वैशाख १८–भूकम्पको दौरान र पश्चात पनि निरन्तर मोवाइल सेवा प्रदान गर्दै आएको एनसेलले शुक्रवार विहान ९१ प्रतिशत मोवार्इल टावरमार्फत ग्राहकका नियमित तथा आकस्मिक संचार आवश्यकतालाई परिपूर्ति गरिरहको छ । कम्पनीले मोवाईल जेनरेटर प्रयोग गरेर बिहिवार थप ५ प्रतिशत साइटहरु संचालनमा ल्याएको थियो । शुक्रवार पनि थप टावर संचालनमा ल्याउन काम भर्इरहेको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले भने । ”विद्युत अपूर्ति नभएका ठाउँमा मोवाईल जेनरेटर प्रयोग गरेर थप टावर सुचारू गर्ने र अन्य स्थानमा पनि तत्काल सेवाका लागी मोवार्इल टावर संचालनमा ल्याउने काम भर्इरहेको छ । यसका लागि सम्बद्ध सबैलाई सहयोग प्रदान गर्न पनि अनुरोध गर्दछौं,” शर्माले भने । साथै एनसेलले आफ्ना ग्राहकको आकस्मिक संचार सुनिश्चित गर्न व्यालेन्स कम हुँदै गएका ग्राहकलाई शुक्वार पनि ब्यालेन्स र एसएमएस प्रदान गरेको छ । यस अन्तर्गत एनसेलले बिहिवार रु १० भन्दा कम ब्यालेन्स भएका ग्राहकलाई रु ३० ब्यालेन्स प्रदान गरेको छ । यो ब्यालेन्स ग्राहकले कुनै पनि नेटवर्कमा कल, एसएमएस गर्न अनि डेटा चलाउन प्रयोग गर्न सक्छन् । यससँगै कम्पनीले ५० भन्दा कम एसएमएस रहेका ग्राहकलाई शुक्रवार पनि निःशुल्क ५० एसएमएस गर्न सक्ने सुनिश्चित गरेको छ । एनसेलले ग्राहकलाई ब्यालेन्स नभए पनि स्काईप र भाईबरमा भ्वाइस र टेक्स्ट गर्न सकिने सुविधा पनि प्रदान गरिरहेको छ । “यस हृदयविदारक घडीमा यी आकस्मिक संचार सुविधाले हाम्रा समस्त ग्राहकलाई आफ्ना प्रियजनसँग सम्पर्कमा रहन र उद्धार तथा राहत कार्यमा सहज बनाउने विश्वास छ,” शर्माले भने । ग्राहक सेवालार्इ सुनिश्चित गर्ने क्रममा एनसेलले शुक्रवार ३१वटा एनसेल सेन्टर संचालन गरिरहेको छ । यी सेन्टरबाट ग्राहकले सिम कार्ड, रिचार्ज कार्ड लगायतका सेवा प्राप्त गर्न सक्छन् । साथै निरन्तर र लामो कल गर्दा नटवर्कमा चाप पर्ने हुँदा, एनसेलले सबै ग्राहकलाई अत्यावश्यक अवस्थामा वाहेक सामान्य अवस्थामा एसएमएस मार्फत सम्पर्क गरी उद्धार र राहतमा योगदान पुरयउन अनुरोध गर्दै आएको छ ।
-