एकीकृत नेकपा माओवादीको केन्द्रीय समितिको आठौं पूर्ण बैठकले संविधानसभा निर्वाचन- २०७० मा पार्टी र पार्टीका उम्मेदवारविरुद्ध अन्तर्घात गरिएका घटनाको छानबिन गर्न बनेको समितिले सम्पूर्ण प्रक्रिया पूरा गरेर प्रतिवेदन तयार गरेको छ, जसमा अन्तर्घात हुनुको कारण र निदान पत्ता लगाएर भविष्यमा यस्तो हुन नदिन उपायबारे सुझाउ दिनुका साथै केन्द्रीय कार्यालय र छानबिन समितिमा परेका उजुरीमध्ये केन्द्रीय सदस्य र राज्य सदस्यहरूमाथि परेका उजुरीहरूको छानबिन गरी केहीलाई सफाइ र केही गल्तीकमजोरीको स्तरअनुरूप कारबाहीको सिफारिस गरिएको छ।
१. पार्टीको वर्ग दृष्टिकोण र प्रतिबद्धतामा ह्रास हुनुका कारण संविधानसभाको निर्वाचनमा प्रत्यक्ष र समानुपातिकका उम्मेदवार सिफारिस, छनोट र निर्वाचन परिचालन गर्दा वैज्ञानिक नीति, विधि, मनोविज्ञान, मापदण्ड र प्रक्रिया अवलम्बन नगर्नुले अन्तर्घातका लागि वस्तुगत र आत्मगत स्थिति सिर्जना ग:यो। यस विषयमा केन्द्रीय समितिको बैठकले सोपानक्रममा मुख्य नेतृत्वसहित सबैले गल्तीकमजोरी स्वीकारी आत्मालोचना गरिसकेको विषय हो। पार्टीमा विचार समूहको आवरणमा स्थायी गुट कायम हुनुले हारका अन्य कारणबाहेक प्रत्यक्षमा कैयन् सिट गुमेको कुरा यथार्थ हो, जुन अन्तर्घातको प्रधान पक्ष हो। छलफल र पहलद्वारा वैज्ञानिक निष्कर्षमा पुग्नु र केन्द्रीकृत र एकीकृत हुनु कम्युनिस्ट पार्टीको विचार, विधि र कार्यशैलीको प्रधान पक्ष हो। यसपटकको चुनाउ संस्थागत नीति पूरै पार्टी होइन, व्यक्ति लडेजस्तो र सिंगो पार्टी होइन, बुर्का उम्मेदवार भएजस्तो हुन गयो। वर्ग प्रतिबद्धतामा देखा परेको स्खलनका कारण वर्ग र दुस्मनको प्रत्यक्ष र अप्रत्यक्ष प्रभावमा परेर उजुरी नपरे पनि मुख्य नेतृत्व समूहलाई हराउन कतिपय केन्द्रीय सदस्यले नकारात्मक भूमिका खेलेको पाइयो।
२. उम्मेदवारको छनोट र कार्य विभाजनले वैज्ञानिक नीति, विधि र मनोविज्ञानको पूर्णरूपमा पालन गर्न केन्द्रदेखि तल्लो कमिटी तथा नेताकार्यकर्ताका गल्तीकमजोरीले विभिन्न स्तरको अन्तर्घातको लागि मलिलो माटो तयार गरेको पृष्ठभूमिमा उजुरीमाथि छानबिन गरी प्रतिवेदन तयारी गरिएको छ। कम्युनिस्ट पार्टीका कमिटी र नेताहरूका आफ्नै आँखा छन्, उजुरी परेपछि मात्र छानबिन हुने परम्परा बसाउने हो भने कम्युनिस्ट पार्टी र अन्य पार्टीबीच अन्तरै के रह्यो? नेतृत्वलाई थाहा छ, कसैले गल्तीकमजोरी गरे वा गर्दैछ, तर ऊ उजुरी पर्खेर बस्छ यस्तो आचरणले नेतृत्व र कार्यकर्ताको सम्बन्ध कसरी जीवन्त हुनसक्छ? आफ्नो पक्ष वा गुटको भएपछि सय खत पनि माफ हुने र अर्को पक्षको कमजोरी नहुँदा पनि खेदो पाइलो गर्ने वा बढाइचढाइ तीललाई ताड बनाउने संस्कारको विकास हुने हो भने एकीकृत र केन्द्रीकृत पार्टी निर्माण क ल्पनाको विषय मात्र हुनेछ। व्यवहारबाट अलग जीवन्त माक्र्सवाद खोज्नुको के औचित्य?
