दुर्घटनामा सप्तरीको दौलतपुर–२ को एउटै गाउँका युवाको ज्यान गएको हो । मृत्यु हुनेमा दौलतपुर–२ का १९ वर्षीय शत्रुधन महतो, २१ वर्षीय शोभितलाल महतो, १७ वर्षीय अविनास सिंह र २१ वर्षीय अमन सिंह रहेको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
चारजना चढेर लहानबाट पूर्व जाँदै गरेको स४प ९६८९ नम्बरको मोटरसाइकल र काँकडभिट्टाबाट काठमाडौं आउँदै गरेको ना५ख ४९७३ नम्बरको यात्रु बस बलान पुलमा ठोक्किँदा गम्भीर घाइते चार युवकलाई उपचारका लागि लहान ल्याउँदै गर्दा बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा ज्यान गुमाएकाहरु लागूऔषध दुव्र्यसनी रहेको आशङ्का गरिएको छ । मृतकहरुको साथबाट गाँजा पिउने चिलम, पराग, चुरोट र केही नगदसमेत बरामद भएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायव उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए ।
लहानमा मदिरा र लागूऔषध सेवन गरेर एउटै मोटरसाइकलमा चढी तीब्र गतिमा गईरहेका बेला अनियन्त्रित भई बससँग ठोक्किएको प्रहरीले जनाएको छ । प्रहरीले बस, चालक र मोटरसाइकललाई नियन्त्रणमा लिएको छ ।
बस नियन्त्रणमा लिएपछि काठमाडौं हिँडेका करिब ३६ जना यात्रुहरुले प्रहरी कार्यालय परिसरमै रात बिताएका छन् । प्रहरीले बस व्यवसायीसँगको समन्वयमा अर्को बसको व्यवस्था गरी बिहान यात्रुलाई काठमाडौं पठाएको छ ।