कम्पनीका कार्यक्रम अधिकृत विवेकानन्द झाले प्रयोग स्वरुप चिमडीमा मेसिनबाट मकै कटान थालिएको बताउँदै भने,‘अन्यत्र पनि मेसिन प्रयोग गरेरै मकैबाली उठाउने काम सुरु गर्दैछौं 

विराटनगर: नेपालमै पहिलो पटक मेसिनको प्रयोग गरी मकैबाली कटान गर्न सुरु गरिएको छ ।
सुनसरीको चिमडीमा मेसिनले मकैका घोगा टिप्ने देखी दाना छोडाउने सम्म काम सुरु भएको हो । चिमडीका किसानले सामूहिक रुपमा १ सय १० हेक्टरमा लगाएको बाली मेसिनबाट कटान गर्न सुरु गरिएको छ ।
झाका अनुसार कम्पनीले कृषि सहकारी संस्थालाई मकै हार्भेस्टर मेसिन सहयोग गरेको छ । मेसिनले मकै कटान गरेको निरीक्षण गर्न सुनसरी–मोरङसहित पूर्वका सोह्र जिल्लाका कृषि कार्यालयका प्रमुख र बाली विकास अधिकृतसहित सरकारी अधिकारीहरुको टोली चिमडी पुगेको थियो ।
कृषि कार्यालय मोरङका प्रमुख राजेन्द्र उप्रैतीले भने,‘मेसिनबाट मकै कटान गर्ने काम पहिलो पटक हो । कृषिमा यान्त्रिकरणका लागि यो प्रयास कोसेढुङ्गा सावित हुनसक्छ ।’
मकैबाली लगाउन सहज भएपनि त्यसको कटान गर्न र थन्काउनसमेत धेरै समय लाग्ने भएकोले मेसिनको प्रयोगले समय, उर्जा, श्रम र खर्चको समेत वचत हुने उप्रेतीले बताए ।
भारतबाट झिकाइएका मेसिनले सुनसरीमा मकै कटान गरिरहेका छन् । मेसिनले मकै खेतमा पसेर मर्कका ठुटा, पात र खोयोलाई स–सना टुक्रा पारेर खेतमै छाडिदिन्छ । दानालाई एकै ठाउँमा जम्मा गरेर कन्टेनरमा राख्छ ।
पछि यसलाई एकैपटक ट्याक्टरको ट्रलीमा राखेर सोझै किसानले भकारीमा थन्क्याउन सक्छन् । मकै कटान गर्न छुट्टै हार्भेस्टरले छुट्टै ब्लेड प्रयोग गर्छ ।
यही मेसिनको प्रयोगबाट धान र गहुँ पनि कटान हुँदै आएको अधिकृत झाले जानकारी दिएका छन् ।
झापा र मोरङका किसानहरु कृषिमा औजारीकरण अभियानमा जुटेसँगै मकै काट्ने मेसिनलाई पनि प्रयोगमा ल्याइएको हो । स्थानीय किसान तेजनारायण चौधरीले आफूहरुले धान काट्ने, रोप्ने क्रमसँगै गहुँ काट्ने, रोप्ने काम यसअघि नै थालेको बताए ।
चिमडीमा मकै कटान भएको हेर्न स्थानीयबासी तथा किसानको ठूलो भींड नै लागेको थियो । कृषिमा औजारीकरणले यसक्षेत्रका किसान लाभान्वित भएको उनीहरुले बताएका छन् ।