
लमजुङ्, वैशाख १९ - पाँच महिनाअघि काम खोज्दै साउदी अरब जाँदा मृत्यु भएका रोल्पाका एक युवाको शव अझैसम्म स्वदेश ल्याइएको छैन । आर्थिक अवस्था कमजोर भएका कारण जनाउदै परिवारले शव ल्याउन नसकेको हो । रोल्पा धबाङ गाविसका दलित परिवारका २५ वर्षका जङ्के सुनारको काम गर्ने क्रममै साउदीमा मृत्यु भएको हो । उनको मृत्यु भएको पत्र गत वर्षको पुसमा परिवारलाई आइपुगेको थियो । सुनारको मृत्युको कारण खुलेको छैन् । तर त्यसबारेमा थप जानकारी कसैले नदिएको परिवारले जनाएको छ । मृत्युको कारण पत्ता लगाइदिन सरकारसँग आग्रह गर्दै आएको र जवाफ पर्खदा शव ल्याउन नसकिएको पारिवारिक स्रोतले जनाएको छ । मृत्यु अघिसम्म जङ्केले आफूले निर्माण सम्बन्धी कम्पनीमा काम गरिरहेको बताउदै आएका थिए । मृत्यु अघि ४ लाख कमाएको त्यो रकम घरमा पठाउने तयारी भएको उनले अन्तिम सम्पर्कका बेला बताएको उनका बुबा काले सुनारले बताए । जङ्केको मृत्युको खबरले परिवार पीडामा छ । ‘एक त हामी गरिब छौं, त्यसैमाथि छोरोको मृत्युको खबर आयो’, मृतकका बुबाले कान्तिपुरसित भने, ‘पैसा कमाउन गएको छोरा उतै मारिएको खबर आयो । त्यसपछि हामी पूरै वेहाल अवस्थामा छौं ।’ धबाङ गाविसका पूर्व अध्यक्ष मानबहादुर खत्रीले प्रशासनसँग समन्वय गरी मृतकको शव ल्याउन पहल थालेको बताए । ‘प्रशासनले सहयोग गर्ने जनाएको छ । साउदीमा रहेको परराष्ट्र काउन्सुलरले पनि पहल थालेको जानकारी आएको छ । तर यो विषयमा सरकारले चासो लिन निकै ढिला गर्यो ।’ उनले भने । मृतकको पारिवारिक स्रोतका अनुसार विदेश गएपछि टेलिफोन सम्पर्कका बेला जङ्केले राम्रै काम पाएको र कमाइ पनि सोचेअनुसार भएको बताएका थिए । ‘पैसा कमाएकोमा ऊ खुशी थियो’, बुबा कालेले भने, ‘अरु केही वर्ष बसेर आउने बताएको थियो । तर मारिएको दुःखद् खबर मात्र घरमा आइयुग्यो ।’ परिवारका अनुसार विदेशका पुगेका जङ्केका साथी र कम्पनीमा कार्यरत अन्यको समेत मिलोमतोमा उनको हत्या भएको आशंका गरिएको छ । जङ्केले कमाएर जम्मा गरेका रकम लुट्ने मनसायमा हत्या गरिएको आशंकासहित अनुसन्धान गर्न परिवारले सरकारसँग माग गरेको छ । ‘उसले ४ लाख पैसा पठाउने भनेको भोलिपल्ट देखि ऊ पूर्ण रुपमा सम्पर्कविहीन थियो ।’ मृतकका बुबा काले भन्छन्, ‘त्यसपछि ऊ मारिएको खबर आयो । सरकारले हामीलाई न्याय दिलाओस् ।