३. गम्भीर प्रकृतिका गल्ती गर्नेहरू उजुरी नपरेका कारण चोखै रहने, त्योभन्दा कम र सानातिना गल्तीकमजोरी गर्ने कारबाहीमा पर्ने विगतका आयोगका इतिहासबाट शिक्षा लिएर तोकिएको अधिकार पाएको छानबिन समिति पार्टीको वर्तमान स्थिति हेरेर लागू हुन सक्ने गरी गल्तीकमजोरी गर्नेमाथि कारबाहीको प्रस्ताव केन्द्रीय कार्यालयमा पेस गरेको छ। आयोगलाई दिएको कार्यक्षेत्रका आधारमा यति गर्नु नै वैज्ञानिक हुन्छ। इतिहासबाट शिक्षा लिएर भविष्यमा कसैमाथि औपचारिक उजुरी नपरे पनि छानबिन गर्न सक्ने र कारबाहीको सिफारिस मात्र होइन, कारबाही गर्न सक्ने शक्तिसम्पन्न आयोग वा छानबिन समिति बन्नुपर्छ। कारबाही गर्ने हो भने अन्तर्घात हुने परिस्थिति निर्माण गर्ने, अनुपयुक्त उम्मेदवारको सिफारिस गर्ने, उम्मेदवारीको लागि दबाब दिने र उम्मेदवारबारे अन्तिम निर्णय गर्ने कमिटी र व्यक्तिले नीतिगत निर्णयका सन्दर्भमा जिम्मेवारी लिनुपर्छ, अन्यथा कारण आलोचना गरेर सफाइ पाउने भएपछि परिणामलाई मात्र कडा कारबाहीको माग गर्नु उचित हुन्न। मुख्यत: सापेक्षिकरूपमा उम्मेदवारको वैज्ञानिक छनोट भएका जिल्ला र निर्वाचन क्षेत्रमा आफूले उम्मेदवार नपाएको वा आफूले भनेजस्तो नभएपछि अर्थात् जनवाद भएन भन्ने बहानामा नियतवश उम्मेदवारलाई असहयोग गर्ने मनसाय राखी उदासीन, निष्क्रिय, उम्मेदवारप्रति नकारात्मक धारणा फैलाएको, सार्वजनिकरूपमा आलोचना गरेको र बागी वा विपक्षीको पक्षमा प्रचार गरेको र विपक्षी उम्मेदवारबाट पैसा र प्रलोभनमा परेर काम गरेकोलाई र सहायकरूपमा अन्यलाई पनि गल्तीकमजोरीको प्रकृतिअनुरूप कारबाहीको सिफारिस गरिएको छ। देशभरिबाट केन्द्रीय कार्यालयमा ५८ वटा उजुरी दर्ता भए पनि केन्द्रीय कार्यालयको बैठकले केन्द्रीय सदस्य, केन्द्रीय सल्लाहकार र राज्य सदस्यको मात्र छानबिन गर्न निर्देशन गरेकाले छानबिन गर्नुपर्ने उजुरीको संख्या केही घट्न गएको छ। लिम्बूवान राज्यमा कुनै उजुरी परेको छैन।
केन्द्रीय समितिले छानबिन समितिलाई एक महिना समय दिएको थियो तर उजुरी प्रस्तुत गर्ने समय बढाउने वैज्ञानिक देखिएका कारण समितिबाट समय थप माग भएअनुरूप केन्द्रीय कार्यालयले थप गरेपछि पनि दोस्रो चरणमा छानबिन र प्रतिवेदन तयारीका लागि समय अपुग भए पुन: म्याद थप माग गर्नुपरेका कारण प्रतिवदेन प्रस्तुत हुन केही विलम्ब हुन गएकोमा समिति आत्मालोचना गर्छ। प्राविधिक कारणले केही ढिला भए पनि छानबिन समितिले सम्भव भएसम्म स्थलगत अध्ययन गरेर कुनै अनुचित प्रभावमा नपरी निष्कर्षमा पुग्ने कोसिस गरेको छ। वस्तुगत र आत्मगत प्रतिकूलता तथा साधनस्रोत र समयको सीमितताले प्रतिवेदनका कतिपय सीमा रहनु स्वाभाविक छ। छानबिन समितिका संयोजकसहित सदस्यहरूले कार्यविभाजन गरिएअनुरूप समग्र रिपोर्ट केन्द्रित गरी सर्वसम्मत प्रतिवेदन तयार गरी प्रस्तुत गरिएको छ।
(क) मिथिला, भोजपुरा, तमुवान, कोचिला राज्यमा परेका उजुरी र तत्सम्बन्धमा स्थलगत छानबिनपश्चात् गरिएका सिफारिसहरू :
