Home
»
नेपाल खबर
»
स्थिति सामान्य बन्दै गएकाले पसल खुला राखेर सहयोग गर्न गृहमन्त्रालयको आग्रह

काठमाडौं, वैशाख १४ – शनिबार गएको महाभूकम्पपछि आज तेस्रो दिन भूकम्पका झट्काहरु आउने क्रम कम भएको छ । विस्तारै राजधानीको जनजीवन सामान्य बन्दै गएको छ । यद्यपि, महाविपत्तलाई भोगेका सर्वसाधारणमा त्रास भने अझै बाँकी रहेको छ । यसैबीच गृहमन्त्रालयले आज प्रेस विज्ञप्ति जारी गर्दै स्थिति सामान्य बन्दै गएको उल्लेख गर्दै पसलहरु खुला राखी दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज गरिदिन, यातायात व्यवस्था संचालन गरिदिन र आ आफ्नो सेवा, व्यवसाय सुचारु गरिदिनई जनजीवनलाई सामान्य बनाउने कार्यक्रमा सबैले सकारात्मक सहयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले खानेपानीको प्रयोग उमालेर मात्र गर्ने सडेगलेका चिजवस्तुहरुको व्यवस्थापन गरी वातावरण स्वच्छ बनाइराख्न पनि आग्रह गरेको छ । यता, ह्वाटस्एप र फेसबुकजस्ता समाजिक सञ्जालमा भूकम्पलाई लिएर अनावश्यक हल्ला र समाचार संप्रेशण गर्ने काम जारी रहेको छ । फेसबुक र ह्वाटस्एपमा पोस्ट गरिएको विभिन्न समाचार र मेसेजमा ७.८ रेक्टर स्कलेलपछि अझै ठूलो भूकम्प जाने कुरा उल्लेख गरिएको छ । यस्ता, समाचारले सर्वसाधारणमा त्रास फैलाउने काम गरिरहेको छ । यद्यपि, विशेषज्ञहरुले भने भूकम्पको पूर्वानुमान गर्न नसिकने बताएका छन् । सामाजिक सञ्जालमा यतिबेला नासा र सिएनएनलाई उद्धृत गर्दै ८.२ रेक्टर स्केलको भुकम्प जाने खबरले चर्चा पाएको छ । नेपालमा मात्र नभएर भारतमा समेत यस्तै हल्ला फैलिएको भारतीय मिडियाहरुले जनाएका छन् । यता, गृहमन्त्रालयले पनि विज्ञप्ति जारी गर्दै त्यस्ता अनावश्यक हल्लाको पछि नलाग्न आग्रह गरेको छ । साथै त्यस्ता गलत समाचार सम्प्रेषण गर्नेलाई कारवाही समेत गर्ने चेतावनी दिएको छ ।