१९८४ सालमा जन्मिएकी प्रधानको बाल्यकालका केही समय तत्कालीन बर्मामा बितेको थियो । उनले २००३ सालतिर दशमै पहिलो पल्ट महिला शिक्षा र मतदान अधिकारका लागि आवाज उठाइन् । २००४ सालमा दिदी साधना र महिला नेतृ मंगलादेशी सिंहसँग मिलेर नेपाल महिला संघ स्थापना गरी उनी राजनीतिमा होमिएकी थिइन् । भारतमा उच्च शिक्षा हासिल गरेकी नेतृ प्रधानको विवाह २०१० सालमा नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठसँग भएको थियो । २०१५ सालमा पुष्पलालको पक्षमा प्रचार गर्दै हिड्की प्रधान २०१७ सालको राजनीतिक काण्डपछि पढाइतिरै फर्किएकी थिइन् । २०१८ सालमा पुष्पलाल निर्वासनमा गएपछि उनी अध्यापनमा लागेकी थिइन् । २०३७ सालमा पुष्पलालको निधन भएपछि साहनाको राजनीतिक सक्रियता पुनः बढेको थियो । २०४६ सालमा संयुक्त वाममोर्चाको अध्यक्षको हैसियतमा जनआन्दोलनमा लागेकी साहना तत्कालिन अन्तरिम मन्त्रिपरिषद्मा दोस्रो मर्यादाक्रममा मन्त्री बनेकी थिइन् ।
-