Home » » १७ दिनदेखि कन्दमूलको भर

१७ दिनदेखि कन्दमूलको भर

fruits

भार्ता (मकवानपुर), जेष्ठ ५ - सरकारले बनाइदिएको घरमा ५ महिना अघि सरेका ९९ वर्षे जयपती चेपाङको पेटमा अन्न नपरेको १७ दिन भो । उनी जलुको र गिट्ठा खाएर प्राण धानिरहेछन् । पानी नपरेर भीरपाखा सुख्खा र उजाड हुँदा कन्दमूल पनि पाइन छाडेको उनले बताए ।
विगतमा छिमेकीसँग पीठो मागेर छाक टार्थे । तर गाउँमा खाद्यान्न संकट भएपछि उनले अन्न देख्न पाएका छैनन् । भार्ता ४ सिलौतीका यी वृद्धलाई तत्कालीन प्रजिअ एकनारायण अर्यालको पहलमा गत माघ १४ गते ओडारबाट घरमा सारिएको थियो ।
छिमेकी सोमबहादुर चेपाङका घरमा पनि अन्न छैन । गिट्ठाकै भरमा टरिरहेछ छाक । जेठा छोरा जोगबहादुर काम खोज्न निस्केको साता बित्यो तर फर्केका छैनन् । उनी र्फकंदा मकैको पीठो ल्याउने आस परिवारको छ ।
हेटौंडा-नारायणगढ खण्डको मनहरि बजारबाट ५ घन्टा हिँडेर पुगिने भार्ता ज्वारीकी माइली चेपाङका ४ बच्चा छन् । अन्नसित भेट नभएको उनीहरूको पनि ४ दिन भो । यिनीहरू पनि गिट्ठा र भ्याकुरकै भरमा छन् । चार छोरा र पति भाइचा शुक्रबार बिहान कन्दमूल खोज्न गएका थिए । घरमा रहेका २ छोरा नांगै थिए । काखे बच्चा आमाको दूध चुस्दै थिए । ३० वर्ष लाग्दै गरेकी माइलीले १२ सन्तान जन्माइसकेको बताइन् । तीमध्ये ४ जनाले भोकमरी र कुपोषणले ज्यान गुमाए । माइली पनि टाउको, छाती र हातगोडा दुख्ने रोगले पीडित छन् । 'मकै फलेपछि अन्न पेटमा पर्छ, नत्र गिट्ठा भ्याकुर हो', उनले भनिन् ।
गाविसकै अति विकट बस्ती देखारीका ५५ वर्षे मानबहादुर चेपाङले पनि गिट्ठा भ्याकुर र जलुकोको भरमा ५ दिन बिताइसकेको छ । घर निर्माणमा मजदुरी गर्न गएका मानबहादुर नफर्केकाले उनीहरूको पेटमा अन्न नपरेको हो । घरमा ७ छोराछोरी र श्रीमती छन् । ३ सन्तान गिट्ठा भ्याकुर खोज्न बिहीबार जंगल गएका थिए । शुक्रबार दिउँसोसम्म नफर्केको उनले सुनाइन् । गाविस भवन, स्कुल र स्वास्थ्य चौकी नजिक रहेको सइवाङ बस्तीका तिलकबहादुर चेपाङकी पत्नी गौरीमाया र १४ वर्षीया बुहारी शनिबार बिहानै गिट्ठा ताछ्दै नाङ्लामा राख्दै गरेका भेटिए ।
यो परिवार पनि ४ दिनदेखि कन्दमूलकै भरमा छ । '७ जनाको परिवारलाई गिट्ठा भ्याकुर पनि धेरै चाहिन्छ तर पाउनै मुस्किल,' गौरीले भनिन् ।
भार्तामा ३ सय ५० परिवार चेपाङको बसोबास छ । 'उत्पादनले ५ महिना खान पुग्ने परिवार एउटै छैन,' चेपाङ संघ जिल्ला शाखा सचिव महेशले भने, '९ महिनासम्म गिट्ठा भ्याकुरले प्राण बचाउँछ ।'

Share this article :

नेपाली Mp3 गीतहरु

Search More Social Network

पोस्ट गरिएको सामग्री यहाँ लेखि सर्च गर्नुहोस्

 
Online Guru - See more at: http://adhikarikedar.blogspot.com/2015/12/how-to-add-flying-twitter-bird-widget.html#sthash.NUcc4jB6.dpuf