लमजुङ, बैशाख १९ । गत शनिबार गएको महाभूकम्पबाट मृत्यु हुनेको संख्या सात हजार नाघेको छ । गृहमन्त्रालयले हालसम्म भुकम्पमा परी सात हजार १ सय ६७ जनाको मृत्यु भएको जनाएको छ । भूकम्पमा परी १४ हजार भन्दा वढी घाइते छन् भने कैयौं व्यक्ति अझै वेपत्ता छन् ।
मृतक र घाइतेको संख्या बढ्ने क्रम जारी रहेको गृह मन्त्रालयले जनाएकोछ । भूकम्पबाट करीब डेढ लाख घर पूर्ण रुपमा र त्यत्ति नै संख्यामा आंशिक रुपमा क्षतिग्रस्त भएको नेपाल आपतकालिन उद्धार केन्द्रले जनाएको छ ।
हालसम्म सबैभन्दा बढी सिन्धुपाल्चोकमा २ हजार ५ सय, काठमाडौंमा १ हजार १ सय ५२, नुवाकोटमा ७ सय ५९, धादिङमा ६ सय ५१, गोरखामा ४ सय १०, रसुवामा ३ सय ६, काभ्रेमा २ सय ९३, भक्तपुरमा २ सय ६९, ललितपुरमा १ सय ७१, दोलखामा ६२, मकवानपुरमा ४०, सिन्धुलीमा ९ र अरु विभिन्न जिल्लामा गरी ११४ जनाको मृत्यु भएको छ ।
उता, युरोपियन युनियनले नेपालमा रहेका आफ्ना एक हजार नागरिक कहाँ छन् भन्ने अझै एकिन नभएको जनाएको छ । सगरमाथा र लाङटाङ क्षेत्रमा गएका उनीहरुको अवस्था अझै अज्ञात रहेको ईयूले जनाएको हो ।
यूरोपेली देशका १२ जनाको मृत्यु भएको पनि उसले पुष्टि गरेको छ । भूकम्पबाट सबैभन्दा बढी असर परेको राजधानीका तीन जिल्लासहित भूकम्पबाट प्रभावित सबै जिल्लामा उद्धार र राहत वितरण भइरहेको छ ।