामी पर्ने क्रम जारी छ,' स्थानीय शिक्षक सीताराम गौतमले भने । खेतीपाती भित्र्याउने बेला सबै कुरा ठप्प छ । 'वल्लो टोलबाट पल्लोमा आवतजावतसमेत बन्द भएको छ,' उनले भने, 'स्थानीयमा सन्त्रास छाएको छ ।'पजारु-१ स्याङ्ग्री र नायकवाडा-२ तथा ८ मा बिरामीको संख्या धेरै छ । महामारी फैलिइसक्दा पनि उपचार गर्ने स्वास्थ्यकर्मी आइनपुगेको स्थानीय वीरबहादुर शाहीले बताए । स्वास्थ्यनिकायले रोग नियन्त्रणमा आएको दाबी गरे पनि गाउँमा बिरामीको मृत्यु हुने र रोग फैलिने क्रम रोकिएको छैन । रोग प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी र औषधिको अभाव छ । स्व्ाास्थ्यचौकीहरूमा सिटामोल, जीवनजलबाहेक औषधि छैन । टालेगाउँ, अर्छानी, नायकवाडा, रोकायगाउँ र मजकोटमा यस्तो अवस्था छ । ती गाविसमा १ हजारभन्दा बढी बिरामी छन् । टालेगाउँ, अर्छानी र नायकवाडामा उपचारका लागि गएका १५ स्वास्थ्यकर्मी नै बिरामी परेका छन् । त्यस्तै, पैंक स्वास्थ्य चौकीका अहेव रामचन्द्र गिरी नै बिरामी परेपछि टेकु अस्पताल काठमाडौं रिफर गरिएको छ । टेकु अस्पतालमा उनको उपचारमा लापरबाही भएको दाजु तुलारामले बताए ।'भाइलाई १ सय ४ डिग्री ज्वरो आएको छ । तर अस्पतालले वास्ता गरेको छैन,' उनले भने । त्यस्तै पैंकमा खटिएका डा. दीपक पुन बिरामी भएपछि डा. विभान्त साहलाई त्यहाँ पठाइएको अस्पतालका स्रोतव्यक्ति कृष्ण खत्रीले बताए । सक्ला गाविसमा खटिएका डा. गुणनिधि शर्मालाई पनि बिसञ्चो छ । तर उनको बदली गर्ने डाक्टर छैनन् । फिल्डमा खटिएका चिकित्सक बिरामी पर्ने र थप जनशक्ति उपलब्ध नहुँदा समस्या भएको खत्रीले बताए ।रोग प्रभावित क्षेत्रमा शुक्रबारसम्म ३ हजार जनाको उपचार भएको जिल्ला स्वास्थ्यले जनाएको छ । पैंकमा जिल्ला अस्पतालका डा. पुन र साहले १ हजार ४, सक्लामा विश्व स्वास्थ्य संगठनका डा. शर्माले २ सय ५० जनाको उपचार गरेका छन् ।पजारुमा पाटन अस्पतालका डा. पनिलमान सिंह प्रधानले ४ सय, टालेगाउँमा नेपाली सेनाका डा. प्रणय कार्कीले ६ सय, अर्छानीमा चौरजहारी सामुदायिक अस्पतालका डा. सुमन राईले ३ सय र नायकवाडामा सयको उपचार भएको स्रोतव्यक्ति खत्रीले बताए । प्रभावित क्षेत्रमा बाहिरबाट आएका दुई दर्जन स्वास्थ्यकर्मी खटिएका छन् । स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी पनि खटिरहेका छन् । 'प्रकोप फैलिएको सबै गाविसमा चिकित्सकसहितको टोली पठाउन सके रोग नियन्त्रणमा आउँथ्यो होला । न्यून जनशक्तिले एकातिर नियन्त्रण गर्यो अर्कोतिर फैलिएको खबर आउँछ,' उनले भने ।उता, बजेट अभाव देखाउँदै जिल्ला जनस्वास्थ्य कार्यालयले थप चिकित्सक र औषधिको व्यवस्था गर्न नसक्ने जनाएको छ । 'जिल्लामा बजेट छैन । आएका स्वास्थ्यकर्मीको खर्च कसरी व्यवस्थापन गर्ने भन्ने समस्या छ,' जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाहले भने, 'विपत व्यवस्थापनका लागि १ लाख ५० हजार मात्र बजेट छ । त्यो खर्च भइसकेको अवस्था छ । थप बजेटको व्यवस्था भएको छैन । रोग प्रभावित क्षेत्रमा औषधि ढुवानी र जनशक्ति आवतजावत खर्च कसरी धान्ने ?' आगन्तुकको स्वास्थ्य परीक्षणका लागि छेडाचौर, थलहबजार, दल्ली र शान्ति चौतारामा हेल्प डेस्क स्थापना गरेको प्रमुख शाहले बताए ।