
वैदेशिक रोजगारीका लागि विदेश जानुभन्दा स्वदेशमै कृषि कर्म गर्ने मनसाकायसाथ स्थानीय युवाहरुले श्रीकाङ्गबेसी कृषि बिउ उत्पादक समूहको स्थापना गरी सामुहिक उत्पादनबाट लाखौँको आम्दानी लिन सफल भएका हुन् ।

वैदेशिक रोजगारीका लागि विदेश गएका युवा र स्थानीय युवाहरुले समूह बनाएर सामुहिक खेती सुरु गरेका थिए । हाल उनीहरुले विभिन्न समयमा मौसमी तथा बेमौसमी तरकारी तथा तरकारीका बिउ उत्पादन गरेर गतिलो आम्दानी गरिरहेका छन् ।
उनीहरुको समुहले वर्षा र हिउँदको समयमा फरकफरक मौसमी तरकारी तथा विउ उत्पादन गरिरहेका छन् । वषातमा गोलभेँडा, काँक्रो तथा हिउँदमा मुला, सिलो केराउ, घिउसिमी लगायतका बिउको उत्पादन समूहले गरिरहेको छ ।
युवाहरुलाई प्रोत्साहन गर्नका लागि जिल्ला कृषि विकास कार्यालयले पानी रोक्नका लागि टार्ट तथा प्लाष्टिकको स्प्रे अनुदानस्वरुप दिएको छ । उत्पादित बिउ सिड नेपाल तथा काठमाण्डौ निर्यात गरिने समूहले जनाएको छ ।