१. धनुषा जिल्लाबाट केन्द्रीय कार्यालय दर्ता नं. ६२२ मा जिल्ला संयोजक क. रामचन्द्र मण्डललगायतबाट केन्द्रीय सदस्य असर्फी भिनवार यादव र पूर्वराज्य समिति सदस्यहरू बुधराम यादव, सरोज यादव, देवेन्द्र यादव, राम सुगत ठाकुर, रामजगत यादव, इन्द्रदेव यादव, देवसागर दास, मनिष जर्घा मगर, फर्मुद नदाफलगायत १८ जनाविरुद्ध उजुरी परेको थियो। यसमध्ये असर्फी भिनवार केन्द्रीय सदस्य भएर पनि उहाँले प्रत्यक्षमा उम्मेदवार नपाएकै कारण समानुपातिक उम्मेदवार भएर पनि पार्टीले गरेका निर्णयविरुद्ध असन्तुष्ट र अराजकको सक्रिय नेतृत्व गरेकाले केन्द्रीय सदस्यबाट तीन महिना निलम्बन गर्न सिफारिस गरिन्छ। यसैगरी पूर्वराज्य समिति सदस्य फर्मुद नदाफले पार्टीका आधिकारी उम्मेदवारविरुद्ध गतिविधि गरेकाले पार्टी सदस्यता रहने गरी जिल्ला समितिबाट र मोर्चाको नेतृत्वबाट हटाउन सिफारिस गरिन्छ। पूर्वराज्य समिति सदस्य बुधराज यादव, सरोज यादव, देवेन्द्र यादव, रामसुगत ठाकुर, रामजगत यादव, इन्द्रदेव यादवसहित ६ जनाले पार्टीको विद्रोही उम्मेदवारलाई सहयोग गरेकाले पार्टी सदस्यता कायम रहने गरी पार्टीका अन्य जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ। पूर्वराज्य समिति सदस्यद्वय देवसागर दास र मनिष जर्घा मगरले पार्टीको उम्मेदवारको पक्षमा जिम्मेवारीपूर्वक नलागेकाले भविष्यमा यस्तो नगर्ने सर्तमा कडा आचोलना गर्ने सिफारिस गरिन्छ।
२. केन्द्रीय कार्यालय दर्ता नं. ५९५ मा सप्तरी जिल्ला क्षेत्र नं. ४ का उम्मेदवार कलाम खाँले छेदी रजक सफी, चन्द्रदेव मण्डल, सिंहेश्वर साह, देवलाल माली, रामप्रसाद मण्डल, प्रेमनारायण यादव र तनुकलाल शर्मासमेत सातजनामाथि उजुरी परेकोमा छानबिन गर्दा पार्टीले दिएको उम्म्देवार चित्त नबुझे पनि विद्रोही उम्मेदवारलाई सघाउनु गल्ती भएकाले पार्टी सदस्यता कायम रहने गरी अन्य सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ।
३. केन्द्रीय कार्यालय दर्ता नंं. ६२१ मा सिरहा जिल्ला क्षेत्र नं. ६ का पार्टी उम्मेदवार अमरनाथ यादवले केन्द्रीय सदस्य महेन्द्र पासवान, फुलगेन नायक, रामकुमार यादव, रामकुमार पासवान र ठगु मण्डलसमेत विरुद्ध उजुरी दिएकोमा निम्नअनुसार सिफारिस गरिन्छ। महेन्द्र पासवान केन्द्रीय सदस्य र स्वयं समानुपातिक उम्मेदवार भएर पनि पार्टी अध्यक्ष नै उम्मेदवार भएको जिल्लामा उम्मेदवारविरुद्ध सार्वजनिकरूपमा बोल्नु गम्भीर कमजोरी भएकाले कडा आलोचना गर्न सिफारिस गरिन्छ। फुलगेन नायक केन्द्रीय सदस्य भएर पनि जतिसुकै असन्तुष्टि भए पनि सक्रिय हुनुपर्नेमा सार्वजनिकरूपमा असन्तुष्टि प्रकट गर्ने काम भएकाले आलोचना गर्न सिफारिस गरिन्छ।
