३ चैत, लमजुङ।
एक पटक मुलुकको प्रधानमन्त्री भैसकेका एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड धेरै समय पछि सडकमा देखिएका छन् । उनी सडक प्रदर्शनको नेतृत्व गरेर जुलुशमा नै सहभागी भए ।
सर्वोच्च अदालतको फैसलाको विरुद्ध एकीकृत भएका ६ माओवादी पार्टीले सोमबार संयुक्त रुपमा विरोध प्रदर्शन गरेका छन् । यसको नेतृत्व प्रचण्डले गरे । प्रचण्डसँगै उनीको नेतृत्वको पार्टीबाट चोइटिएर गएका अन्य माओवादीका नेताहरु समेत सँगै सडकमा देखिए ।
एकीकरणको चरणमा रहेका भनिएका ६ माओवादी घटक सरकारले विस्तृत शान्ति सम्झौता भाँडन लागेको र विगतको सहमति र सम्झौतालाई विपरीत अगाडि बढ्न खोजेको भन्दै एमाओवादी सहित ६ पार्टीले सोमवार राजधानीमा विरोध प्रर्दशन गरेका हुन् ।

१२ बुँदे सहमति, विस्तृत शान्ति सम्झौता, अन्तरिम संविधान तथा हालै गठित सत्य निरुपण तथा मेलमिलाप आयोग समेतलाई पन्छाएर सत्तारुढ दल कांग्रेस–एमालले द्धन्द्धकालिन मुद्दाको बहानामा एकलौटी रुपमा अगाडि बढन लागेको भन्दै ६ माओवादीले आन्दोलनमा होमिएका छन् । सर्वोच्चको फैसलासँग ६ माओवादीको संयन्त्र गठन गरेर सडक संघर्षमा जाने निर्णय गरेको थियो । संयन्त्रको तत्कालिन मुद्दामा संयक्त कार्यक्रम गर्दै सबै माओवादीबीच एकता गर्ने गृह कार्य सुरु गरेपनि छलफलले सार्थकता पाउन सकेको छैन ।
एक नेताका अनुसार मातृका नेतृत्वको नेकपा –माओवादी) र मणि थापा नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी एमाओवादीसँग पार्टी एकताको अन्तिम तयारीमा छन भने, परि थापा नेतृत्वको नेकपा एकीकृत नेकपा–माओवादीसँग पार्टी एकता गर्ने अन्तिम तयारीमा रहेका छन् । त्यसैगरी एमाओवादी र नेकपा–माओवादीबीच पार्टी एकीकरणको लागि वार्ता समिति गठन गरेर नै गृह कार्य अगाडि बढिसकेको छ ।
संयुक्त रुपमा आन्दोलन गर्दा सरकारलाई दबाब पुग्ने भन्दै ६ माओवादीले आज राजधानीका विभिन्न स्थानबाट विरोध जुलुस निकालेको हो ।

विरोध सभामा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य, नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपा (माओवादी) का संयोजक मात्रिका यादव, क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मणि थापा र नेकपा (एकीकृत) का महासचिव परि थापालगायत एउटै ब्यानरमा विरोध सभामा सहभागी भएका छन् ।
मोर्चाले ३ दिने आम हडताल शुरु हुनु १ दिन अँघि काठमाडौंमा प्रदर्शन गर्ने तयारीमा रहेका ६ माओवादीका कार्यकर्ता र प्रहरीबीच झडप हुने संकेत पनि देखिएको छ ।
जुलुश सहित शान्तिबाटिका सम्म पुग्ने तयारीमा रहेका ६ माओवादीका कार्यकर्ता र प्रहरी बबरमहलमा आमने सामने भएका छन् । माओवादी कार्यकर्ताहरुले निषेधित क्षेत्र तोडेमा उनीहरुमाथि बल प्रयोग गर्ने तयारीमा प्रहरी छ ।
प्रहरीको संख्या आन्दोलनकारीको संख्या करिव करिव बराबरी देखिएको छ । घेरा तोड्ने तयारीमा आन्दोलनकारी छन् भने पुलिसको उच्च संख्यामा तम्तयार भएर बसेको छ ।