काठमाडौं, वैशाख १६ – ८० घण्टापछि काठमाडौंको गंगबुमा रहेको सयपत्री गेस्ट हाउसबाट उद्धार गरिएका युवकले आफ्नै पिसाब समेत पिएर बस्नु परेको बताएका छन् । मंगलबार राती करीव सवा दश बजे सशस्त्र प्रहरी बलको सर्च एण्ड रेस्क्यु टोली र फ्रान्सको उद्धार टोलीले जिवितै उद्धार गरेका २७ वर्षीय ऋषि खनालले अस्पतालको शैयाबाट सञ्चारकर्मीहरुसँग कुरा गर्दै सो कुरा खुलासा गरेका हुन् ।
खनालका अनुसार शनिबार खाना खाएर होटलको दोस्रो तल्ला चढ्ने बित्तिकै उनी विनाशकारी भूकम्पको चपेटामा परेका थिए । भूकम्पले भवन ढलेपछि उनको खुट्टामाथि भगनावशेष खसेको थियो र उनी त्यहीँ च्यापिएका थिए । ‘च्यापिएपनि मलाई कसैले उद्धार गर्ने आशा थियो, तर हिजो मैले हरेस खाइसकेको थिएँ,’ उनले भने ।
‘मेरो नङ सेतो भइसकेको थियो, ओँठ पनि सुकिसकेको थियो, खनालले भने, ‘मलाई उद्धार गर्न अब कोही आउँला जस्तो लागेन । म अब मर्छु होला भन्ने लाग्यो ।’
खनालको वरिपरि अन्यको शव त्यतिकै थियो र ८० घण्टासम्म ती शव गनाउन थालिसकेको थियो । उनी भने भवनको भगनावशेषमा हिर्काउँदै गुहार मागिरहेका थिए । भाग्यवस फ्रान्सको उद्धार टोली त्यहाँ आइपुग्यो र उनको उद्धार सफल बन्यो । ‘नत्र म च्यापिएको ठाउँ मेरो चिहान बन्न सक्थ्यो,’ उनले भने ।
मैले केही खान पाएको थिइँन, त्यही भएर आफ्नै पिसाब पनि पिएँ, खनालले भने ।
दोस्रो जीवनमा पाएकोमा उनले खुसी व्यक्त गरे । त्यसपछि उनलाई अपरेशनको लागि लगियो । त्यहाँ उनको परिवारको पनि उपस्थिति थियो ।