भारतका वरिष्ठ पत्रकार शेखर गुप्ताले ट्विट गरे, नेपाललाई सहयोग गरौं, तर संवेदनशील भएर, उसलाई सम्मान गरेर । नेपाल गरिब होला, तर स्वाभीमानी छ र इतिहासदेखि नै सार्वभौम नै छ । नेपाल बिहारको विस्तारित भाग होइन ।’ शेखर गुप्ता गत जुनसम्म इन्डियन एक्सप्रेसका प्रधान सम्पादक थिए, रिटार्यड हुनुअघिसम्म उनी भारतीय मिडियाको इतिहासमा सबैभन्दा धेरै अर्थात वर्षको १० करोड भारु पारिश्रमिक लिएर काम गर्थे । उनै वरिष्ठ पत्रकारले आफ्नै अग्रज र अनुज पत्रकारहरुको प्रस्तुतीमा के खोट देखे, जसले गर्दा उनी लेख्न बाध्य भए, ‘सहायताकान नाममा सार्वभौमिकतालाई अपमान नगरौं ।’ किनकि शेखर गुप्ताको ट्विट अगाडि भारतीय च्यानल जी न्युज भन्दै थियो, ‘नेपालका भूकम्प पर भारतमा हमला ।’ नेपालमा भूकम्प आयो, जीवन तहसनहस पार्यो । यो विपत्मा हामीलाई भारतजस्ता असल छिमेकीको सद्भाव चाहिएको थियो, सहयोग चाहिएको थियो । सहयोग गर्ने भारतीय मन महान् हो, तर प्राकृतिक विपत्ति भूकम्पमाथि हमला गर्ने भारतीय दम्भ के हो ? गुजरातमा आएको भूकम्पमाथि हमला गर्न नसक्ने, केदारनाथमा आएको पहिरोलाई पराजित गर्न नसक्ने र जम्मु कास्मिरमा आएको बाढीलाई सामना गर्न नसक्ने भारतले नेपालको भूकम्पमाथि कसरी हमला गर्न सक्छ ? एउटा जी न्युज हावा होला, त्यति नै बेला भारतको नम्बर वान च्यानल आस्तक भन्दै थियो, ‘नेपालको अपने पैर पर खडा करके वापस होगा भारतके फौज ।’ भूकम्प आयो, विपत्ति आयो, तर के नेपाल अहिले आफ्नो खुट्टामा उभिएको छैन् ? के यस्को ठेक्का भारतले लिएको छ ? मोदीलाई आफ्नो मिडियाको यस्तो स्वभाव अवश्य थाहा छ । तर, उनले त्यति ज्याद्रो मिडियालाई नेपाल पठाए, जसले त्यहाँको घाउमा गुन लगाउने नाममा नुन छर्किएको छ । भारतीय मिडियाले अतिरञ्जित नगरेको भए भारतको वास्तविक सहयोग हाम्रो लागि अमूल्य छ । हामी साँच्चै विपत्तमा छौं, हामीलाई सहयोग चाहिएको छ, तर भारतीय मिडियाले भनेजस्तै नेपाललाई आफ्नो खुट्टामा उभिन लायक बनाएर मात्रै फर्कन कसम खाएको हो भने भारतीय टोली कत्रो छ ? आफ्ना नागरिकलाई फिर्ता लग्न हरेक घन्टा जहाज पठाएर मोदीले नेपाली जनतालाई के गुन लगाए ? तैपनि बसपार्क र एयरपोर्टमा नेपाल सरकार मुर्दावाद, मोदी सरकार जिन्दावादको नारा लाग्यो । नेपाल सरकारप्रति जनताको असन्तुष्टि होला, तर मोदी सरकारको जिन्दावाद भन्ने को थिए ?नेपालमा मोदीको जयकार भनेर भारतीय टेलिभिजनबाट किन प्रसारण भयो ? नेपाली जनताको उद्धारका नाममा ल्याइएको जहाज आएका भारतीय टेलिभिजन पत्रकारले पीडितको आवाज होइन्, मोदीको जयकार प्रसारण गर्नुको उद्देश्य के थियो ?
-