लमजुङ, वैशाख १७ - नेपाली सेनाले महाभूकम्पमा घाइतेसहित ३९ जनालाई सिन्धुपाल्चोकबाट बिहीबार दिउँसो उद्दार गरेको छ । तीमध्ये ९ जना काखे बालबालिका छन् । घाइतेमध्ये सशस्त्र प्रहरीका जवान राम बगालेको अवस्था चिन्ताजनक छ । उनलाई अन्तर्राष्ट्रिय विमानस्थलको प्रारम्भिक उपचार कक्षमा ल्याएर बोलाउन खोज्दा पनि होस खुलेको छैन ।
सेनाले तातोपानी, बतासे, पलासे लगायतका विभिन्न स्थानबाट सानो हेलिकप्टरमा तातोपानीनजिकको नारायणस्थानमा ल्याएर घाइते तथा प्रभावितलाई जम्मा पारिरहेको छ । अनि त्यहाँबाट एमआई १७ मार्फत काठमाडौं ल्याइरहेको छ । सेनाले घाइते, बालबालिका र महिलालाई उद्धारमा प्राथमिकता दिएको छ । कतिपयका श्रीमानलाई उतै छाडिएको छ । त्यसैले बालबालिकाहरु सेनाको हेलिकोप्टरभित्र बाबा बाबा भन्दै रोइरहेका थिए । सक्षम पुरुषलाई पनि उद्धार गर्दा अन्य बालबालिका तथा घाइतेको बिचल्ली हुने भएकाले सेनाले प्राथमिकता निर्धारण गरेको हो ।
सेनाको एमआई १७ मा रेन्जर गणको डिजास्टर एसेसमेन्ट तथा रेस्पोन्स टिम (डार्ट) कर्णेल सुवास थापाको कमाण्डमा खटिएको छ । उनीहरु बिहीबार चौतारामा ओर्लेर सबैभन्दा बढी प्रभावित क्षेत्रको पहिचान र खोज तथा उद्धारको कार्ययोजना बनाउने छ । सेनाको टोलीले पलासेको भलाखर्कमा पालसहित '१६ सय किलो बराबरको खाद्यान्न सामाग्री पुर्याएको छ । त्यहाबाट २ घाइतेलाई उद्धारसमेत गरेको छ ।
भलाखर्ककी करिश्मा थापाका अनुसार त्यहाँका ४५ घरधुरी सबै ध्वस्त भएका छन् । ३ जनाको मृत्यु भएको छ भने करिव एक दर्जन घाइते भए । भर्खरै एसएलसी दिएर बसेकी थापाले भनिन्, 'पाँच दिन भयो, आजमात्रै हो सरकारी टोली आएको । यहा खान बस्नकै समस्या थियो । आज सेनाले यति समान ल्याइदियो अलि राहत होला ।