२३ बैशाख, काठमाडौं । चलचित्र बसन्तीको छायांकनका लागि नेपाल आएका बलिउडका सुपरस्टार अक्षय कुमार यतिबेला काठमाण्डौमै छन् । काठमाण्डौको ठमेल लगायत केही स्थानका साथै त्रिभुवन विमानस्थलमा सिनेमा छायांकन गर्ने योजनाका साथ बसन्ती यूनिट नेपाल आएको थियो ।तर, त्रिभुवन विमानस्थलको दुरावस्था चलचित्रमा देखाउन लागिएको खबर अनलाइनखबरले सार्वजनिक गरेपछि विमानस्थल प्रशासनले उक्त सिनेमाको सुटिङमा रोक लगाएको छ ।
नेपालको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको नराम्रो छ भनी सिनेमामा देखाउन लागिएको खबर अनलाइनखबरले आइतबार सार्वजनिक गरेको थियो । खबर सार्वजनिकसँगै अब विमानस्थलमा सिनेमाको छायांकनमा रोक लगाइएको छ ।
विमानस्थल प्रशासनले सोमबार तत्कालका लागि सिनेमाको छायांकन विमानस्थलमा गर्न नदिने निर्णय गरेको प्रहरी नायव महानिरीक्षक यादव अधिकारीले अनलाइनखबरलाई बताए । पछिल्ला दिनहरुमा प्रक्रिया पुरर्याएर आएमा सोच्न सकिने तर तत्कालका लागि त्यहाँ शुटिङ गर्न नदिने निर्णय भएको उनले जानकारी दिए ।
निरज पाण्डेले निर्देशन गरिरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि सहायकको रुपमा काम गरिरहेका छन् । नायक अक्षय कुमार काठमाण्डौको हायात होटलमा बसेका छन् ।