पूर्वराज्य समिति सदस्य रामकुमार यादवको निर्वाचनका बेला जिम्मेवारी धनुषामा कार्य क्षेत्र परेकाले र ठोस प्रमाण नभेटिएकाले कारबाही गर्नुनपर्ने। पूर्वराज्य समिति सदस्य रामकुमार पासवान २०६४ को संविधानसभा सदस्य भइसकेकाले समानुपातिक उम्मेदवार नपाएकोमा असन्तुष्ट हुन सुहाउँदैन। अध्यक्ष उम्मेदवार भएको जिल्ला भएकाले संवेदनशीलतालाई नबुझ्नु कमजोरी भएकाले आलोचना गर्न सिफारिस गरिन्छ। यसैगरी पूर्वराज्य सदस्य ठगु मण्डलले जिल्लाको संवेदनशीलतालाई बुझ्न नसक्नु र निर्वाचनको अन्तिम क्षणमा ६ नं. क्षेत्रमा निस्क्रिय हुनुले शंका पैदा गर्ने ठाउँ दियो। भविष्यमा यसो नगर्ने प्रतिबद्धतासहित आलोचना गर्न सिफारिस गरिन्छ।
४. केन्द्रीय कार्यालय दर्ता नं. ६२५ सिरहा क्षेत्र नं. २ मा जितेन्द्रकुमार यादवले पूर्वराज्य समिति सदस्य कमलहरि यादव र भोगेन्द्र ठाकुरविरुद्धको उजुरीमा छानबिन गर्दा उम्मेदवार आफूलाई चित्त नबुझे पनि अध्यक्ष उम्मेदवार भएको जिल्ला भएकाले आन्तरिकरूपमा भिन्न मत राखेर सक्रिय हुनुपर्नेमा हार्दा उम्मेदवार मात्र होइन, पार्टी हार्ने कुरा बुझ्न नसक्नु कमजोरी हो। दुवै कमरेडले जिम्मेवारी बोध गर्न नसकेकोमा आलोचना गर्न सिफारिस गरिन्छ।
५. केन्द्रीय कार्यालय दर्ता नं. ६२४ सिरहा क्षेत्र नं. १ मा देवनारायण महतोले क्षेत्र नं. १ को तर्फबाट पूर्वराज्य समिति सदस्यद्वय गमकलाल थारू र अशोकरामविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा गमकलाल थारूले थारू उम्मेदवार नभएकोमा असन्तुष्टि व्यक्त गर्नेमा मात्र सीमित नभई चुनाउको बेला विपक्षी उम्मेदवारसँग घनिष्टता देखाएकोले पार्टी सदस्यता कायम राखी पार्टीका सबै जिम्मेवारीबाट हटाउन सिफारिस गरिन्छ। अशोक रायको सम्बन्धमा उम्मेदवारप्रतिको असन्तुष्टि र पार्टीप्रति उदासीनताले भूमिका पूरा नगरेकोमा आलोचना गर्न सिफारिस गरिन्छ।
६. केन्द्रीय कार्यालय दर्ता नं. ६४८ महोत्तरी जिल्ला क्षेत्र नं. २ तुलसीप्रसाद ढुंगानासमेतले दिएको उजुरीको छानबिन गर्दा केन्द्रीय सल्लाहकार कलाउद्दिनका सम्बन्धमा उम्मेदवारी नपाएकोमा उदासीनता देखिएकोले सचेत गराउनुपर्ने सुझाउ गरिन्छ।
७. कार्यालय दर्ता नं. ६४८ महोत्तरी जिल्ला क्षेत्र नं. ४ मा केन्द्रीय सदस्य तुलसीप्रसाद ढुंगानाले केन्द्रीय सल्लाहकार राजेन्द्र साहविरुद्ध दिएको उजुरीमा छानबिन गर्दा जिल्लामा कार्यरत केन्द्रीय नेताहरूबीच अन्तरविरोध भए पनि आफू स्वयं समानुपातिक उम्मेदवार भएकाले पनि पार्टीको महिला उम्मेदवारलाई सक्रिय सहयोग गर्नुपर्नेमा उल्टै नकारात्मक वातावरण बनाएकोले सदस्यता कायम राखी केन्द्रीय सल्लाहकारबाट हटाउन सिफारिस गरिन्छ।
८. केन्द्रीय कार्यालय दर्ता न. ६२२ महोत्तरी क्षेत्र नं. ६ मा केन्द्रीय सदस्य तथा प्रत्यक्ष उम्मेदवार भरत साहले पूर्वराज्य सदस्य तथा क्षेत्र नं. ६ मा तत्कालीन इन्चार्ज शिवनाथ महतो (भोला)विरुद्ध दिएको उजुरीको छानबिन गर्दा समानुपातिकमा उम्मेदवारी नपाएको कारण असन्तुष्ट भए पनि आफू निर्वाचन क्षेत्रको प्रमुख र सिनियर कमरेड उम्मेदवार हुँदा पनि जिम्मेवारीबोध नहुनु र चुनाउको समयमा संवेदनशील समयमा एक हप्तासम्म निस्क्रिय बस्नु गल्ती भएकाले सामान्य आलोचनाको विषय बन्न सक्छ। तर पछि सक्रियतापूर्वक लागेकाले नियतमा शंका गर्नुपर्ने देखिँदैन।