Home » » अपहृत छात्राको भिडियो सार्वजनिक

अपहृत छात्राको भिडियो सार्वजनिक

नाइजेरिया : इस्लामवादी संगठन बोको हरामले आफूद्वारा अपहृत स्कुले छात्राहरूको भिडियो सार्वजनिक गरेको छ। स्थानीय भाषामा 'पश्चिमा शिक्षा प्रतिबन्धित छ' भन्ने अर्थ रहेको बोको हरामले गत महिना आवासीय स्कुलबाट ती छात्रालाई अपहरण गरेको थियो। भिडियोमा बोको हराम समूहका नेता अबुबाकर सेकउले आफ्ना लडाकुलाई नछाडेसम्म अपहृत स्कुले छात्राहरूलाई नछाड्ने चेतावनी दिएका छन्।

छात्राहरूलाई इस्लामवादी बनाउने दाबी पनि उनको भिडियो सन्देशमा गरिएको छ। समाचार एजेन्सी एएफपीमार्फत भिडियो सन्देश सोमबार सार्वजनिक भएको हो। भिडियो सन्देशमा स्कुले छात्राहरूले प्रार्थना गरिरहेका देखाइएको छ।

१७ मिनेट लामो उक्त भिडियोमा तीनजना छात्राले बोलेको देखाएको छ। भिडियोमा देखाइएअनुसार छात्राहरूले बुर्का लगाएका छन्। बोल्नेमध्येका दुईजना छात्राले आफूहरू क्रिस्चियन भए पनि मुस्लिम बनाउन खोजिएको बताएका छन्। एक छात्राले आफू भने मुस्लिम नै रहेको बताएकी छन्। अपहरणकारीले अहिलेसम्म आफूहरूलाई कुनै हानि नपु:याएको छात्राहरूले बताएका छन्।

सेनालाई अपहरणस्थल बारे जानकारी

बोर्नाे राज्यका गभर्नरले इस्लामवादी संगठन बोको हरामद्वारा अपहृत दुई सय स्कुले छात्रालाई राखेको ठाउँबारे आफूलाई सूचना प्राप्त भएको बताएका छन्।

गभर्नर कासिम सेटिमाले अपहरणस्थल बारे सेनालाई अवगत गराएको जानकारी दिएका हुन्। उनले अपहृत छात्रालाई सीमापारी छिमेकी चाद वा क्यामरुन लगिएको जस्तो नलागेको उल्लेख गरेका छन्। गभर्नर सेटिमाले भने, 'हामीले उनीहरू कुनै स्थानमा देखा परेको खबर पाएका छौं। त्यसको जाँच र पुष्टि गर्दै थप सूचना जुटाएर बन्धक बनाइएका हाम्रा छोरीहरू राखिएको वास्तविक ठाउँ पत्ता लगाउन भनेर सम्बन्धित सैनिक निकायलाई त्यो सूचना उपलब्ध गराइसकेका छौं।'

स्थानीय भाषामा 'पश्चिमा शिक्षा प्रतिबन्धित छ' भन्ने अर्थ रहेको बोको हरामले गत महिना स्कुलबाट ती छात्रालाई अपहरण गरेको थियो। अपहरण गरेको कुरा स्वीकार गर्दै उक्त संगठनले ती छात्रालाई स्कुलमा राख्नुको साटो उनीहरूको बिहे गरिदिनुपर्ने बताएको छ। उसका एकजना कमान्डरले दासीको रूपमा उनीलाई बेच्ने चेतावनी दिएका थिए। अपहृत छात्राहरू केही मुस्लिमसहित अधिकांश इसाई धर्मावलम्बी रहेका बताइएको छ।

ती छात्राहरू अपहृत ठाउँ चिबोकमा दुबै धर्मावलम्बीको एउटा सानो समुदायको बसोवास छ। नाइजेरियाका राष्ट्रपति गुडलक जोनाथनको आग्रहपछि छात्राहरूको खोजीमा अमेरिका, बेलायत र फ्रान्सले आफ्ना विज्ञहरूको टोली पठाएका छन्। बोको हराम नाइजेरिया सरकारविरुद्धको हिंसात्मक अभियानमा सन् २००९ देखि लागेको हो। हिंसा र सुरक्षा कारबाहीमा यस वर्षमात्रै कम्तीमा १२ मानिस मारिएका छन्।



Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf