सरकारले निःशुल्क वितरण गर्दै आएको औषधिका प्रकार संख्या ४० बाट बढाएर ७० पुर्याएको छ । थपिएका औषधि स्थानीय तहसम्म पुगेपछि झन्डै ८० प्रतिशत रोगविरुद्ध सर्वसाधारणले औषधि किन्नु नपर्ने स्वास्थ्य मन्त्रालयको दाबी छ । मन्त्रिपरिषद्को १३ भदौमा बसेको बैठकले सरकारी स्वास्थ्य संस्थाबाट निःशुल्क प्रदान गरिने औषधिको संख्या ७० पुर्याउने निर्णय गरेको हो । मुटु, मधुमेह, उच्चरक्तचाप, मानसिक, थाइराइड, मन्द दुखाइ, एलर्जी, एन्टी फन्गललगायत रोगविरुद्धका विभिन्न प्रकारका औषधि थपिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री खगराज अधिकारीले ग्रामीण तहसम्म सहज उपचार सेवा पुर्याउन निःशुल्क औषधि थपिएको बताए । सरुवा रोगको जोखिम कम हुँदै आएको र नसर्ने रोगको जोखिम बढ्दै गएकाले थपिएको औषधि नसर्ने रोगका बढी भएको अधिकारीले जानकारी दिए । ‘मुटु, मधुमेह, दमजस्ता नसर्ने रोगको चाप ग्रामीण क्षेत्रमा पनि बढ्ने गएको छ । नियमित रुपमा खानुपर्ने यस्ता औषधि सहज रुपमा नपाउँदा धेरै मानिसको अकालमै ज्यान जाने गरेको छ,’ मन्त्री अधिकारी लाई उदृत गर्दै आजको नयाँ पत्रिका दैनिक लेख्छ, ‘अहिले थपिएको औषधिले त्यसको रोकथाम गर्न मद्दत पुर्याउने विश्वास छ ।’ ग्रामीण तहसम्म नसर्ने रोगको निशुल्क उपचार सहरसम्म आउनुपर्ने समस्या हट्ने पनि उनको भनाइ छ ।
-