भक्तपुर, वैशाख २४ - बलिउड स्टार अक्षय कुमारको आगमनले यतिबेला राजधानी तातिरहेको छ । नीरज पाण्डे निर्देशित फिल्म 'बेबी'को छायांकनका लागि गत शुक्रबार दिउँसो विमान चार्टर्ड गरेर त्रिभुवन विमानस्थल ओर्लेका अक्षय त्यसयता लगातर सुटिङमा व्यस्त छन् । सोमबार ठमेलको मण्डला स्टि्रटमा सम्पुर्ण आवागमन रोकेर छायांकन गरिएको यो फिल्मको युनिट भक्तपुर दरबार स्क्वायरमा मंगलबार बिहान ६ बजे नै पुगेको थियो । व्यक्तिगत सुरक्षा गार्ड, प्राइभेट सुरक्षा कम्पनी जिफोर्स र नेपाल प्रहरीको सुरक्षा घेराका साथ सात बजे भक्तपुर पुगेका अक्षय कुमार हेर्न सर्वसाधारणको ठूलो घुइँचो लागेको थियो ।
निर्देशक नीरजले भारतीय सञ्चारमाध्यममा यो फिल्मलाई 'अनटाइटिल्ड प्रोजेक्ट' बताए पनि सुटिङको क्ल्याप बोर्डमा भने फिल्मको नाम 'बेबी' लेखिएको थियो । चलचित्र विकास बोर्डमा सुटिङका लागि आवश्यक सामग्रीको भन्सार छुटका लागि दर्ता गरिएको निवेदनमा भने फिल्मको नाम 'वसन्ती' उल्लेख गरिएको बोर्डका अध्यक्ष धर्मेन्द्र मरवैताले बताएका छन् । फिल्ममा अक्षय भागेर काठमाडौं आएपछि पछयाउँदै नायिका तापशी पन्नु र सुशान्त सिंह पनि आइपुग्छन् । भक्तपुर दरबार स्क्वायरमा यी तीनजना बीचको लुकामारी खिचिएको थियो । परिवेशलाई मौलिक नेपालीपन दिन निकै मिहिनेत गरिएको देखिन्थ्यो ।
पासिङ सर्टहरूमा नेवारी परम्परागत बाँसुरीवादकहरूको कोरस, तीन दर्जन कलाकार सहभागी नवदुर्गा नृत्य, माटोको भाँडो बनाउने समुदाय र तीनवटा ठूला काठको परम्परागत चक्र र फुटपाथ पसलहरू समेत प्रयोग गरिएको थियो । भक्तपुर टौमडीमा तापशी र सुशान्त अक्षय कुमारलाई खोज्दै हिँडेको दृश्यमा प्रयुक्त यो सांस्कृतिक परिवेश नेपाली मौलिकता प्रवर्द्धन हुने खालको थियो । पर्यटकीय थलोको चिनारी दिन यो दृश्यमा गोराहरूको चहलपहललाई पनि देखाइएको थियो ।
यो सबै छायांकन भइरहेको बेला अक्षय कुमार भने पाँचतले मन्दिरको सबैभन्दा माथिल्लो पेटीमा सुरक्षाकर्मीहरूबीच घेरिएर रहेका थिए । उनी घरी घरी तलतिर जम्मा भएका दर्शक भीडलाई हात हल्लाएर अभिवादन गर्थे, घरी मोबाइल खेल्थे । दिक्क लागेपछि छेउतिर गएर भित्तामा टाँसिन्थे र फेरि मोबाइलमा गेम खेलिरहन्थे । निर्देशक नीरजचाहिँ माइकमा निर्देशन दिँदै तापशी र सुमनलाई खिचिरहेका थिए । झन्डै पौने एक बजेतिर सुरक्षाकर्मीका साथ अक्षय कुमार तल झरे । उनी भीडलाई हात हल्लाउँदै पश्चिम-दक्षिणतिर रहेको भादगाउँ गेस्ट हाउसभित्र पसे । उनलाई पछयाउने तन्नेरी फ्यानहरू भने कापी बोकेर गेस्ट हाउसको ढोकामा जम्मा भए ।
लामो समय कुरे पनि अक्षय बाहिरिएनन् । बरु उनी गेस्ट हाउसको कौसीमा देखिए । त्यहाँबाट उनले फेरि हात हल्लाए, नमस्कार गरे । यसो गर्दा उनले एउटा हात उचालेर बरन्डा बाहिरसम्म ल्याए । त्यसपछि भित्र पसेका अक्षयलाई कुर्दै तल ढोकाको वरिपरि फ्यानहरूको उस्तै भीड जम्यो । यतिन्जेल सुटिङ युनिट भने टौमडीबाट दरबार स्क्वायरतिर उक्लिसकेको थियो । ढोकामा जम्मा भएको भीडको आँखा छली अक्षय भने सुटुक्क पछाडितिरको चोरबाटोबाट दरबार स्क्वायर पुगिसकेका थिए ।
यहाँ अक्षयले आफूलाई खोज्दै आएका तापशी र सुशान्तबाट बच्न मन्दिरको आडमा छेलिएर बसेको र उनीहरू पास भइसकेपछि स्वयं पछिपछि लुक्दै अघि बढेको दृश्य छायांकन गर्नु थियो । धेरैपटक टेक लिएपछि यो दृश्य सकियो । दर्शकहरू अटोग्राफ लिन आतुर नै थिए, तर अवसर भने पाउन सकेनन् । अक्षय भने सुटिङ प्याकअप हुनुअघि नै काठमाडौं बौद्धस्थित होटल ह्याततिर सोझिसकेका थिए । अहिलेसम्ममा ठिमी, चोभार, ठमेलमा सुटिङ सम्पन्न भइसकेको छ भने बुधबार बिहानैदेखि होटल ह्यातमै हुने बताइएको छ । त्रिभुवन विमानस्थल परिसरमा हुने सुटिङ भने विवादका कारण स्थगित हुन सक्ने बताइएको छ ।
'नेपालमा विदेशी फिल्मको सुटिङ हुनु पर्यटन प्रवर्द्धनको लागि निकै राम्रो कुरा हो,' सुटिङ युनिटमा सम्बद्ध आरके पोखरेलले दाबी गरे, 'तर, विमानस्थलमा आगन्तुकलाई हुने दुव्र्यवहार छायांकन हुने जुन हल्ला गरियो, यो निराधार छ । फिल्ममा यस्ता कुनै पनि दृश्य हुनेछैनन्