
सदरमुकाम परासीमा रहेको खानेपानी तथा सरसफाइ समितिबाट वितरित पानी अपुग भएपछि उनीहरू चापाकलबाट आउने बालुवा मिसिएको धमिलो पानी पिउन बाध्य भएका हुन्। समितिले साँझबिहान गरी डेढ घन्टाका दरले पिउने पानी वितरण गरे पनि धेरै जनशक्ति भएकाले पानी अपुग हुँदा स्वच्छ खानेपानीबाट वञ्चित हुन परेको जिल्ला प्रहरी प्रमुख एसपी विष्णुहरि गौतमले बताए।
'चापाकलबाट आउने पानी स्वास्थ्यलाई प्रतिकूल असर पर्ने खालको मात्र छैन, लुगा धुँदासमेत रङ नै बिग्रने गरेको छ', एसपी गौतमले भने। कार्यालयमा ६५ जना प्रहरी छन्। पानीका लागि कार्यालयभित्र तीनवटा चापाकल गाडिएका छन्।
समितिले वितरण गर्ने पानी कार्यालय प्रमुख र अधिकृतको क्वार्टरलाई मात्र पुग्छ। पानी नपुगेपछि आफूहरू अस्वस्थ पानी पिउन बाध्य भएको एक जवानले बताए। उनले भने, 'हाकिमले त जारको पानी किनेर खान्छन्। मेसमा खाने हामी चापाकलको पानी खानुबाहेक अरू विकल्प छैन।' पानीको व्यवस्थाका लागि खानेपानी डिभिजन कार्यालयसँग अनुरोध गरिएको एसपी गौतमले बताए।