खल्ला (कञ्चनपुर), वैशाख ९ - चुरे फेदीमा रहेको कञ्चनपुरको भीमदत्त नगरपालिका ९ खल्लाकी आरती बोहरा ११ वर्षकी भइन्। ६ कक्षामा पढिरहेकी उनी २ घण्टा पैदल हिँडेर स्कुल पुग्छिन्। बिहान सबेरै उठेर तयार हुन नसकेका दिन उनी समयमै स्कुल पुग्नै सक्दिनन्।
आरतीले खल्लामै रहेको भीमदत्त प्राविबाट गत वर्ष ५ कक्षा पास गरेकी हुन्। माथिल्लो कक्षा पढ्न उनले २ घण्टा हिँडेर ब्रह्मदेवस्थित सिद्धनाथ उच्चमावि पुग्नुपरेको हो। उनले स्कुल आउजाउ गर्न मात्रै दैनिक चार/साढे चार घण्टा हिँड्नुपर्छ।
खल्लाभन्दा माथिल्लो गाउँ मसेट्टीका ११ वर्षीय गोपाल बोहराको पनि यही हाल छ। उनलाई स्कुल पुग्न आरतीको भन्दा अझ आधा घण्टा बढी हिँड्नुपर्छ। आरतीसँगै ६ कक्षामा पढिरहेका उनले दैनिक ५ घण्टाभन्दा बढी हिँड्नुपर्छ। गाउमै निमावि र मावि तहसम्मको विद्यालय नहुँदा आरती र गोपालजस्ता बालबालिकाले घण्टौं हिँड्नुपरेको हो।
'स्कुल आउजाउ गर्नमै एक दिन पूरा सकिन्छ,' आरतीले भनिन्, 'दिनभरि हिँडेर थाकेपछि घरमा आएर किताब पढ्नै सकिँदैन।' उनले हिउँदमा त झन बिहान अँध्यारामै हिँडेर स्कुल भ्याउने र राति अबेर मात्रै घरमा पुगिने गरेको बताइन्। 'स्कुल ढिलो पुगे सरले हप्काउनुहुन्छ, पढाइ पनि छुट्छ,' उनले भनिन्। उनले बाटामा साथीहरूको समूह बनाएर मात्रै स्कुल जान सकिने बताइन्। 'एक्लै जान डर लाग्छ,' उनले भनिन्।
खल्ला, टुँडिखेल र मसेट्टीका करिब एक सय बालबालिका निमावि र मावि तह पढ्न १२ किलोमिटर टाढा रहेको ब्रह्मदेव पुग्नुपर्छ। निमावि तहमा अध्ययनरत बालबालिका त कलिलो उमेरका भएकाले दिनहुँ हिँड्न पनि सक्दैनन्। महाकाली किनारको बाटो भएकाले वर्षातमा बाढी आउँदा स्कुल जान नसकिने उनीहरू बताउँछन्।
'महाकालीसँगै अन्य साना खोलामा बाढी आएपछि बालबालिकाले घरमै बस्नुपर्छ,' टुँडिखेलका ४५ वषर्ीय जयबहादुर बोहराले भने, '७ बजे स्कुल लागेपछि त समयमा पुग्नै सकिँदैन।' उनका २ छोरा गोपाल ६ कक्षा र डम्मर ७ कक्षामा पढ्न ब्रह्मदेव पुग्छन्। साढे ३ सय परिवारको बसोबास रहेको उक्त क्षेत्रमा २०५५ मा भीमदत्त प्रावि स्थापना भएको थियो।
विद्यालय भवन पनि ग्रामीण पुनर्निर्माण नामक एक गैरसरकारी सस्थाले निर्माण गरिदिएको हो। त्यसबाहेक अन्य सरकारी संरचना केही पनि छैन।
'हामीहरूले आधा समय स्कुल जान पाउँदैनौं,' ११ वर्षीय गोपालले भने, 'वर्षातमा २/३ महिनासम्म घरमै बस्नुपर्छ।' उक्त क्षेत्रमा चुरेबाट बग्ने खल्ला, स्याडी र कामीकाँटे खोला तथा महाकाली नदीको बाढी पसेर ज्यान जोगाउनै मुस्किल हुने गर्छ। बाढीले स्कुले बालबालिकाको पैदल हिँड्ने बाटो समेत बर्सेनि बगाउने गर्छ।
'हामीले मावि तहसम्मको विद्यालय स्थापनाको माग गर्न थालेको वर्षौ भइसक्यो,' स्थानीय शंकर धामीले भने, 'तर हाम्रो कुरा सुन्ने कुनै निकाय नै छैन।' उनले बालबालिका स्कुल गएदेखि घर नफर्किंदासम्म निकै चिन्ता हुने गरेको बताए।
'बाटो निकै अप्ठ्यारो छ,' उनले भने, 'कतिबेला कहाँनिर के हुने हो भन्ने डर लाग्छ।' मावि तहका बालबालिकाभन्दा पनि निमावि तहका बालबालिकालाई निकै समस्या हुने गरेको उनले बताए।
'यो स्कुल पनि मुस्किलले खोलिदिएको हो,' खल्लाका अगुवा गणेशबहादुर रोकायाले भने, 'हामीहरूले लामो समयको प्रयासपछि शिक्षा कार्यालयले यहाँ स्कुल खोल्न अनुमति दिएको थियो।' किसान नेता भीमदत्त पन्तको क्रान्तिथलोका रूपमा चिनिने उक्त क्षेत्र तत्कालीन समयका राष्ट्रिय वनमा पर्ने भएकाले विद्यालय, स्वास्थ्य संस्था र खानेपानी तथा अन्य भौतिक पूर्वाधार निमर्ाण गर्न दिइएको थिएन।