माघ २०, २०७२- अन्यत्र लोडसेडिङले जनजीवन आक्रान्त छ । तर, सिंगो मुस्ताङ भने यो समस्याबाट अलग छ । बिजुली जाँदैन, स्थानीय उत्पादनले सबैतिर झिलिमिली छ ।
‘खै कहिल्यै बिजुली गएको थाहा छैन,’ स्थानीय गौरी थकालीले भनिन्, ‘कहिलेकाहीं गए नि एकैछिनमा आइहाल्छ ।’ यहाँ लोडसेडिङ कहिल्यै नभएको उनले बताइन् । चोखोपानी खोलाको जोमसोम साना जलविद्युत्बाट २ सय ४० किलोवाट, उपल्लो मुस्ताङमा चीन सरकारबाट सय किलोवाट, माइक्रो हाइड्रोबाट ५० किलोवाट र राष्ट्रिय प्रसारण लाइनबाट १ दशमलव २ मेगावाट बिजुली प्रयोगमा छ ।
‘स्थानीयकै पहलमा लोडसेडिङ नगर्ने गरी व्यवस्थापन गरेका छौं,’ जोमसोम विद्युत् कार्यालयका प्रमुख सनप्रसाद थकालीले भने, ‘राष्ट्रिय प्रसारणबाट विद्युत् बन्द हुँदा यहाँको आयोजनाबाट सुचारु भइहाल्छ ।’ लोडसेडिङ हुनै नदिन खपत, क्षमता र उत्पादनलाई ध्यान दिइएको उनले बताए । प्राविधिक गडबडमा बाहेक अन्य कारणले विद्युत् कटौती नभएको उनले दाबी गरे ।
थकालीका अनुसार बर्सेनि नयाँ साना जलविद्युत् योजना थप्ने गरेकाले यो जिल्लामा बिजुलीको समस्या नभएको हो । अन्यत्र जस्तो सरकारको मात्र भर पर्ने चलन यहाँ छैन । १६ गाविस भएको जिल्लाभर बिजुली बाँडफाँडको तालिका बनाइएको छ ।
कोवाङ, टुकुचे, मार्फा, जोमसोम, मुक्तिनाथ, झोङ, कागबेनी र झुसाङ साना जलविद्युत् केन्द्रले जिम्मा लिएको छ । तल्लो भागका लेते र कुन्जु गाविसलाई बिजुली वितरण राष्ट्रिय प्रसारण लाइनअन्तर्गत नेपाल विद्युत् प्राधिकरणको जिम्मा छ ।
उपल्लो मुस्ताङका गाविसलाई चीन सरकारले बनाइदिएको योजनाले समेटेको हो ।
०६८ सालको जनगणनाअनुसार जिल्लामा ३ हजार ३ सय ५४ घरधुरी छन् । केही गाविसका एकान्तमा भएका घरहरूमा बिजुलीको सुविधा अझै पुग्न सकेको छैन ।
‘एक्लो घरमा विद्युत् विस्तार गर्न खर्चिलो भएकाले केही घरहरूमा लाइन दिन सकेका छैनौ,’ प्रमुख थकालीले भने, ‘भ्याएसम्म सबै घरमा पुर्याउने प्रयासमा छौं ।’ २/४ वटा घर मात्र भएको स्थानमा पनि लाइन बिस्तार गरिएको उनले बताए ।
पानीको बहाव कम हुँदा साना जलविद्युत्बाट १ सय ५० किलोवाट मात्र उत्पादन हुन्छ । यस्तो बेला यहाँ कम भोल्टेजको विद्युत् प्रवाह हुनेगर्छ । तर, विद्युत् पुरै बन्द भने हुँदैन ।
यसलाई पूर्ति गर्न चराङमा १२ दशमलव ८ किलोवाट र मराङमा ८ किलोवाट विद्युत् निकाल्ने तयारी भइरहेको छ ।
यो आयोजना सकिएपछि कम भोल्टेजको समस्या टर्ने गाउँलेले बताए ।
यो आयोजना सकिएपछि कम भोल्टेजको समस्या टर्ने गाउँलेले बताए ।
यसका लागि काम सुरु भइसकेको विद्युत् कार्यालयको भनाइ छ । सदरमुकाम जोमसोम, कागबेनी र मुक्तिनाथ क्षेत्रमा विद्युत् बाँडफाँड चुस्त पारिएको छ ।