काठमाडौँ, २५ चैत । नेपाल प्रहरीका चर्चित एसएसपी रमेश खरेल फेरि विवादमा मुछिएका छन् । खरेल प्रमुख रहेको मध्य क्षेत्रीय प्रहरी तालिम केन्द्र भरतपुरतर्फले अघि बढाएको भर्ना प्रक्रिया रद्द भएपछि उनी विवादमा तानिएका हुन् ।
लिखित परिक्षामा उत्तिर्ण गरेकाहरुलाई जभाभावी नम्बर दिइएको भन्दै खरेलको भर्ना प्रक्रियालाई लोकसेवा आयोगले रद्द गरेको छ । भर्ना प्रक्रियामा प्रश्न उठेपछि आयोगले भर्ना प्रक्रिया संशोधन गर्न प्रहरी हेडक्वार्टरलाई निर्देशन दिएको थियो ।
प्रहरीमा विभिन्न कारणले रिक्त प्रहरी जवान पद खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान अनुसार पूर्ति गर्न प्रहरी प्रधान कार्यालयले गत असोज २४ गते विज्ञापन निकालेको थियो । लिखित परीक्षामा सहभागी भई उत्तीर्ण भएका भरतपुरका सबै उम्मेदवारहरुलाई बैशाख २ देखि ७ गतेसम्म पुनः अन्तर्बार्ताका लागि बोलाइएको छ । यसले एसएपी खरेलको कार्यशैलीप्रति प्रश्न उठेको त उठेको छ नै प्रहरीको समग्र भर्ना प्रक्रिया नै विवादमा तानिएको छ ।
प्रहरीका चर्चित एसएसपी खरेल नै प्रमुख रहेको तालिम केन्द्रमा कमजोरी भेटिएपछि उनीलाई कारबाही स्वरुप हेडक्वार्टर तान्ने वा नसियत दिने भन्ने विषयमा यतिबेला छलफल भइरहेको प्रहरी प्रधान कार्यालय स्रोतले बतायो । भर्ना प्रक्रियामा कमजोरीका विषयमा गृहमन्त्रालयले समेत अनुसन्धान थालेपछि प्रहरी प्रधान कार्यालय थप दबाबमा परेको छ ।
प्रहरी प्रवक्ता डीआइजी कमलसिंह बमले भरतपुरको भर्ना प्रक्रियामा प्राविधिक कमजोरी भएको स्वीकारे । डीआइजी बमका अनुसार, अन्तर्वार्ता परीक्षामा सहभागी उम्मेदवारहरुको अन्तर्वार्ता फेरि हुनेछ ।
खरेलमाथिका कारबाहीका विषयमा भने प्रहरी प्रवक्ताले बोल्न चाहेनन् । निश्कलंकित छविका प्रहरी अधिकारी भनिएपनि खरेल पटकपटक विवादमा पर्ने गरेका छन् । विवादकै कारण काठमाडौँको प्रहरी प्रमुखबाट हटाएर उनलाई भरतपुर तालिम केन्द्रमा सरुवा गरिएको थियो ।
नेपाल प्रहरीका भावी आईजीपीका समेत दाबेदार मानिएका खरेललाई यो घटनाले करिअरमा धक्का दिने निश्चित छ । खरेललाई नेपाल प्रहरीको भावी प्रमुखको रुपमा समेत लिइन्छ् । २०७५ साल बैशाखमा खरेलकै ब्याचबाट एक जना आईजीपी हुनेछन् । खरेलसँगै सर्वेन्द्र खनाल, राजेन्द्रमान श्रेष्ठ, पुष्कर कार्की जस्ता पावरफुल एसएसपीहरु आईजीपी हुने प्रतिस्पर्धामा छन् ।