८ बैशाख, लमजुङ । नेक्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले उर्जा सचिव राजेन्द्र किशोर क्षेत्रीको घरमा कालो झण्डा गाडेको छ । काठमाडौको कलंकीस्थित क्षेत्रीको घरमा नाराबाजी सहित पुगेका दुइ दर्जन बढी विप्लव कार्यकर्ताले कालो झण्डा गाडेका हुन् । कलंकी पुगेका विप्लवका कार्यकर्ताले राजेन्द्र किशोर क्षेत्रीलाई भारतीय दलाल मुर्दावाद !, देशद्रोही मुर्दावाद ! जलमाफीया मुर्दावाद ! ‘जलमाफियालाई सामाजिक बहिष्कार गरौं’ भन्ने जस्ता नारा लगाएका थिए ।
भारतसँग उर्जा विकास सम्झौता पीडीए गर्न प्रमुख भूमिका खेलेको र स्वदेशी लगानीमा बन्ने आयोजना समेत डलरमा खरिद सम्झौता गरेको भन्दै कालोझण्डा गाडेको उनीहरुले बताएका छन् ।


उनीहरुले नेपाली पुजि, प्रविधि र स्थानीय सहभागितामा जलविद्युत आयोजना निर्माण गर्न समेत सरकारसँग माग गरेका छन् ।

माओवादीहरुले झण्डा गाडेपछि निक्कैबेरमा पुगेको प्रहरी भने माओवादी कार्यकर्ता सामु निरिह भएका थिए । विप्लव कार्यकर्ता फर्किसकेपछि मात्र सानो संख्यामा पुगेका पुलिस अल्लमल्ल परेका देखिन्थे ।

विप्लवले पछिल्लो समयमा सार्वजनिक र निजी जग्गा कब्जाको अभियान चलाएका छन् भने भ्रष्टहरुलाई कारवाही भन्दै विभिन्न अधिकारीको घरमा समेत झण्डा गाड्ने अभियान जारी राखेका छन् ।

चन्द नेतृत्वको माओवादीका कार्यकर्ताले यस अघि लगानी वोर्डका कार्यकारी निर्देशक राधेश पन्तको घरमा पनि कालोझण्डा गाडेका थिए ।

तस्विरः क्षितिज लामिछाने
कानून ब्यवसायीमाथि विप्लवका कार्यकर्ताको कुटपिट
उता जाली तमसुक र किर्ते कागजजात तयारगरि सर्वसाधारणको जग्गा हडपेको आरोप लगाउँदै विप्लव माओबादीका कार्यकर्ताहरुले नेपालगञ्जका एक कानुनब्यबसायी सुकैलाल बर्मालाई आक्रमण गरेका छन ।
मंगलबार बिहान अधिबक्ता बर्मालाई उनकै जनपक्षीय कानुनी उपचार केन्द्रमा पुगेका करिब चार पाँच जनाको समुहमा रहेका माओबादी कार्यकर्ताहरुले बर्माको टाउको खुट्टा र शरीरका बिभिन्न भागमा लाठि प्रहार गरि गम्भिर घाईते बनाएका हुन ।
घाईते अधिबक्ता बर्माको उपचार शिक्षण अस्पताल नेपालगञ्जमा भैरहेको छ । अधिबक्ता बर्माका छोरा सुरज बर्माले चार पाँच जनाको समुहमा आएका ब्याक्तिहरुले आफुहरुलाई कोठामा थुनेर बाबुमाथी आक्रमण गरेको बताए ।
उनले आक्रमणकारीहरुले मोबाईल समेत खोसेको बताउँदै हल्ला नगर्नका लागी धम्की दिँदै बर्मालाई उनको कार्यालय देखी बाहीर ल्याएर कुटपिट गरेको बताए । आक्रमण पछी उक्त समुहले नेत्रबिक्रम चन्द नेतृत्वको नेकपा माओबादीको पर्चा छरेर कार्बाही गर्नुको कारण सार्बजनीक गरेको छ ।
बर्माले बाँकेको गनापुर फत्तेपुर, हिरमिनिया लाएतका गाबिसमा रहेको सर्बसाधरणको जग्गा किर्ते गरि हडप्न खोजेको बिज्ञप्तिमा उल्लेख छ । जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरिक्षक जनक बहादुर शाहिले फेला परेको पर्चाको आधारमा आक्रमणकारीहरुको खोजी भैरहेको दाबी गरेका छन । यसअघि अधिबक्ता बर्माको घरमा तत्कालीन नेकपा माओबादीले बम बिष्फोट समेत गराएको थियो ।