Home » » गोरखाका भूकम्प पीडितले भनेउ 'नुन पाए सिस्नुको मुन्टा त खान पाइन्थ्यो'

गोरखाका भूकम्प पीडितले भनेउ 'नुन पाए सिस्नुको मुन्टा त खान पाइन्थ्यो'

गोरखा : उत्तरी गोरखाका भूकम्प पीडितले खाने नुन समेत पाएका छैनन्। भूकम्पबाट बढी प्रभावित उत्तरी गोरखाका केरौंजा, कासीगाउँ गाविसमा खाने नुन को अभाव भएको स्थानीयले गुनासो गरेका छन्।
 
जिल्ला दैवीप्रकोप उद्धार समितिले ६० गाविस र दुई नगरपालिकाको सबै घरधुरीमा पहिलो चरणको राहत सामग्री वितरण गरेको दाबी गरे पनि उत्तरी गोरखामा खाने नुन को अभाव देखिएको हो। 
 
चरम अभाव भएपछि स्थानीयवासी नुन माग्दै सदरमुकाम आएका छन्।'हेलिकोप्टर आउँछ भनेर दिनभर गाउँले आकाशतिर हेरिरहन्छन्,' तीन दिनको पैदल हिँडेर सदरमुकाम आइपुगेका लाप्राकका लालबहादुर गुरुङले भने, 'गाउँमा राहत पुगेकै छैन। 
 
चार दिनदेखि अलिनो खाएर गाउँले बाँचेका छन्।' सदरमुकाममा राहत सामग्री थुप्रिएको तर गाउँमा भूकम्प पीडित भोकभोकै बस्नुपरेको उनको गुनासो छ।
 
'त्रिपाल चाँहिएन बरु रूखमुनि बसौंला,' लाप्राकका मंगल गुरुङले भने, 'जंगलमा सिस्नो प्रशस्त छ। नुन पाए सिस्नोको मुन्टा टिपेर खान पाइन्थ्यो।'
 
चार दिनदेखि गाउँलेले अलिनो सिस्नु खाँदै आएको उनको भनाइ छ। 'गाउँमा पसल घर एउटै बाँकी रहेनन्। घर सबै ध्वस्त भयो।
 
सग्लो घर एउटै छैन,' उनी भन्छन्, 'नुन किन्न तीन दिन लगाएर आरुघाट झर्ने बाटो छैन।' गाउँदेखि आरुघाटबजार झर्ने बाटोका विभिन्न ठाउँमा पहाडको ढिस्को झरेर गोरेटो, घोरेटो बाटो अवरुद्ध छ।
 
केरौंजा गाविसको ७, ८ र ९ वडामा खाने नुन को अभाव भएको हो। गाउँको हुल्चुकदेखि दोभानसम्मका क्षेत्रमा रहेका भूकप पीडितले नुन खान नपाएको इच्छा निमावि केरौंजाका प्रअ विजयराज सापकोटाले जानकारी दिए।
 
'घरबार गुमाएका गाउँलेले नुन पनि खान पाएनन्', प्रअ सापकोटाले भने, 'भूकम्पबाट घाइते भएकालाई उद्धार गर्न एक हप्ताअघि केरौंजाको धुन्चेतमा हेलिकोप्टर गएको थियो।'
 
धुन्चेदेखि हुल्चोक पुग्न एक दिन लाग्छ। केरौंजाको दोभान क्षेत्रमा पनि हेलिकोप्टरले विदेशी पर्यटकलाई उद्धार गरेको थियो। चिउरा, चाउचाउलगायतको राहत सामग्री झारेर घाइते बोकेर उक्त हेलिकोप्टर सदरमुकाम आएको गाउँलेले जनाएका छन्।
 
'सबैले मोटरबाटो पुगेका ठाउँमा मात्रै राहत सामग्री बाँडेको देख्यौं' प्रअ सापकोटाले भने, 'कोही नुन खान नपाउने, कसैलाई दोहो:याई, तेह्र्रराई राहत सामग्री बाँड्ने यो कस्तो नियम?' गाउँमा नुन पुर्‍याउन सकिए गाउँलेले खोले खाएर बाँच्ने सापकोटाले
बताए।
'नुनको खोजीमा गाउँलेले भत्किएको घरको भगनावशेष पनि खोतलेका छन्', उनी भन्छन्, 'माटोमा परेको नुन पग्लिएर सकिने रहेछ।'
 
 गाउँमा नुन पुर्‍याउन स्थानीय विकास अधिकारी प्रेमराज गिरी, प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमेल्सेना र गाविससचिव धुव्रराज पराजुलीलाई धेरै पटक अनुरोध गर्दा पनि गाउँमा नुन पठाउन नसकिएको सापकोटाको भनाइ छ।
 
केरौंजा, कासीगाउँ, सिर्दिबास, बिही, ल्हो, प्रोक, छेकम्पार र सामागाउँ क्षेत्रमा पनि खाने नुनको अभाव देखिएको छ। आरुघाट बजारबाट उत्तरी गोरखा आवतजावत गर्ने बाटो महाभूकम्पपछिको पहिरोले अवरुद्ध भएपछि सामान ढुवानी ठप्प छ। 
 
मोटरबाटोको पहुँच नभएको उत्तरी गोरखामा यातायातको एक मात्र साधन खच्चड थियो। सामान बोकेका सयौं संख्याका खच्चड पनि पहिरोमा परी मरेकाले ढुवानीमा समस्या भएको छ।
 
गोरखाका प्रमुख जिल्ला अधिकारी तिमेल्सेनाले पहिरोले अवरुद्ध बनाएको उत्तरी भेगतर्फ जाने बाटो खोल्न नेपाली सेना परिचालन गरिएको बताए। हेलिकोप्टरको अपर्याप्तताले गर्दा राहत सामग्री ढुवानीमा समस्या भएको प्रजिअको भनाइ छ।
 
यसैबीच जिल्ला प्रशासन कार्यालय गोरखाले सोमबार हेलिकोप्टर माग गर्दै गृह मन्त्रालयमा पत्र पठाएको जनाएको छ।

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf