स्वाईन फ्लुका कारण बिरामी पर्नुभएका नेकपा एमालेका नेता रामनाथ ढकालको निधन भएको छ । ढकालको उपचारका क्रममा काठमाडौंको ग्राण्डी अस्पतालमा आइतबार निधन भएको नेकपा एमालेले पुष्टि गरेको छ । स्वाईन फ्लुले संक्रमित भएपछि ढकालको एक हप्तादेखि ग्राण्डी अस्पतालमा उपचार भइरहेको थियो ।
ढकालको पार्थिव शरीरलाई श्रदाञ्जलीका लागि सोमबार बिहान एमाले कार्यालय बल्खुमा राखिने र सोमबार नै दिउँसो अन्त्येष्टि गरिने एमालेले जनाएको छ । उहाँ गएको संविधानसभा चुनावमा रुपन्देही क्षेत्र नम्बर ५ बाट संविधानसभाको उम्मेदवार हुनुहुन्थ्यो ।
वि.सं.२०१९ पुष ५ गते खड्गकोट ३ गुल्मीमा जन्मीनुभएका ढकालले कानूनमा स्नातक गर्नुभएको थियो । २०३६ सालमा तत्कालिन नेकपा मालेको बिद्यार्थी संगठन मार्फत राजनीति सुरु गरेका ढकाल अनेरास्ववियूको महासचिव हुँदै २०५० सालमा अध्यक्ष हुनुभएको थियो ।
नेकपा एमालेको लुम्बिनी अञ्चल ईञ्चार्ज भएर काम गर्नुभएका ढकाल केन्द्रीय सदस्य समेत हुनुभएको थियो । तर नेकपा एमालेको बुटवलमा सम्पन्न आठौं महाधिवेशनमा पार्टीमा गुटबन्दी अन्त्य गर्ने भन्दै चुनाव भने लड्नु भएको थिएन ।